२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

समृद्धिको खोजीमा नेपाल

नेपाली युवा हजारौंको सङ्ख्यामा आफ्नो देश छाडेर हिँडिरहेका छन्। ती कति बाध्यताले त कति बाहिरी चमकधमक देखेर पनि गएका हुन्। यसले युवालाई मात्र होइन, तिनका अभिभावकलाई पनि लोभ्याएको छ। त्यसैले ऋण काडेर छोराछोरी बाहिर पठाउने संख्या पनि उल्लेख्य छ। 

यस्तो प्रवासी मोहको विकासका लागि देशको अस्थिर राजनीति, कमजोर आर्थिक अवस्था, बेरोजगारी आदि पनि जिम्मेवार छन्। मौलिक हकको कार्यान्वयन नहुँदा पनि सीमान्त नागरिकलाई विकल्प खोज्न बाध्य बनाइएको छ। यसको मूल कारक भनेको उनीहरूको राजनीतिक इच्छाशक्तिको कमीका साथै जरा गाडेको व्यापक भ्रष्टाचार नै हो।

हुन पनि यही भएर नै होला, युवादेखि वृद्धसम्म सबै नेपालीमा निराशा र आक्रोश भरिएको हो। यसमा पनि दुई अलग परिदृश्य देखिएको छ: पहिलो, निराश युवाहरू समृद्धिको आश लिएर आफ्नो मुलुक छोड्दै छन्। दोस्रो, आक्रोशित युवाहरू समृद्ध नेपालका लागि सडकमा संघर्ष गरिरहेका छन्।

हप्तौंदेखि दाङमा गुठी किसानहरू आफ्ना पुर्खौंदेखि जोतभोग गर्दै आएको भूमिका लागि वारपारको लडाइँ लडिरहेकोदेखि काठमाडौंमा निरन्तर मिटरब्याजी पीडितहरू संघर्ष गरिरहेको अवस्था छ।

राज्य शक्तिमा बस्नेबाट विगतमा कयौं सम्झौताहरू भए, मौखिक तथा लिखित आश्वासनहरू पाए तर ती सबै छल थिए। ती सबै संविधानले प्रत्याभूत गरेको आधारभूत अधिकारहरू पनि फगत कागजको टुक्रामै सीमित रह्यो। बुझ्नु र मनन गर्नुपर्ने विषय के हो भने उनीहरू एक्कासी सडकमा आएका होइनन् र लहैलहैमा पनि आएका होइनन्। कसैले जाऊँ भनेर पनि आएका होइनन्। आएका हुन् त केवल आफ्नो अधिकार खोज्न।

कतिपय सञ्चार माध्यमले भइरहेका संघर्षहरूलाई आन्दोलन तथा संघर्षशील नागरिकलाई आन्दोलनकारीको संज्ञा दिएका छन् तर बुझ्नु आवश्यक के छ भने त्यो आन्दोलन नभई संगठन शक्ति हो। दाङमा भइरहेको आफ्नो पुर्खाको भूमिको प्राप्तिका लागि गुठीविरुद्धको आन्दोलन नभएर भूमिमाथिको हकको खोजी हो।

वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि रहेको शोषण र निरंकुशताको अवशेषविरुद्ध आक्रोशित आन्दोलनकारी नभई आफ्नो हक र अधिकारका लागि संघर्ष गरिरहेको संगठन शक्तिको एक झलक मात्र हो। नागरिक कहिल्यै पनि हिंसात्मक र आन्दोलनकारी हुँदैन। उसले त राज्यको हिंसा र दमनविरुद्ध मात्र संघर्ष गर्छ। यसबारे हामी सबैले बुझ्न आवश्यक छ। गास, बास र कपास प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार हो। यसबारे सबैले मनन गर्न आवश्यक छ।

कठै मेरो देश! यहाँ त केही गरेर जीविका चलाउँछु भन्नु पनि लगभग असम्भव नै भइसक्यो। संघीय गणतान्त्रिक मुलुकको संघीय राजधानीमै साना व्यवसायीमािथ निर्मम कुटपिट हुन्छ भने थानकोट र धुलिखेलपारिको नेपालको के कुरा गर्ने! सफा, हराभरा, व्यवस्थित एवम् स्वतन्त्र फुटपाथमा हिँड्ने सबै नेपालीको चाहनामा दुई मत छैन। तर ती सडक व्यवसायीहरूको व्यवस्थापन महत्त्वपूर्ण हो। उनीहरूले पनि आफ्नै अधिकारका लागि संघर्ष गरेका हुन्। यसमा सबैले प्रजातान्त्रिक दृष्टिकोणले मूल्याङ्कन गर्न र पहल गर्न आवश्यक छ, न कि व्यक्तिगत स्वार्थका आधारमा। प्रत्येक नेतृत्वमा प्रजातान्त्रिक र उदारवादी विशेषता हुनैपर्छ। निरंकुशता टिक्दैन भन्ने इतिहासले पनि पुष्टि गरेको छ।

