७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद्को बर्खे अधिवेशन आजबाट

संघीय संसद्को बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो दुई बजेदेखि सुरु हुने अधिवेशनको पहिलो दिन दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्नेछन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नता रहेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ। संसदीय समिति गठन नभएसम्म उनलाई सदनमा बोल्न नदिने नीति कांग्रेसले लिइरहेको छ। यद्यपि, कांग्रेसले आज बिहान बोलाएको संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ। सभामुख देवराज घिमिरेले आज अपराह्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीलाई अन्तिम रूप दिइने छ।

सभामुखको निर्देशनपछि संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा भने अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने विषय राखिएको छ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने विषय संभावित कार्यसूचीमा राखिएको छ। प्रत्येक अधिवेशनमा सभामुख नहुँदा सभाको अध्यक्षता गर्न दश जनाको नाम मनोनयन गर्नुपर्ने व्यवस्था छ।

यसैगरी, सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते ल्याइने भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले आगामी २०८१/०८२ को नीति तथा कार्यक्रम जेठको १ गते ल्याउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सो दिन दिनको तीनबजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेगरी निर्णय गरिएको छ। सरकारको नीति कार्यक्रम माथि पाँच दिन छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। जेठ ८ गते प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिने संभावित कार्यक्रम रहेको संसद सचिवालय स्रोतले जनायो।

हिउँदे अधिवेशनमा प्रि–बजेट छलफल भइसकेकाले यस अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, आर्थिक सर्वेक्षण पेस गर्ने र जेठ १५ गते सरकारले अर्थमन्त्रीले वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App