१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन्।

बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन्।

यस अघि बैशाख २ गते नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए। दुवैको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले बैशाख ४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न बिहीबार साँझ ५ बजेसम्मको म्याद दिएर आह्वान गरेका थिए।

सुरुमा सोडारीलाई समर्थन गर्न नेकपा एमालेले आनाकानी गरेपनि बिहीबार दिउसो समर्थन गरेको हो।

लामो समयदेखि पुरानो गठबन्धनमा समावेश हुने वा नयाँ गठबन्धनमा जाने भन्ने विषयमा विवाद रहँदै आएको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू दुई खेमामा विभाजित भएका छन्। नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षधरमा ५ जना र रञ्जिता पक्षमा २ सांसद रहेका छन्।

नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण विश्वासको मत पाउन कठिन भएपछि चैत २२ गते मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा दिएका थिए। ५३ प्रदेश सभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक वटा सिट रिक्त छ। 

प्रकाशित: ६ वैशाख २०८१ १६:१७ बिहीबार

सुदूरपश्चिम प्रदेश दीर्घ सोडारी