नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औं स्थापना दिवसका अवसरमा आज देशभरका ७५३ स्थानीय तहमा शैक्षिक सुधारका मुद्दाहरूसहित ज्ञापन पत्र बुझाएको छ।
केन्द्रीय समितिबाट सबै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पठाएर शैक्षिक सुधारका विभिन्न १७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले लगभग सबै स्थानीय तहमा पुगेर केन्द्रीय प्रतिनिधिले ज्ञापन पत्र बुझाएको बताए।
‘शैक्षिक सुधार गर्न पहिले विद्यालय तहदेखि नै सुधार गर्दै ल्याउनुपर्छ। संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ,’ उनले भने, ‘त्यसैले हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले संघीयता अनुरुपका सबै सरकारलाई सजग गराउने विषयमा गहन छलफल गरेको थियो। सोहीअनुरुप आज हामीले सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएका छौं।’
नेविसंघको यस अभियानले विद्यालय तहको शैक्षिक सुधारमा योगदान पुग्ने केन्द्रीय सदस्य नारायण पाण्डेले विश्वास व्यक्त गरे। २०२७ वैशाख ६ गते विपिन कोइरालाको अध्यक्षतामा नेविसंघ गठन भएको थियो।
नेविसंघले सोही तिथिलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ। २०२८ मा सम्पन्न पहिलो महाधिवेशनले हाल नेपाली कांग्रेसको सभापति रहेका शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको थियो।
प्रकाशित: ६ वैशाख २०८१ १८:४० बिहीबार