६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सबै सहकारी पीडितको न्यायका लागि छानबिन समिति बनाऔं, गृहमन्त्री मात्रै लक्षित होइन’

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्।

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको जनाउँदै गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको जिकिर गरे।

उनले भने ‘कांग्रेसले राखेका विषयवस्तुहरु किन न्यायोचित छैन भने उहाँहरू अमुक व्यक्ति विशेष गरी गृहमन्त्री लक्षित गरी मात्रै समितिको कुरा राख्नुभएको छ, त्यो कुरा सम्भव छैन, समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत काम गर्ने कुरा अस्वीकार्य छैन।’

प्रमुख सचेतक बर्तौलाले आगामी संसद्को बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि जानकारी दिए।

उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसद्मा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए।

‘पहिला कसैबारेमा प्रश्न उठेको भए निजले आफ्ना कुरा राख्न पाउनुपर्छ, नेपाली कांग्रेसलाई सुन्न मन छैन होला तर नेकपा एमालेलाई सत्य के हो सुन्न मन छ।’

प्रकाशित: २५ वैशाख २०८१ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App