१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘लायकु प्रवेशद्वार’को आधुनिक निर्माण रोक्न पुरातत्त्वको चौथो निर्देशन

पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न चौथो पटक लिखित निर्देशन दिएको छ।

सोमबार परिपत्र गरी विभागले आधुनिक सामग्री प्रयोग गरी भएको निर्माण कार्य प्राचीन स्मारक संरक्षण ऐन विपरीत भएको ठहर गरेको छ। विभागले पुरातत्त्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा तीन पटक विभागका कर्मचारी खटाएर प्रतिवेदन तयार पारेर परिपत्र गरेको हो।

जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलान्चोकलाई पत्र लेखेर विभागले यस्तो निर्देशन दिएको हो।

‘प्राचीन स्मारक संरक्षण ऐन–२०१३ र नियमावली २०४६ को मर्म र भावना विपरीत भएकोले उक्त कार्य तत्काल रोक्का गरी पुरातात्त्विक सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन भनी मिति २०८०/१२/१२ को विभागीय निर्णयअनुसार पठाइएकोमा हालसम्म उक्त कार्य रोक्का नभएकोले निर्माण कार्य तत्कालै रोक्का गरी सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।

पत्रको बोधार्थ र कार्यार्थ जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलान्चोक र बनेपा नगरपालिकालाई पठाउँदै सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोगका लागि निर्देशन दिइएको छ।

पटक–पटक निर्देशन दिँदासमेत लायकु प्रवेशद्वारको प्राचीनता मासेर भएको आधुनिक निर्माणले भने काभ्रेपलान्चोकमा कानुनी राज्य समाप्त भएकै हो त भन्नै भान भइरहेको सम्पदा संरक्षणमा जुटेका अभियन्ताको चिन्ता छ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी मुख्य पुरातत्त्व अधिकृत रहने कानुनी व्यवस्था छ। तर काभ्रेपलान्चोक जिल्लाको प्रमुख जिल्ला  अधिकारीले  कानुन कार्यान्वयन गर्न असफल भएको पुरातत्त्व विभागको पटक–पटकको पत्राचार बाट पनि पुष्टि हुन्छ। 

प्रकाशित: १५ चैत्र २०८० १८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App