७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कार्यकर्ताको कम खटाई र चुनावी खर्च वृद्धिले समाज परिवर्तनको यात्रा कमजोर भयो: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेता कार्यकर्ताको कम खटाई र चुनावी खर्च वृद्धिले राजनीतिक र सामाजिक परिवर्तनको यात्रा क्रमशः कमजोर हुँदै गएको बताएका छन्।

जनताले दिएको अभिमत पूरा गर्न नसक्दा नेता र जनता टाढा हुने भएकोले नेताले जनताको अभिमतको उचित सम्बोधन गर्न सक्नुपर्ने समेत उनले बताए।

एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै पोखरेलले भने ‘संगठन निर्माण र निर्वाचनका बेला जति खट्नुपर्ने हो,त्यो नभएर पनि समाज परिवर्तनको यात्रा कमजोर भएको हो।’ 

राजनीतिक परिवर्तनलाई पूर्ण ठान्ने र त्यसपछिका अभिभारालाई कम आँक्ने पद्धतिले समाजवादको यात्रा थप कमजोर हुने उनको भनाई थियो। बिचार, संगठन र पार्टीको शक्तिबाट समाजलाई बदल्न कार्यकर्ताको समर्पण प्रथम पक्ष हुने भएकोले यो सच्चाइलाई आत्मसाथ गर्न समेत उनले आग्रह गरेका छन्। अहिले देशको अभिभारा भनेको समाजलाई शान्तिपूर्ण राजनीतिक परिवर्तनबाट बदल्नु रहेको भन्दै पोखरेलले राज्यको नेतृत्व कुन वर्गले गर्ने विषय हल नभए सम्म त्यो पूरा नहुने बताए।

विभिन्न समयमा भएका क्रान्तिबाट पनि समाजवादको यात्रा पूरा नभएकोले अधुरो क्रान्तिको सपना पूरा गर्न एमालेले मिसन ८४ को कुरा अघि सारेको पोखरेलको भनाई थियो। उनले राज्यसत्ताको नेतृत्वमा पार्टी र पार्टीका माध्यमबाट समाज परिवर्तनको यात्रा पूरा गर्न देशभर एमालेको नेतृत्वमा सरकार निर्माणको आवश्यकता औँल्याए। 

प्रकाशित: २४ वैशाख २०८१ १८:१० सोमबार

#Shankar Pokhrel