३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

हत्या आरोपी माओवादी पूर्वकमाण्डर खाम चितवन अदालतमा हाजिर

व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम जिल्ला अदालत चितवनमा हाजिर भएका छन्।

मंगलबार पक्राउ परेका खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज अदालतमा हाजिर गराएको हो। अदालतले अदालती प्रक्रियाका लागि खामलाई बिहीबार बिहान १० बजे बोलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए।

‘हामीले आज खामलाई अदालतमा उपस्थिति गराएका थियौँ। आज न्यायाधीश हेर्न भ्याउनुभएन’, उनले भने, ‘भोली बिहान हाजिर गराउन निर्देशन छ।’

श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

रमिलाका अनुसार त्यसको १० दिनपछि बटालाले उनलाई श्रीमानसँग एकपटक फोन सम्पर्क गराएका थिए। श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशूली नदीमा भेटिएको थियो।

त्यसपछि उनको परिवारले खाम सहित तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए।

प्रहरीले अनुसन्धान सकेर उनको मुद्दा सर्वोच्चमा पुगेको थियो। सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए। खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको उनले बताए। ‘चितवन प्रहरीको अनुसन्धानको पाठ सकिएको छ,’ रिमाले भने ‘अब थुनछेक बहस हुन्छ कि सिधै फैसला हुन्छ त्यो काम अदालतले गर्दछ।’

ब्रिगेडियर कमान्डर बटालले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसेका छन्। सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो। खामलाई हिजो प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो।

प्रकाशित: २१ चैत्र २०८० १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App