७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीमा किचलो, दबाबमा प्रदेश प्रमुख

कोशी प्रदेशको राजनीतिक किचलोका कारण यो बेला प्रदेश प्रमुख दबाबमा परेका छन्। नयाँ सरकार गठनका लागि प्रतिपक्षी दलहरूले दबाब दिइरहेका छन् भने सत्तारुढ दल भने कायम सरकारले नै निरन्तरता पाउनु पर्ने अडानमा देखिन्छ।

मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशनसहित नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरेका थिए।

मुख्यमन्त्रीले विश्वासको मत नलिए प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन संकल्प प्रस्तावमा बाटो खोलिएको थियो। उक्त प्रस्ताव अनुसारको ३० दिनको म्याद मंगलबार राति १२ बजे सकिएको छ। तर, यो बीचमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन गरी कुनै प्रक्रिया र छलफल अघि नबढाएपछि एमाले र माओवादीका नेताहरु सशंकित बनेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छैनन्। बुधबार बिहान पनि प्रतिपक्षी दलहरू नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

त्यहाँ नेताहरूले प्रदेश प्रमुख खापुङलाई भेटेर प्रदेश सभामा पारित भएको प्रस्ताव अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए।

कोशी प्रदेशको गत चैत २६ गतेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गते प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनः जेठ ११ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई पत्र पठाउने निर्णय गरेको छ। सोही निर्णय अनुसारको पत्र प्रदेश प्रमुख खापुङलाई पठाइएको छ।

नयाँ सरकार गठन संविधान विपरीत हुने जिकिरसहित मुख्यमन्त्री कार्कीले यसअघि नै प्रदेश प्रमुख खापुङलाई भेटेर पत्र पठाइसकेका छन्।

सरकार पक्ष नयाँ सरकार गठन नगर्न दबाब दिइरहेको छ भने प्रतिपक्ष दलहरू नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन्। तर, नयाँ सरकार गठनको आह्वान गर्ने, कि नगर्ने भन्ने विषयमा प्रदेश प्रमुख खापुङ परामर्शमा रहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ। 

प्रकाशित: २६ वैशाख २०८१ १७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App