६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सजाय काटेर कारागारबाट निस्किँदा ‘फूलमाला’

बाल यौन दुराचारको अभियोगमा मुद्दा खेपिरहेका कलाकार पूर्णविक्रम (पल) शाह आइतबार सफाइ पाएर सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन्। पूर्वीनवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो।

ठिक एक वर्षअघि अर्थात् २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी सोमबार फागुन १५ गते नै रिहा भए। न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरकुमारीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागारभित्रै गएका थिए। उनीहरूले खादा र माला लगाएर पलको स्वागत गरे। पलको रिहाइका लागि बहिनी रोशनीले कागजमा हस्ताक्षर गरेकी थिइन्। सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बधाई र स्वागतको सम्मानसहित खुसी पस्किन दमौलीमा बिहानैदेखि उनका समर्थनहरू पुगेका थिए।

कपाल छोटो बनाएको र कालो ज्याकेटमा कारागार बाहिर निस्कँदा फ्यानले पल शाह। पल शाह भन्दै एकै स्वरमा चिच्याएका थिए। तनहुँको कारागारबाहिर पलका हजारौ समर्थनहरू स्वागत तथा अभिनन्दनका लागि सर्वसाधारणको भिडभाड थियो। उनलाई स्वागत गर्न संगीतकार योगेशकाजीसहित केही फिल्मकर्मी कारागार पुगेका थिए। पलको पक्षमा नाराबाजी समेत गरेका थिए। पलको पक्षमा समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको पनि देखिन्थ्यो।

बच्चा देखि बुढा सम्मको शाहका फ्यानहरू उनलाई हाइहाइ पल शाह गरेर नाराले उग्र रूप लिएको थियो। कतिले खुसीका आँसु बगाउँदै हातभरि फूलका माला रातो अबिर बोकेका शाहका फ्यानहरू राजालाई स्वागत गरेझै शाहको छेउमा पुग्न तछाडमछाड हुँदै थियो। उनलाई समर्थकहरूले अनुहारभरि रातो अबिरले पोतेर, दुबोको मालासहित अन्य फूलमालाले भब्य स्वागत गरिएको थियो। शाह हँसिलो अनुहारमा नमस्कार र हाई गर्दै आफ्नो फ्यानहरूको बीचमा रम्दै थिए। स्वागत गर्न गएका शाहका प्रत्येक फ्यानहरूका हातमा सेल्फी खिच्नको लागि मोबाइलको क्यामेरा अन गरेर शाहसँग फोटो खिच्नेको घुइँचो उस्तै थिए। पल सोमबार पोखरा पुगेर जहाज हुँदै काठमाडौं आएका छन्।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको थियो। तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन्। जिल्ला अदालत नवलपुरले उनीमाथि नाबालिग बलात्कार आरोपको फैसलासँग थुनामा राख्न फैसला सुनाएको थियो। शाहले सो फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटका आधारमा उच्च अदालतले फैसला उल्टाउँदै सफाइ दिने निर्णय गरेको हो। यसरी विभिन्न अभियोगमा सजाय काटी रिहाइ हुँदा फूलमालासहितको स्वागत पाउनेमा शाह मात्र नभएर पूर्वमन्त्रीहरू जयप्रकाश (जेपी) गुप्ता, गोविन्दराज जोशी, विजय कुमार गच्छदार तथा दीपक मनाङ्गेलगायत पनि छन्। यी सबै व्यक्तिहरूले कुनै राम्रो काम गरेर कारागार गरेका थिएनन्। तर छुट्दा भने ठूलो काम गरी जितेर आएको जस्तै रातो अबिर, फूलमालासहित दोसल्लाको स्वागत देख्न सकिन्थ्यो।

भ्रष्टाचारको मुद्दामा १३ महिना जेल जीवन बिताएका पूर्वमन्त्री गुप्ता डिल्लीबजार कारागार परिसरबाट रिहा हँुदा उनलाई पनि फूलमालासहित स्वागत सम्मान गरिएको थियो। त्यस्तै बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार कारागारबाट रिहा हुदा उनी पनि फूलमालामा नै सजिएका थिए। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको थियो।

डिस्को खोलेर रात्रीकालिन मनोरञ्जक व्यापारमा प्रवेश गरेका दिपक मनाङ्गे ठमेललाई आधार बनाएरपछि संगठित आपराधिक समूहका नाइके पनि थिए। मनाङ्गे पनि गुन्डागार्दी तथा सम्पती सुद्धिकरणमा जेल परेका थिए। उनलाई पनि जेलमुक्त हुदाँ फूलमालाले स्वागत गरिइएको थियो।

कांग्रेसका तत्कालीन नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा जेल जीवन बिताएपश्चात पनि भव्यताका साथ स्वागत गरिएको थियो। यसरी कानुनविपरीत अपराध गरेर अदालतमार्फत जेल जीवन बिताएपश्चात रिहा हुँदा सम्मान स्वरूप स्वागत गर्ने प्रचलन भित्रिएको महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन्।  

प्रकाशित: १६ फाल्गुन २०७९ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App