मार्गरेट मिसेलको एक प्रसिद्ध भनाइ छ, ‘भूमि एकमात्र यस्तो चिज हो जसका लागि काम गर्नु जायज छ, संघर्ष गर्नु जायज छ र मर्न तयार हुन पनि जायज छ किनभने पृथ्वीमा भूमिबाहेक केही पनि स्थायी छैन।’

वास्तवमा भूमि मानवलगायत सम्पूर्ण जगत्को अस्तित्व एवम् सभ्यताको आधार हो, जसले जीविकोपार्जन, आर्थिक समृद्धि, वातावरणीय सन्तुलन, संस्कृतिका साथै सम्पदाको संरक्षण गर्न र सामाजिक संरचनामा योगदान पुर्‍याउँछ।

अहिलेको विषम परिस्थितिमा प्रत्येक नेपाली युवाहरूले ती अधिकारहरूका लागि लडिरहेका समुदायसँग ऐक्यबद्ध भई समान उद्देश्यका साथ अघि बढ्न अब ढिला गर्नु हुँदैन। कुनै पनि समस्या तेरो र मेरो भन्ने हुँदैन। चाहे त्यो सडकमा व्यवसाय गर्ने राजधानीपीडित समुदाय हुन्, मिटरब्याजी पीडितहरू हुन् वा दाङका गुठीपीडित लगायतका भूमिहीनहरू हुन्, यी सबै समस्या प्रत्येक नेपालीका साझा समस्या हुन्।

आफ्नो घर र देश छोडेर अरूको घर र परदेशमा क्षणिक आराम वा कल्पित समृद्धि त भेटिएला तर वास्तविक विकास र समृद्धि केवल यहाँ ऐक्यबद्ध एवम् प्रत्येक नेपालीको सामूहिक प्रयासबाट मात्र सम्भव छ। तसर्थ अब यो समय केवल एउटा राष्ट्रिय आन्दोलनको समय हो। जसले सम्पूर्ण नेपालीहरूको अधिकारका लागि तथा समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउन सक्छ। आफ्नो पृष्ठभूमि अथवा सामाजिक हैसियतलाई बिर्सिएर सबै नेपालीले फेरि एकचोटि नयाँ इतिहास रच्ने अवसरलाई गुमाउनु हुँदैन।

नेपालको भविष्य सात समुद्रपारिको किनारमा होइन, बरु बाँझै छोडिएको यहाँको पहाडका पाखापखेरा र कृषि उत्पादनमा योगदान गर्न आतुर तराईका सुन्दर फाँटहरूले पर्खिरहेका स्वदेशी तथा परदेशी नेपाली नागरिकहरूका हातमा छ। मात्र एउटा सामूहिक प्रयासका साथै अटल संकल्पबाट हामी समान नेपाली, न्यायपूर्ण प्रणाली र समतामूलक समाज हुँदै समृद्ध नेपाललाई मूर्त बनाउन सक्छौं।

हामीले आफ्नो पुख्र्यौली विरासत जोडिएको घर र प्रिय नेपालको भविष्यको ख्याल गर्दै एकअर्काको काँधमा काँध थापेर देशभर भइरहेको अत्याचार र असमानताविरुद्ध आफ्नो अधिकारप्राप्तिका लागि एकअर्काको साथ दिने समय आएको छ।

अहिले हामीमध्ये केही युवाहरूले आफूलाई भाग्यमानी ठानिरहेका छौं तर त्यसका लागि हाम्रा पुर्खाले गरेका त्याग र दिएको वलिदान भुल्न हुँदैन। त्यसैगरी हामीले पनि हाम्रा भावी सन्तति एवम् पिँढीको भविष्यका लागि रमिता हेरेर बस्न मिल्दैन।

प्रकाशित: ११ वैशाख २०८१ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App