६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

मान्छेको मन र फागुको रङ

मानिसलाई स्वस्थ जीवन जिउन जति प्राकृतिकरूपका पौष्टिक खाद्यपदार्थहरू खान जरुरी छ, स्वच्छ हावा तथा सफा पानी पिउन पनि त्यत्तिकै आवश्यक छ। तर यत्तिले मात्र पुग्दैन, स्वस्थ र सक्रिय जीवन जिउन शारीरिक क्रियाकलापहरू तथा मनोरञ्जनको पनि उत्तिकै आवश्यक पर्छ। शरीर र मस्तिष्कलाई व्यायाम तथा मनलाई उत्सव भएन भने मानिस कदापि स्वस्थ जीवन जिउन सक्दैन। स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।

हो, मनलाई स्वस्थ र मजबुत राख्न मनोरञ्जन आवश्यक छ, उत्सव आवश्यक छ। उत्सवले मानिसको मनमा सकारात्मक प्रभाव पार्ने पुष्टि अनेक अध्ययनले गरिसकेका छन्। एकपटक सोचौँ त, जीवनलाई चाडपर्व तथा उत्सवहरूबाट अलग राख्ने हो भने के मानिस स्वस्थ जीवन जिउन सक्छ ? कदापि सक्दैन। त्यसैले मानिसको जीवनमा मनोरञ्जनको यही महत्त्वलाई हृदयंगम गरेर नै हाम्रा पूर्वजहरूले चाडपर्व, जात्रा तथा उत्सव चलाएका हुन्। फागु पनि यस्तै एक पर्व हो।

फागु फागुन शुक्ल अष्टमीदेखि पुर्णिमासम्म साताभर रङ-अबिर-नाचगान-भोज भतेर गरेर मनाइने वार्षिक उत्सव हो। परापूर्वकालदेखि नै भारतमा जस्तै नेपाली समाजमा पनि फागुको ठूलो महत्त्व छ। त्यसैले रङहरूको यो पर्वलाई हर्षोल्लासका साथ मनाउनका लागि नै सरकारले पहाड र तराईका लागि एक एक दिन राष्ट्रिय बिदा दिने गरेको छ।

यसपालि पहाडी क्षेत्रमा चैत ११ गते तथा तराईमा चैत १२ गते एकअर्कालाई थरीथरीका रङहरू लगाएर तथा भोज गरेर धूमधामका साथ रङहरूको पर्व फागु  मनाइँदैछ। फागु रङहरूको पर्व हो। फागु खेल्नुभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ। होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। भनिन्छ कि फागुको दिन होलिका दहनसँगै पुरानो राग, द्वेष  तथा कटुता त्यागेर, दुश्मनी बिर्सेर मानिस एकापसमा मिल्छन्। अतः रङसँगै मन मिल्ने पर्व पनि हो, फागु। नेपालको पहाडदेखि तराईसम्मका, गाउँदेखि सहरसम्मका प्रायः सबै केटाकेटी, युवायुवती तथा प्रौढहरू आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमंगका साथ यस रङीन पर्व मनाएका पाइन्छ।

फागुमा थरीथरीका रङ प्रयोग गरिन्छ। मनोवैज्ञानिकरूपमा मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि मानिसको जीवनमा रंंगको ठूलो महत्त्व छ। त्यो किनभने मानिसको जीवन नै रङीन हुन्छ। बेरङ जीवन अर्थात् रङबिनाको जीवन मानिसले सहजपूर्वक जिउन सक्दैन। जीवनमा रङ भएन भने मानिसको मन उदास, निराश र बेचैन हुन्छ। दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ। उसको आशा मर्छ। विश्वास मर्छ। चाहना मर्छ। उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन। मानिस जिउँदो लास जस्तो हुन्छ।

तर जीवन रंगिन भयो भने मानिसको मन खुसी हुन्छ। प्रसन्न हुन्छ। दुःखमा पनि सुखको आशा गर्छ। अँध्यारोपछिको उज्यालोको पर्खाइमा हुन्छ। कालो बादलमा पनि चाँदीको घेरा देख्छ। त्यसैले मनोवैज्ञानिकरूपमा पनि मानिसको जीवनमा रङको ठूलो महत्त्व छ। फागुमा थरीथरीका रङ खेल्नुको मनोवैज्ञानिक कारण पनि जीवनलाई रङीन बनाउनु हो।

हुन त समयसँगै जीवनमा रङ छर्ने थरीथरीका माध्यम थपिएका छन्। हिजोआज जीवनलाई रङीन बनाउने अनेक माध्यम छन्। कोही फुटबल तथा क्रिकेट आदि जस्ता खेल खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन्। कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही फागु जस्ता चाडपर्व मनाएर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रङ छर्ने कार्य गरिरहेका हुन्छन्।

दसैँ, तिहार, लोसार तथा फागु आदि जस्ता रङीन उत्सवहरूले समाजिक तथा मनोवैज्ञानिक महŒव पनि राख्छ। वास्तवमा यस्ता उत्सवले मानिसको उत्साह बढाउँछ, दुःख पीडा, कुण्ठा तथा निराशा हटाउँछ। जीवनको अँध्यारोमा उज्यालोको रङ भर्ने काम गर्छ।

हो, मानिसलाई रङ मन पर्छ। रङीन जीवनले नै मानिसलाई खुसी दिन्छ। आनन्द दिन्छ। जीवनलाई आशा र विश्वास दिन्छ। तर विडम्बना के भने अधिकांश नागरिकले श्याम–श्वेत सोच राखेर रङीन जीवन बाँच्न खोज्छन्। यहीँबाट नै मानिसका धेरै समस्या उत्पन्न हुन्छन्। दुश्चिन्ता, डिप्रेसनलगायतका अनेक मनोवैज्ञानिक समस्या यही श्याम–श्वेत सोचका कारण पैदा हुन्छन्। जस्तो कि कुनै राजनीतिज्ञले अहिले पनि म निर्वाचनमा पराजित भए भने त मेरो राजनीति नै समाप्त हुन्छ भन्ने सोच राख्न सक्छ। कुनै विद्यार्थीले परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकिन भने त मेरो जीवन नै बर्बाद हुन्छ भने सोच राख्न सक्छ। अनि यस्तो सोच राख्ने व्यक्ति चुनाव हार्‍यो वा परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकेन भने दुश्चिन्ता तथा डिप्रेसन जस्ता मानसिक समस्याको चंगुलमा पर्न सक्छ।

विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण पनि यस्तै श्यामश्वेत सोच हो। तर वास्तविकता भने बिलकुल फरक छ। वास्तविकता के हो भने यस संसारका कुनै पनि मानिस पूर्ण प्रतिभाशाली वा पूर्ण मूर्ख छैनन्। कुनै पनि मानिस पूर्णरूपमा सुन्दर वा पूर्णरूपमा कुरूप पनि छैनन्। कुनै पनि मानिस पूर्णरूपमा असल वा पूर्णरूपमा खराब पनि छैनन्। हरेक मानिसमा गुण पनि हुन्छन्, अवगुण पनि हुन्छन्। भनाइ नै छ, अवगुण नभएका देउता हुँदैनन्। गुण नभएका राक्षस हुँदैनन्। मानिसले यो यथार्थलाई आत्मसात गर्ने हो भने उसका थुप्रै मानसिक समस्या स्वतः समाधान हुन्छन्।

– बानियाँ साइकोथेरापिस्ट हुन्।

प्रकाशित: ११ चैत्र २०८० ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App