४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बेचैनीमै बिते सरकारका ६० दिन

‘अहिले हामी यो गठबन्धनमा छौं। अलि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन।’ यो भनाइ सत्तारूढ नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालको हो। चितवनको १०औं अधिवेशनको उद्घाटनका क्रममा नेपालद्वारा व्यक्त यो अभिव्यक्तिले सत्ता साझेदार दलभित्रको असन्तुष्टि मात्र देखाउँदैन, अहिलेको सत्ता गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको संकेत पनि गर्छ।

दुई महिनाअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो गठबन्धन छाडेर नयाँ समीकरण बनाएका हुन्। २०७९ सालमा भएको निर्वाचनपछि पुस १० गते प्रधानमन्त्री बनेका दाहालले यसबीचमा बनाएको यो समीकरण तेस्रो हो।

नेपाली कांग्रेससहित निर्वाचनका बेला बनेको गठबन्धनसँग मुलुकको आर्थिक विकास र समृद्धिको काम सोचेअनुसार गर्न नपाएको भन्दै दाहालले काँधे फेरेका थिए। तर नयाँ समीकरणपछिका दुई महिना उनको समय विकास, सुशासनसहितका काममा होइन, गठबन्धन जोगाउनमै व्यतीत भएको छ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप विपक्षी दलले लगाइरहँदा प्रधानमन्त्री दाहाल त्यसको बचाउमा लागिपरेका छन्।

विपक्षीले हाल उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारी प्रकरणलाई लिएर छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रधानमन्त्री दाहालले संघीय संसद्को अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट कानुनहरू ल्याउने बाटो रोजेका छन्। नयाँ समीकरणअनुसार प्रदेश सरकारमा देखिएको सकस अझै टरेको छैन। आफ्नो सत्ता टिकाउन दाहालले विगतमा पार्टी नेतृत्वमा रहेका प्रदेश सरकारहरू अन्य दललाई दिनसमेत तयार भए। तर पनि प्रदेश सरकार गठनका विवाद अझै टरिनसकेको निकट एक नेताले जानकारी दिए।

‘एकातिर टाल्यौं, अर्कोतिर भत्कन्छ। अर्को टाल्यो नयाँ ठाउँमा भ्वाङ पर्छ। नयाँ गठबन्धनलाई लिएर अघि बढ्न निकै समस्या परेको छ,’ दाहालनिकट एक नेताले भने। अझ प्रधानमन्त्री दाहाल नेतृत्वको माओवादी केन्द्रका एक नेताले त ‘अहिलेको सरकार पछिल्ला दुई महिनामा हरेक दिन ढल्ने र फेरि जोगिने’ भइरहेको सुनाए।

अहिलेको गठबन्धन लामो समय नजाने संकेत गर्दै उनले गठबन्धन फेरिएपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतकले संसद्मा उठाएका प्रश्नको तर्कसंगत जवाफ माओवादी केन्द्रसँग नभएको बताए। नेपालको राजनीति परिपक्व हुन अझै दुई महिना लाग्ने उनले दाबी गरे। ‘दुई महिनाभित्र अहिलेको राजनीतिले बाटो लिनेछ,’ ती नेताले भने, ‘केही समयमा त्यसले एउटा आकार लिनेछ।’

कांग्रेससहितका दलहरूसँग प्रधानमन्त्री दाहालले फेरि संवाद सुरु गरेको पनि उनले जानकारी दिए। कांग्रेस नेताहरू एमाले, नेकपा एससहितका दलहरूसँग पनि संवादमा रहेको उनले बताए।

नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर फेरि पुरानो गठबन्धन फर्काउने प्रयासमा दलहरू लागेको संकेत गर्दै उनले भने, ‘माधव, माधव भन्दाभन्दै फेरि अर्के केही हुन्छ कि भन्ने पनि छ।’

अहिलेको समीकरण टुटेर नयाँ निर्माण हुने अवस्थामा एमाले अध्यक्ष केपी ओलीले नेपाललाई प्रधानमन्त्री हुनबाट रोक्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न पनि सक्ने उनको भनाइ छ।

ओलीले संसद्को रोस्ट्रमबाटै कांग्रेस सभापति देउवालाई संवादका लागि आग्रह गरेका थिए। ओली कुनै पनि अवस्थामा नेपाललाई प्रधानमन्त्री हुनबाट रोक्ने पक्षमा रहेको भन्दै ती माओवादी नेताले भने, ‘नेकपा एसलाई सहभागी गराएकोमा उहाँलाई चित्त बुझेको छैन। त्यसलाई रोक्न जे पनि हुन सक्छ। सत्ता गठबन्धनमा रहेका नेताहरूलाई एकअर्काप्रति विश्वास र भरोसा नै छैन।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसँग असन्तुष्ट कांग्रेस नेताहरूले एमालेलाई साथ लिएर अघि बढ्नुपर्ने बताउँदै आएका छन्। नेता शेखर कोइरालाले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि कांग्रेस र एमाले मिल्नुपर्ने बताउँदै आएका छन्।

सभापति देउवासहित संस्थापन पक्षका नेताहरू यस विषयमा खुलेका छैनन्। एमालेसँग मिलेर अघि बढ्नुपर्ने मत कांग्रेसमा बढ्दै गएको छ। तर कांग्रेसभित्रै प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प खोज्नुपर्ने संस्थापन इतरको बुझाइ छ।

देउवा नै फेरि पनि प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्दा कांग्रेसको आगामी महाधिवेशन र नेतृत्व चयन प्रक्रियासमेत प्रभावित हुने एउटा पक्षको बुझाइ छ।

देउवाको विकल्प खोज्ने अवस्था नभए बरु सरकारबाहिर नै बस्नुपर्ने तर्कले नयाँ सत्ता गठबन्धन निर्माणमा ढिलाइ भएको कांग्रेसका एक पदाधिकारीको दाबी छ। ‘विभिन्न कोण र विकल्पमा छलफल भइरहेको जानकारी दिँदै कांग्रेसका ती पदाधिकारीले भने, ‘कांग्रेसभित्रको सत्ता संघर्षले अहिलेको राजनीतिक तरलता लम्बिएको छ।’

कांग्रेसभित्रको गुटगत संघर्षमा एमाले अध्यक्ष केपी ओलीले दुवै पक्षसँग खेलिरहेको ती पदाधिकारीको आरोप छ। कांग्रेसभित्रको विवादमा खेलेर ओली आफैं प्रधानमन्त्री रणनीतिमा पनि रहेको दाबी गर्दै ती पदाधिकारीले भने, ‘अहिलेको गठबन्धन भत्किएको अवस्थामा संसद्को ठुलो दलको संसदीय दलको नेताको हैसियतामा देउवा प्रधानमन्त्री बन्ने (संविधानको धारा ७६ को ३ अनुसार) र उनले विश्वासको मत नपाएपछि फेरि धारा ७६ को ५ अनुसार कांग्रेसकै अर्का नेता प्रधानमन्त्री बन्ने बाटोमा जान सक्छ।’

त्यस्तो अवस्थामा कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्न सक्ने र पार्टी विभाजनसम्मकै अवस्थामा पुग्न सक्ने विश्लेषण गर्न थालिएको छ। तर कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरू भने माधव नेपाललाई अहिले प्रधानमन्त्री बनाएर फागुन २१ मा भत्केको गठबन्धन फेरि जोड्न लागिपरेको स्रोतको दाबी छ।

प्रकाशित: २१ वैशाख २०८१ ०६:०३ शुक्रबार

चितवनको १०औं अधिवेशन सत्ता गठबन्धन बेचैनीमै बिते सरकारका ६० दिन