६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बुढेसकालको जीवनशैली

मानिस जन्मन्छ, बाल्य तथा किशोरावस्था पार गर्दै युवा हुन्छ, वृद्ध हुन्छ अनि मर्छ। यो प्रकृतिको नियम हो। केही अपवादलाई छोड्ने हो भने यसरी नै मानिसको जीवनचक्र चल्छ। मानिसको जीवनमा बाल्यकाल, युवाकाल तथा बुढेसकालको आआफ्नै विशेषता र महत्व छ।  

साधारणतया बाल्यकाल भनेको शारीरिक तथा मानसिक शक्ति बढ्दै जाने अवस्था हो। युवाकाल शारीरिक तथा मानसिक विकासको दृष्टिले चरमावस्था हो भने वृद्धकाल शारीरिक तथा मानसिक शक्ति घट्दै जाने अवस्था हो। बुढेसकाल लागेपछि मानिसको शारीरिक सामथ्र्य घट्छ। मानसिक शक्ति पनि घट्छ।

वृद्धवृद्धाले युवाकालमा जस्तो शारीरिक तथा मानसिक कार्य गर्न सक्दैनन्। तर, मानिसले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिई आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाललाई पनि स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ। यो हावा कुरा होइन, वैज्ञानिक तथ्य हो।  

नेपालको परिप्रेक्ष्यमा अधिकांश हुनेखाने परिवार तथा अवकाश प्राप्त जेष्ठ नागरिकले आवश्यक शारीरिक श्रम गरेको पनि पाइँदैन। प्रायः यस्ता जेष्ठ नागरिक निठल्ल बस्ने गर्छन्। जीवनमा धेरै मेहनत गरियो, अब आरामका साथ जीवन काट्ने हो भन्ने भावना राख्ने गर्छन्।

यस्ता जेष्ठ नागरिकको यो सोच बिलकुल ठिक होइन। बिनाकाम मानिसले जीवन काट्न थाल्यो भने मानिस छिटै रोगी हुन्छ, छिटै मर्छ। उखान नै छ, खाली मस्तिष्क, सैतानको घर। त्यसैले मानिसले आफ्नो जीवनभरि नै कुनै न कुनै काम गर्दै रहनुपर्छ। अन्तिम साससम्म क्रियाशील रहनुपर्छ। हो, उमेर छिप्पिँदै जाँदा मानिसले युवाकालमा जस्तो शारीरिक कार्यहरू त गर्न सक्दैनन् तर बुढेसकालमा पनि मानिसले गर्न सक्ने खालका थुप्रै कार्य हुन्छन्।  

बुढेसकालमा हुनेखाने मानिसका लागि उपयुक्त काम भनेको समाजसेवा हो। यसको मतलब बुढेसकालमा मात्र समाजसेवा गर्नु भनेको होइन, मानिस एक सामाजिक प्राणी भएकाले सानैदेखि नै सामाजिक रूपमा सक्रिय रहनुपर्छ। मानिसले सामाजिक कार्यहरू गरेर एकातिर समाजको उत्थानमा टेवा पुर्‍याउन सक्छ भने अर्कातिर आफ्नो स्वास्थ्य ठिक राख्न सक्छ।

आफ्नो स्वास्थ्यको ख्याल राख्दै बुढेसकालमा पनि सक्रिय सामाजिक जीवन जिउनेहरू नै धेरै बाँच्छन्, स्वस्थ र सुखी जीवन जिउँछन्। स्वस्थ मस्तिष्क जीवनको आधार हो। त्यसैले स्वस्थ जीवन जिउन मस्तिष्कलाई स्वस्थ, दीर्घायु र सुरक्षित राख्न आवश्यक हुन्छ।

यदि मानिसले यहाँ उल्लिखित जीवनशैलीसँग सम्बन्धित केही कुरालाई अम्मलमा ल्याएको खण्डमा मस्तिष्क मात्र होइन, मानिसको जीवन नै बुढेसकालसम्म स्वस्थ र सुखमय हुन्छ। बुढेसकालमा पनि मानिस हट्टाकट्टा र जवान देखिन्छ।  

रक्तचाप सामान्य राख्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, होमोसिस्टिन सामान्य राख्ने। यदि होमोसिस्टिनको मात्रा बढ्यो भने पनि हृदयाघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ। शिरलाई चोटपटकबाट बचाउने, आँखा तथा कानलाई ठिक राख्ने, आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने, व्यायाम गर्ने, सधैं सन्तुलित आहार लिने, लेखपढ गर्ने, मस्तिष्कलाई प्रयोगमा ल्याउने, सामाजिक रूपमा सक्रिय रहने, तनाव तथा डिप्रेसन आदिबाट बच्ने अर्थात् स्वस्थ जीवनशैली अपनाउने।

