६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

कोरियामा कार्यरत नेपालीका परिवारजनमा!

व्यक्तिगत रूपमा म स्वयंले भोगेको परिवेश आज लाखौँ संख्यामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली परिवारजनले भोगिरहनुभएको छ। हालको अवस्था सञ्चार क्षेत्रले फड्को मारिसकेको हुँदा हाम्रो पालाको भन्दा थोरै भिन्नता पाउन सक्छौँ। तथापि परिवारजनबाट टाढा रहेर बस्नुपर्ने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ भन्ने लाग्छ।

घरायसी आर्थिक अवस्था सुधारका लागि पिताजीले खाडी मुलुकमा बिताउनुभएका पलहरू स्मरणमा छन्। सञ्चार माध्यमको विकास नभैसकेको अवस्थामा चिठीपत्रको आदान–प्रदान, पिताजीको आवाज सुन्नका लागि क्यासेट टेपमा रेकर्ड भएको उहाँको आवाज आज पनि कानमा गुञ्जिरहन्छ। हामी सानो छँदा समिपमा नै रमाउन चाहन्थ्यौँ तर बाध्यताले हामीलाई छूट दिएन ।

सन् १९५० को दशकमा युद्धको नमीठो अनुभव भोगेको दक्षिण कोरिया, आर्थिक हिसाबले निकै दयनीय अवस्थामा गुज्रेको थियो। १९६० को दशकमा हामीसँग श्रम शक्ति थियो। त्यस बाहेक प्राकृतिक स्रोतसाधन केही थिएन।

हामी गर्न सक्छौँ भन्ने विश्वास भने हामीलाई थियो र सोही विश्वासले आज सार्थकता पाएको छ। १९७० को दशकमा सरकारले निर्यातमुखी अर्थतन्त्रका लागि आधारभूत चौँडा रोडलगायतका भौतिक पूर्वाधार निर्माण योजनाबद्ध तवरले अगाडि बढाएको स्मरण गराउन चाहन्छु। १९७० को दशकमा धेरै कोरियाली नागरिक कामको खोजीमा भौतारिँदै निर्माण क्षेत्रमा कामदारका रूपमा गल्फ देशहरूमा पसिना बगाउनुभयो भने हजारौँका संख्यामा नर्सहरू र खानीमा श्रम गर्ने मजदूरका रूपमा जर्मनीमा बिताउनुभयो।

हाम्रो विगत जस्तै मिल्दोजुल्दो किसिमको अवस्था हाल नेपालमा रहेको छ। दैनिक हजारौँको संख्यामा युवा शक्ति विदेशमा अवसरको खोजीमा आफ्नो देशबाट टाढा हुनुभएको छ। परिवारसँगको विछोडमा बिताउँदाको पलहरू कस्तो हुन्छ भन्ने विषयमा परिवारजनले महसुस गरिरहनुभएको छ। मानिस विगत सयौँ वर्षअगाडिबाट एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुँदै आएका देखिन्छ। कोही सुरक्षित बासस्थानका लागि, कोही अध्ययन र घुमफिरका लागि भने कोही आफू र परिवारको आर्थिक अवस्था बलियो बनाउनका लागि वैदेशिक यात्रामा निस्कन्छन्।

हाल नेपालबाट धेरै ठूलो संख्यामा कामको खोजीमा विदेशिएको अवस्था छ। नेपालीहरू रहनुभएका विभिन्न मुलुकमध्ये दक्षिण कोरिया पनि एक रहेको हो। नेपालीहरू दक्षिण कोरिया जाने क्रम १९८० बाट सुरु भएको पाइन्छ।

१९८८ मा सिउल ओलम्पिकपश्चात भने नेपालीहरूको कोरिया प्रवेशले गति लिएको देखिन्छ। सन् १९९४ मा प्राविधिक प्रशिक्षण प्रणालीका रूपमा वैधानिकतवरले कामदारको रूपमा कोरिया प्रवेश गरेका पाइन्छ।

सन् १९९८ मा औद्योगिक प्रशिक्षण प्रणालीको माध्यमबाट कोरियामा कामदारका रूपमा प्रवेश गरेका पाइन्छ। कोरिया र नेपाल सरकारले कामदार लिने प्रक्रियालाई व्यवस्थित गर्दै जाने चरणमा सन् २००७ मा दुई देशका सरकारबीच सम्झौता भई हाल ठूलो संख्यामा नेपाली कामदारले कोरिया प्रवेश पाएको जानकारी गराउँछु।

सन् २००७ बाट सुरुवात भएको रोजगार अनुमति प्रणालीमार्फत कोरियाको रोजगारीको अवसर प्राप्त गर्ने व्यक्तिको संख्या झन्डै एक लाख पुगेको छ। हाल रोजगारीमा रहनुभएका नेपालीको संख्या ४४ हजार भन्दा बढी छ। कोरिया सरकारले स्वदेशी तथा विदेशी कामदारको सेवा सुविधा, स्वास्थ्य बिमा, दुर्घटना बिमा, सेवानिवृत्ति रकम आदि समानरूपमा उपलब्ध गराएको छ।

