२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल र कतार सरकारबीच हुने समझदारीपत्रहरु स्वीकृत

सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि अमेरिकी डलर ९८ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी दिइन्। बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२औँ बैठकको पूर्वकार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालय सहसचिवको संयोजकत्व वार्ताटोली गठन गर्ने निर्णय भएकाे उनले बताइन्।

गृह मन्त्रालयको प्रस्तावमा विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहका सरकारको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय बैठकले गरेको छ।

नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षीलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यसैगरी, सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा र डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवका रुपमा जिम्मेवारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमणका क्रममा २०८१ वैशाख ११ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: १० वैशाख २०८१ १९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App