मानिसको जीवनमा स्वस्थ र सकारात्मक जीवनशैलीको ठुलो महत्च छ। त्यसैले स्वस्थ र दीर्घायु मस्तिष्कका लागि शारीरिक क्रियाकलाप, पौष्टिक आहार, सक्रिय सामाजिक सहभागिता, मानसिक अभ्यास तथा आध्यात्मिकताको महत्वपूर्ण भूमिका रहन्छ। स्वस्थ मस्तिष्कका लागि शारीरिक व्यायामका साथै कग्निटिभ व्यायाम पनि आवश्यक हुन्छ।

मेमोरी टेक्निक पनि एक प्रकारको कग्निटिभ व्यायाम हो। त्यसैले हरेक मानिसले मेमोरी टेक्निक सिकेर दैनिक कार्यमा लगाउने हो भने एकातिर मस्तिष्क व्यायाम पनि हुन्छ भने अर्कोतिर मेमोरी पनि बढ्छ। मेमोरी पुनस्र्थापनामा समेत मेमोरी टेक्निकको ठुलो भूमिका हुने गर्छ।

हरेक दिन आफूले गर्न सक्ने कुनै न कुनै शारीरिक कार्य गर्नु, दैनिक चारपाँच किलोमिटर हिँड्नु, लेखपढ गर्नु, ध्यान–प्राणायाम गर्नु, गहिरो निद्रा सुत्नु, सन्तुलित पौष्टिक आहार सेवन गर्नु तथा सामाजिक कार्यमा लाग्नु मस्तिष्क स्वस्थ र दीर्घायु राख्ने सरल उपाय हुन्।  

ओमेगा थ्री फ्याट्टी एसिड मस्तिष्क तथा मुटुका लागि निकै उपयोगी हुन्छ। त्यसैले हरेक हप्ता कम्तीमा पनि दुईपटक माछा, खासगरी म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन सेवन गर्नु उपयुक्त हुन्छ। त्यसो त बदाम (आलमन्ड), जैतुनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ।

त्यसैले शाकाहारीले यस्ता पदार्थ सेवन गर्नुपर्छ। यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुका लागि उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कका लागि पनि उपयुक्त हुन्छ। यसरी दैनिक रूपमा आफूले गर्न सक्ने कामहरू गर्ने, शारीरिक तथा मानसिक व्यायामहरू गर्ने तथा मस्तिष्कमैत्रेय सन्तुलित भोजन सेवन गर्ने हो भने बढेसकालसम्म पनि स्मरणशक्ति कायम रहन्छ। मूल कुरो अल्जाइमर आदि भयानक डिमेन्सिया रोगले आक्रमण गर्न सक्दैन।  

डिमेन्सिया बुढेसकालमा देखिने एक कष्टकर समस्या हो। निको नहुने यो रोगले वृद्धवृद्धालाई जिउँदो लास जस्तो बनाइदिन्छ। अहिले विश्वमा ५ करोड ५० लाख मानिस डिमेन्सियाबाट पीडित छन् र हरेक वर्ष तीव्र गतिमा बढ्दै गएको छ। यसरी नै यो समस्या बढेको खण्डमा सन् २०५० सालसम्म डिमेन्सियाबाट पीडित हुनेको संख्या १५ करोड ३० लाख पुग्ने इस्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभाल्युएसनले जनाएको छ।

डिमेन्सिया रोग लागेपछि सम्झने, साथीसँगी तथा आफन्तलाई चिन्ने, उनीहरूको नाम सम्झने, सरसफाइ, नुहाइधुवाइ तथा दिसा–पिसाब गर्ने जस्ता पहिले गर्दै आएका दैनिक कामहरू गर्ने शक्ति ह्रास हुँदै जान्छ। यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर बढ्दै गयो, डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ।

प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९०–९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ। यहाँ उल्लेखनीय कुरा के भने मस्तिष्कसम्बन्धी कुनै समस्या भएको खण्डमा वा टाउकाको चोटपटक लागेको खण्डमा नै बुढेसकालमा डिमेन्सियाको जोखिम बढ्ने हो।

यदि मस्तिष्क स्वस्थ छ भने सय वर्षसम्म पनि मानिस सक्रिय जीवन जिउन सक्छ। त्यसैले यस रोगप्रति जेष्ठ नागरिकहरू समयमै सजग हुनुपर्छ। यदि बुढेसकालतिर उन्मुख मानिसहरूले उपर्युक्त कुराहरू अम्मलमा ल्याउने हो भने र राज्यले जेष्ठ नागरिकको पालनपोषण तथा सामाजिक सुरक्षामा विशेष ध्यान दिई हातमुख जोड्नका लागि जेष्ठ नागरिकले कडा शारीरिक श्रम गर्नु नपर्ने स्थिति सिर्जना गर्ने हो भने निश्चित रूपमा जेष्ठ नागरिकहरूको बुढ्यौली जीवन सुन्दर र सुखमय हुन्छ।

प्रकाशित: १३ माघ २०८० ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App