६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कोइरालासँगको भेटमा ओली: ‘गठबन्धनमा एमाले अडिग, कोसीमा नयाँ मुख्यमन्त्री’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई अहिलेको गठबन्धनभन्दा बाहिर केही नसोचेको बताएका छन्।

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेता कोइरालाले कोसी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार यथावत् राख्न गरेको आग्रह अस्वीकार गर्दै नयाँ परिस्थितिमा गठबन्धन बनेकाले अहिलेको त्यसभन्दा बाहिर जान नसकिने बताएका थिए।

‘अहिले हामी नयाँ गठबन्धनमा छौं। यही गठबन्धनलाई निरन्तरता दिने हो। अर्को नयाँ कुरा सोचिएको छैन। समयक्रममा भेटौंला। कोसीमा मुख्यमन्त्रीले बाटो क्लियर गर्दा नै राम्रो होला। अहिलेलाई एमाले यही गठबन्धन टिकाएरै लैजाने सोचमा छ। यो हाम्रो मिसन पनि हो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

फागुन २१ मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) मिलेर नयाँ गठबन्धन बनेको थियो। नेपाली कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले, माओवादी केन्द्रलगायतको नयाँ गठबन्धन बनाएका थिए।

उक्त गठबन्धनमा प्रधानमन्त्रीमा दाहाल नै कायम रही सहभागी दलहरूबाट प्रतिनिधित्व हुने गरी मन्त्रीमण्डल गठन भएको थियो। संघीय सरकारमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारमा पनि फेरबदल आएको थियो। अन्य ६ वटा प्रदेशमा कांग्रेसबाहेकको सरकार बनिसकेको छ। कोसीमा मात्रै कांग्रेसका तर्फबाट कोइरालानिकट मानिएका विद्रोही सांसद केदार कार्की मुख्यमन्त्री छन्। उनै कार्कीलाई समर्थन खोज्दै कोइराला बुधबार एमाले अध्यक्षलाई भेट्न बालकोट पुगेका हुन्।

‘लामो समयदेखि भेटघाटको समय माग्नुभएको थियो। उपनिर्वाचनलगायतको व्यस्तताले समय मिलाउन सकिएको थिएन। बुधबार भेटघाट भयो,’ ओलीका सञ्चार संयोजक रामशरण बजागाईंले भने।

कोइरालाले विगतमा कोसी सरकार एमालेकै कारणले बनेको बताउँदै त्यसलाई स्थायित्व दिन आग्रह गरेका थिए। तर ओलीले त्यसबेला एमालेसँगको सहकार्य तोडाउन तत्कालीन समयमा कांग्रेस नै लागेकाले एमाले कोसी सरकारबाट बाहिर बसेको स्मरण पनि गराएको स्रोतको दाबी छ।

ओली र कोइरालाबीच करिब डेढ घण्टा कुराकानी भएको थियो। संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकार दलको नभई सांसदको नेतृत्वमा भएकाले यसलाई निरन्तरता दिन कोइरालाको आग्रह थियो।

तर ओलीले यसलाई अस्वीकार गरेका थिए। संविधानको धारामा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने व्यवस्था नभएको भन्दै मुख्यमन्त्री कार्कीले राजीनामा नदिने बताउँदै आएका छन्।

उता एमालेले भने नयाँ सरकार गठन गर्न सकिने दाबी गर्दै आएको छ। संविधानको व्यवस्थाभन्दा पनि सर्वोच्च अदालतको व्याख्याका आधारमा कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न सकिने एमालेको जिकिर छ।

सर्वोच्च अदालतले सरकार गठन हुने विकल्प रहेसम्म संसद् विघटन गर्न पाइँदैन भन्ने व्याख्या गरेका कारण कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै नयाँ सरकार गठन गर्न सकिने जनाउँदै आएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओली–कोइराला भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने बताए। उनले बाहिर हल्ला भएजस्तो अर्को गठबन्धन बनाउने गरी कुनै छलफल नभएको बताए। ‘नेताहरूबीच भेटघाट हुनु सामान्य हो तर बाहिर हल्ला गरिएजस्तो कांग्रेससँग सहकार्य गर्ने भन्ने होइन। अहिलेकै गठबन्धनलाई टिकाउने एमालेको निर्णय छ। यो हुबहु कार्यान्वयन हुन्छ, भइरहेको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने।

एमाले अध्यक्ष ओलीलाई कांग्रेस नेता शेखर कोइरालाले भेटेर फर्केको केही बेरमा गृहमन्त्री एवं रास्वपा अध्यक्ष रवि लामिछाने पनि बालकोट पुगेका थिए। उनले पनि मुलुकको राजनीतिक परिस्थितिबारे छलफल भएको बताए। उनीहरूसँग भेटघाटपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग बिहीबार लामो छलफल गरेका थिए।

 प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा कुराकानी भएको थियो। इलाम र बझाङको उपनिर्वाचनका परिणामबारे पनि उनीहरूले समीक्षा गरेको स्रोतको दाबी छ।

 भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद् र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे बाहिरिएका थिए। उनीहरूको भेटघाटपछि बसेको मन्त्रिपरिषद बैठकले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

प्रकाशित: २१ वैशाख २०८१ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App