७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिप्रति नागरिक अगुवाको आपत्ति

तत्काल पदबाट हटाउन माग

सयको नोटमा देशको नयाँ नक्सा राख्ने सरकारको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति नागरिक अगुवाले आपत्ति जनाएका छन्।  

वैशाख २३ गते एउटा अनलाईनबाट आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व गभर्नरसमेत रहेका नेपाल (Chiranjibi Nepal) ले सरकारको निर्णय उचित समयमा नआएको टिप्पणी गरेका थिए। उनले भनेका थिए, 'भारतसँग सीमा विवाद कायम रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो।'  

पूर्वगर्भनरसमेत रहेका नेपालले राष्ट्र बैंकमा नयाँ नक्सा राख्ने निर्णयलाई लहडको संज्ञा समेत दिएका थिए।  

राष्ट्रपति संस्थाको गरिमामाथि आँच आउने गरी सल्लाहकारबाटै आएको यसप्रकारको अभिव्यक्तिप्रति नागरिक अगुवाहरु निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कमनकमणि दीक्षितले आपत्ति जनाएका हुन्। मुलुकको हित र स्वाभिमानविरुद्ध, पदीय मर्यादा विपरीत सरकारको निर्णयमाथि प्रतिक्रिया दिन खेदजन्य भएको उनीहरुको टिप्पणी छ।  

उनीहरुले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, 'सीमा नाघेका यस्ता अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पदको गरिमामा चोट पुर्याएको छ । राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई अन्तर्राष्ट्रिय मान्यता विपरीत र अविवेकी भन्ने सल्लाहकार नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट भएको भनी हामी बुझ्न बाध्य छौं।'  

उनीहरुले राष्ट्रपति संस्थाको गरिमा बचाउँदै सल्लाहरका नेपाललाई तत्काल पदबाट हटाउनसमेत माग गरेका छन्।  

गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति भारतका विदेशमन्त्री एस जयशंकरले पनि आपत्ति जनाएका थिए । 

विज्ञप्तिबारे नेपाल रिपब्लिक मिडियालाई प्रतिक्रिया दिँदै सल्लाहकार नेपालले आफुले बोलेका कुरालाई तोडमतोड गरिएको दाबी गरे । नोटमा देशको नयाँ नक्सा राख्ने निर्णयले अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकाले कुटनीतिकतवरबाट समस्याको समाधान खोज्नु पर्नेमा आफूले जोड दिएको उनले बताए । नागरिक अगुवाले निकालेको विज्ञप्तिबारे कुनै प्रतिक्रिया आवश्यक नभएको बताउँदै उनले राष्ट्रपतिमाथिको ठाडो प्रहारका रुपमा आफूले बुझेको उल्लेख गरे । 

प्रकाशित: २६ वैशाख २०८१ १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App