मैले सुनेअनुसार नेपाली संस्कारमा अतिथि देवो भवः (पाहुना देवता समान हुन्) भन्ने भनाइ निकै राम्रो लाग्छ। कोरियाली संस्कारमा पनि पाहुनालाई उच्च सम्मान दिइन्छ।नेपालबाट कोरियालगायत विभिन्न मुलुकमा रहेर परिवारको खुसीका लागि मेहनत गरिरहनुभएका सम्पूर्ण व्यक्तिप्रति नमन गर्दै, परिवारजनमा सम्मान र सहानुभूति प्रकट गर्दछु। एक दिन अवश्य यहाँहरूको सपना साकार हुनेछ र आर्थिक जीवनस्तर सकारात्मकरूपमा परिवर्तन हुनेछ भन्ने विश्वास लिएको छु।

परिवारको सदस्यसँग पाँच वर्ष, बढीमा १० वर्ष टाढा रहनुभएका सम्पूर्ण आश्रित परिवारजनप्रति मेरो उच्च सम्मान छ। तपाईँहरूका मायाका टुक्राहरू विदेशी भूमीमा परिवारको खुसीका लागि पसिना बगाउँदै हुनुहुन्छ। यदाकदा दुर्घटनाका खबर अखबारमा सुन्दै गर्दा मन अमिलो बनाउँछ। तपाईँ हामी सबैको दुखःर सुख समान हो र मानव जाति सबैको एउटै हो भन्ने लाग्छ।

कोरियामा रोजगारको अवसर प्राप्त गर्नुभएका सम्पूर्ण व्यक्तिले कोरियाको अर्थतन्त्रमा ठूलो योगदान गर्नुभएको छ। उहाँहरूको योगदानलाई कदर गर्दै भविष्यमा पनि यसले निरन्तरता पाओस् भन्ने अपेक्षा राख्छु। कोरियाको रोजगारीबाट फर्किएर नेपालमा व्यवसाय गरिरहनुभएका व्यक्तिहरूलाई भेट्दा छुट्टै खुसी पाउँछु। मलाई लाग्छ, तपाईँहरू नै दुई देशबीचको सम्बन्ध विस्तारमा अवैतनिक दूतको भूमिकामा हुनुहुन्छ। तपाईँहरूको योगदान नेपाल विकासमा पनि उत्तिकै महत्वपूर्ण छ भन्ने लाग्छ।

कोरिया सरकारले कोरियामा क्षणिक समय रोजगार दिने मात्र सोचाइ राखेको छैन। कोरिया जानुअगाडि अभिमुखीकरण तालिम दिने र फर्किएका व्यक्तिलाई नेपालमा उद्यम गर्न सहयोगी भूमिकामा रहेको स्मरण गराउन चाहन्छु। नेपालमा व्यवसाय गर्ने व्यक्तिको संख्या बढ्न सकेमा नेपालका लागि सकारात्मक भूमिका खेल्नेछ भन्ने सोचाइ लिएको छु। नेपालमा नयाँ रोजगारी सिर्जना गर्न नेपाल सरकारसँग आवश्यक परामर्श तथा समन्वय गर्दै जाने विचार लिएको छु। भावी पुस्ताले विदेशमा रोजगारीका लागि पाइला चाल्न नपरोस् भन्नेबारे दीर्घकालीन सोचाइका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्छु।

नेपाल र कोरिया दुई देशबीच पारिवारलाई महŒव दिने, ठूलालाई आदर गर्ने संस्कार आदि समानता रहेको छ। सांस्कृतिकरूपमा पनि समानता रहेको हामी दुई मुलुक सन् २०२४ आगामी वर्ष कोरिया–नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको अर्धशताब्दी, ५०औँ वर्षगाँठ मनाउने अवस्थामा आइपुगेका छौँ।

यसै उपलक्ष्यमा हामी विगत ५० वर्षको सम्बन्धलाई आत्मसात गर्दै, आगामी वर्षहरू सकारात्मक सम्बन्ध विस्तारका लागि विभिन्न कार्यक्रमका माध्यमबाट दुई देशका सरकार र जनस्तरको सम्बन्धमा नयाँ आयाम थप्दै जाने सोचाइ छ।

अन्त्यमा,

गत हप्ता मात्र कोरियामा रहनुभएका मेरा आफन्तले सब–वेको यात्रा गर्दा नेपाली कामदारलाई भेटेको खबर सुनेँ। फेरि अर्कोपटक नेपालीलाई भेट्ने अवसर मिलेमा उहाँलाई ‘नमस्ते’ भनेर आत्मीयता साट्नका लागि सिकाएको छु। सम्पूर्ण विदेशमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनी तथा उहाँका प्रिय परिवारजनमा भगवानले सधैँ कल्याण गरुन्!

-पार्क थेयङ,थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्। 

प्रकाशित: ३ आश्विन २०८० ००:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App