२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छिमेकीबीच जग्गाबारे विवाद हुँदा तरबार प्रहार, दुई घाइते

विराटनगर महानगरपालिका–१४ जतुवा (रेल्वे पूर्व) स्थित मकैबारीमा लुकेर बसेको समूहले गरेको तरबार प्रहारबाट दुई जना घाइते भएका छन्।

विराटनगर–१४ का ४० वर्षीय शन्तलाल यादव र ३७ वर्षीय प्रकाशकुमार यादवलाई सोही ठाउँका ४० वर्षीय खुलेश्वर यादवसहितको समूहले आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार खुलेश्वरसहित ५/७ जनाको समूहले शन्तलाल र प्रकाशलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै समूहबिच झडप हुँदा खुलेश्वरसमूहको हतियार प्रहारबाट शन्तलालको दुवै हातमा गहिरो चोट छ। उनको देब्रे हातको एउटा औँलाकाे आधा भाग काटिएको छ।

उनकाे विराटनगरको न्यूरो अस्पतालमा सुरुवातमा उपचार गरिएको थियो। औंलाको नशामा असर पुगेको कारणले उनको ‘भास्कुलर सर्जरी’ गरिनुपर्ने भएकोले थप उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको एसपी कार्कीले बताए।

अर्काका घाइते प्रकाशको पनि हातमा चोट लागेको र उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ। शन्तलाल र प्रकाशमाथि आक्रमण गर्ने भनिएको खुलेश्वर पनि घाइते भएका छन्।

उनको कोशी अस्पतालमा उपचार भइरहेको बताउँदै, एसपी कार्कीले भने, ‘दुई पक्ष झडप हुँदा दुई जनामाथि धारिलो हतियार प्रयोग भएको देखिन्छ। झडप हुँदा खुलेश्वर पनि घाइते भएका हुन्। चिकित्सकका अनुसार तीनै जना सामान्य अवस्था छ। घटनाको सुरुवाती अनुसन्धानबाट पुरानो जग्गा विवाद रहेको देखिन्छ। दुवै पक्ष छिमेकी–छिमेकी हुन्। उनीहरुको पहिलेदेखि नै जग्गा सम्बन्धी विवाद हुँदै इप्रका रानीमा छलफल भइरहेको थियो।’

घटनामा संलग्न अन्यको खोजी कार्य तीव्र पारिएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताउँदै, एसपी कार्कीले भने, ‘घटनामा जोसुकै भए पनि अनुसन्धानका क्रममा संलग्नता देखिए कानुन बमोजिम कारबाहीको दायरमा ल्याइने छ। जग्गाको विवाद देखिए पनि विभिन्न कोणबाट अनुसन्धान सुरु गरेका छौं।’

विराटनगर– १४ का पूर्व वडा अध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएका छन्। जग्गा विवादलाई लिएर आफूहरुलाई तरबार प्रहार गरेको उनीहरुले बताएका हुन्।

उनीहरुमाथि विराटनगर–१४ का जोगी भनिने योगी यादव, खुलेश्वर यादव, शंकर यादव, जयप्रकाश यादव, राजेश यादव, दीपेश यादव, विजो भन्ने विजय यादव, निलु यादव, रविन भन्ने शंकर यादव (बलदेवका छोरा) को समूहले आक्रमण गरेको पीडितले आरोप लगाएका छन्।

घाइतेमध्ये शन्तलालले पूर्व वडाअध्यक्ष बलदेवको घर छेउमा नयाँ घर बनाउँदै छन्। शन्तलालको पुरानो घर विराटनगर–१४ रेल्वेदेखि पूर्वमा छ। नयाँ (निर्माणाधीन) घर विराटनगर–१४ धरमबाँध रोडमा पर्छ। पुरानो घरबाट शन्तलाल र प्रकाश मोटरसाइकलमा चढेर बुधबार दिउँसो नयाँ घरतर्फ आउँदै थिए। घरदेखि करिब २ सय मिटर टाढा पुगेपछि बलदेवको मकैबारी हुँदै जाँदै गर्दा मकैबारीमा बसेका १० जनाको समूहले एक्कासि उनीहरुमाथि तरबारले आक्रमण गर्न थालेको बताइएको छ। 

तरबारले टाउकोमा प्रहार गर्दा हेलमेटमा लागेको र हेलमेटको केही भाग काटिएको बताउँदै, शन्तलालले भने, ‘त्यसपछि त्यो समूहले हामी दुवै माथि प्रहार गर्दा जोगिनाका लागि छेक्ने क्रममा हातमा चोट लागेको हो। जग्गा विवादलाई लिएर पूर्व वडाध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा हामीमाथि नियोजित रुपमा आक्रमण भएको हो। भागेर ज्यान जोगियो। मार्ने उद्देश्यले हमला गर्ने र निर्देशन दिने दुवैलाई कडा कारबाही प्रशासनले गर्नुपर्छ।’

बिहीबार नयाँ घरको पिलर ढलाइ रहेको र त्यहीँ हेर्न जाने क्रममा दुई जनामाथि साङ्घातिक आक्रमण भएको शन्तलालका आफन्तले बताए।

प्रकाशित: २८ चैत्र २०८० २१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App