कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको विराटनगरस्थित महेन्द्र चोकमा बिहीबार साँझ पुत्ला दहन गरिएको छ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिले प्रदेश प्रमुख खापुङको पुत्ला दहन गरेको हो। प्रदेश प्रमुख खापुङले असंवैधानिक कदम चालेर नयाँ सरकार गठन गरेको आरोपमा पुत्ला दहन गरिएको हो।
संविधानको गलत बाटो हुँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गराएको विरोधमा पुत्ला दहन गरेको विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले बताए।
प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनुलाई गलत अभ्यास भएको बताउँदै, सभापति चापागाईंले भने, ‘हाल देखिएको परिस्थितिबारे प्रदेश प्रमुखले राजनीतिक राय सल्लाह नलिई चालेको कदमप्रति गम्भीर आपत्ति छ। अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्धमा पुत्ला दहन गरेका हौं। लोकतन्त्रको पवित्र भूमि विराटनगरमा प्रदेश प्रमुखले चालेको कदमप्रति हाम्रो पूर्ण असन्तुष्टि छ। संविधानको मूल मर्म अनुसार प्रदेश र केन्द्र चल्नु पर्छ। तर, संविधान र संघीयताविरुद्ध केही षडयन्त्र भए कांग्रेसले प्रतिवाद गर्दै आन्दोलन गर्ने छ। प्रदेश प्रमुखले गलत अभ्यास अघि बढाउनु भयो।’
प्रकाशित: २७ वैशाख २०८१ २१:३१ बिहीबार