२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साना दलको समाप्ति खोज्दै एमाले

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा मुलुकमा राजनीतिक स्थिरताका लागि बलिया र निर्णायक दलको अवधारणामा छलफल चलाउने भएको छ। उसले सानासाना दलका कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएकाले स्थिरताका लागि ठुला र बलिया दलको अवधारणा अघि सारेर बहस चलाउने भएको हो। मुलुकमा स्थिरताका लागि दुई बलिया र निर्णायक दल हुनुपर्ने यो अवधारणाको अन्तर्य भएको बुझिएका छ।

‘हामी नेपालमा सानासाना धेरै राजनीतिक दल होइन, ठुला, बलिया र निर्णायक राष्ट्रिय शक्ति हुनुपर्छ भन्नेमा छौं’, एमाले महासचिव शंकर पोखरेलले भने। उनका अनुसार राष्ट्रिय आवश्यकता पूरा गर्नेगरी एमाले अघि बढिसकेको छ।

नेपाली कांग्रेसले ठुला दल मिलेर संविधान संशोधन गरी मुलुकमा राजनीतिक स्थिरता स्थापित गर्नुपर्ने बताइरहेका बेला एमालेले मुलुकमा ससाना धेरै दलको सट्टा बलिया पार्टी निर्माणको अवधारणामा बहस चलाउन लागेको हो। एमालेले यो अवधारणामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा छलफल गराउने तयारी गरेको छ।

महाधिवेशन प्रतिनिधि परिषद्ले पार्टीको नीति निर्माणमा मार्गप्रशस्त गर्न सक्छ। महासचिव पोखरेलले मुलुकमा यतिबेला राजनीतिक अस्थिरता उत्पन्न भएका कारण ‘कोर्स करेक्सन’ को आवश्यकतासमेत रहेको बताएका छन्।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गरी महासचिव पोखरेलले राष्ट्रिय आवश्यकताका आधारमा नेपाली कांगेससँग पनि सहकार्य गर्ने बताए।

नेपाली कांग्रेसले संविधान संशोधनमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावनातिर संकेत गर्दै पोखरेलले मुलुकको आवश्यकता हेरेर एमाले सधैं सहमति र सहकार्यको पक्षमा रहेको र रहिरहने बताए। उनले लोकतन्त्र र परिवर्तनका उपलब्धि जोगाउन कांग्रेससँग पनि मिलेर काम गर्नुपर्ने पक्षमा एमालेको रहेको बताए।

‘लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार नै छौं। हामी सत्ताका लागि लालायित छैनौं। पहिले पनि सत्ता हाम्रा लागि प्राथमिकता होइन भनेका थियौं। मुलुकलाई सही बाटोमा डोहोर्‍याउनु हाम्रो प्राथमिकता हो भनेका थियौं। अहिले पनि नयाँ समीकरणमा यही मन्त्रालय चाहिन्छ भनेका छैनौं,’ उनले भने।

पोखरेलले मुलुक ‘कोर्स करेक्सन’को दिशामा लागिसकेको समेत बताए। ‘नयाँ राजनीतिक कोर्स करेक्सनका कारण प्रदेशहरूमा जुन प्रकारको परिवर्तन देखापरेको छ, त्यसलाई अस्थिरता ठानिराख्नुभएको छ भने त्यो स्वाभाविक रूपमा राष्ट्रिय राजनीतिको कोर्स करेक्सनको प्रभाव हो। केन्द्रमा जुन प्रकारको राजनीतिक समीकरण बनेको छ त्यसैको जगमा प्रदेश सरकारहरू बन्दा मुलुकले स्थायित्व प्राप्त गर्नेछ,’ उनले भने।

महासचिव पोखरेलले अस्थिरताको जगमा खडा भएका प्रदेश सरकार परिवर्तन जरुरी रहेको बताए। ‘जहाँ नीतिविहीनता, लक्ष्यविहीनता र नीति नमिल्ने दलहरूबीचको गठबन्धन अवस्थाबाट सापेक्षित रूपमा वामपन्थी र नयाँ शक्ति मिलेर अहिलेको समीकरण बनेको छ’, उनले भने।

पोखरेलले आलोपालो सरकारको विषयमा टिप्पणी गर्दै आलोपालोभन्दा निरन्तरता र स्थिरताको पक्षमा उभिनुपर्ने बताए। ‘कतिपयले आलोपालो भन्ने गरेका छन्। हामीले यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं भनिरहेका छौं। हाम्रो चिन्ता जनता र मुलुकप्रति हो,’ उनले भने।

ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म चल्ने र त्यसको तयारी पुरा भैसकेको एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा राजनीति प्रतिवेदन पेस गर्ने भएका छन्।

एमालेका अनुसार दुई हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना बैठकमा सहभागी हुनेछन्। पार्टीको ७५औं स्थापना दिवसको अवसर पारेर एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्न लागेको हो।

एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। त्यस्तै लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि बैठकमा पेस गरिनेछ। बैठकले पार्टीको समग्र काम समीक्षा गरी आवश्यक निर्देशन दिने एमालेले जनाएको छ।

दुई महाधिवेशनको बीचमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने व्यवस्था एमाले विधानमा छ। उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्थापन समितिले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको व्यवस्थापकीय तयारी गसिकेको पार्टी प्रचार विभागले जनाएको छ।

१० गते पार्टी स्थापना दिवस

एमालेले वैशाख १० गते पार्टी स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ। त्यस अवसरमा एकजनालाई गणतन्त्र गौरव सम्मान प्रदान गरिने भएको छ।

पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते आयोजना गरिने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा निमन्त्रणा गरिएको छ। कार्यक्रममा अन्य पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

प्रकाशित: ८ वैशाख २०८१ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App