२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सक्षम युवा अनुहारको खोजी

सानाठूला संघसंस्था तथा संगठन मात्र होइन कि घरदेखि राष्ट्र सञ्चालनका लागि त नेतृत्वको आवश्यकता पर्छ। घरको नेतृत्व घरमूलीले गर्छन् भने संघसंस्थाको नेतृत्व कार्यकारी प्रमुखले गर्छन्। त्यसैगरी राष्ट्रको नेतृत्व राष्ट्र प्रमुख या सरकार प्रमुखले गर्छन्। नेपालको संविधानमा लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित भएकाले राष्ट्रपति राष्ट्रप्रमुख भए तापनि नेपाल राष्ट्रको नेता भनेको प्रधानमन्त्री हो।  

गणतन्त्र स्थापना भएपछि अन्तरिम संविधान २०६३ अनुसार ५ जना राजनीतिक व्यक्तित्वहरू नेपालको कार्यकारी प्रमुख हुने अवसर पाएः पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्राई र सुशील कोइराला। यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली शीर्ष व्यक्तित्व थिए। तर बिडम्बना के भने यी कुनै पनि नेताले समयले माग गरेको र नागरिकले आशा गरेको समर्थता देखाउन सकेनन्। कसैले पनि कुनै सम्झनायोग्य उल्लेखनीय कार्य गर्न सकेनन्। सुशील कोइरालाले चाहिँ नेपालको संविधान जारी गरी आफ्नो कर्तव्य भने पूरा गरे।  

सुशील कोइरालापछि केपी शर्मा ओली, अनि पुनः प्रचण्ड प्रधानमन्त्री बने। प्रचण्डपछि शेरबहादुर देउवा चौथो पटक नेपालको प्रधानमन्त्री बने। नेपालको संविधान जारी भएपछिको पहिलो निर्वाचनबाट लगभग दुईतिहाइ ल्याएको वामगठबन्धनको तर्फबाट केपी ओली दोस्रो पटक प्रधानमन्त्री भए। तर उनले हावा गफ दिनेबाहेक कुनै उल्लेखनीय काम गर्न सकेनन्। भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओलीको शासनकालमा भ्रष्टाचार झनै मौलाएर गयो। मन्त्रीले नै खुलेआम हो ७० करोड हान्दिएकै हो भन्दै हिँडे। केपी ओलीले साढे तीन वर्ष पनि सरकार चलाउन सकेनन्। यसबीच कोरोना महामारीले देश आहत भएको बेलामा दुई दुई पटक मध्यावधि निर्वाचन घोषणा गरेर नांगो नाच नाचे।  

सर्वोच्च अदालतले प्रतिनिधि पुनस्र्थापना गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः पाँचौँपटक प्रधानमन्त्री बने। यस पटक पनि देउवाको शासन उस्तै रह्यो। वास्तवमा पाँच वर्षको यो अमूल्य समय पनि सत्ताको खिचातानीमै बित्यो।  

अहिले मंसिर ४ गतेको आमनिर्वाचनले कांग्रेसलाई ठूलो पार्टी त बनाएको छ। तर सत्ताको खिचातानी उस्तै छ। उनै पुराना अनुहारहरू फेरि पनि सरकारको नेतृत्व लिन तँछाडमछाड गर्दैछन्। १० सिट जितेको माधव नेपालको एकीकृत समाजवादी पार्टीलाई समेत प्रधानमन्त्री चाहिएको छ। पटक पटक प्रधानमन्त्री भएर यिनीहरूले देश र जनताका लागि कुन उल्लेखनीय कार्यहरू गरे र ? अब फेरि कुन चमत्कार गर्छु भन्दै छन् ? निर्वाचनप्रति उदासीन जनता अक्षम नेताहरूको उही रूप देखेर झनै निराश हुँदैछन्। निराशाभित्र आक्रोश भरिँदै गएको छ। शेरबहादुर देउवा तथा प्रचण्डहरूले नेपालको आवश्यकता र जनताको मनोविज्ञानलाई आत्मसात नगरी युवा नेतृत्वलाई अघि सार्ने ठाउँमा आफैँ अघि सरे भने जनताको आक्रोश जुनसुकै बेलामा पनि बिष्फोट हुन सक्नेछ।  

जनताले बूढा अनुहारहरू होइन, योजना र पूरा तयारीका साथ देशमा समृद्धि ल्याएर नै छाड्छु भन्ने संकल्प लिएका युवा अनुहार खोजेका छन्। तर उहिलेदेखि नै सत्ता सुखमा रमाउन पल्केका खराब नेताहरूले आफ्नो भाग खोसिने डरले यस्ता युवा नेताहरूलाई अनर्गल आक्षेप लगाएर, देशीविदेशी शक्ति गुहारेर रोक्न खोज्दैछन्।  

खराब नेताहरू युवाको यो बेगलाई रोक्न सफल भए भने फेरि पनि यो देशमा तिनै नेताहरूको नै बिगबिगी र हालीमुहाली हुनेछ। सत्ताको लुछाचुँडीमा नै यो देश थिच्चिनेछ, मिच्चिनेछ, पिल्सिनेछ। कहिलेसम्म यो देशलाई पशुपतिनाथले रक्षा गरेर बस्लान् ? यो गम्भीर प्रश्न हो।  

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन खराब नेता (सधैँ कुर्सीमाथि अर्जुनदृष्टि राख्ने नक्कली नेता) होइन कि राजनेता आवश्यक हुन्छ। मस्तिष्कमा समझदारी (इक्यु), हृदयमा इमानदारी, काँधमा जिम्मेवारी भएको प्रज्ञापूर्ण, दूरदर्शी र व्यावहारिक राजनीतिज्ञ नै राजनेता हुन्। धूर्त, ढोँगी र सर्वसत्तावादी राजनीतिज्ञ खराब नेता हुन्। त्यसैले त राजनेताले हमेसा दूरदर्शी समाधान खोज्छन्, खराब नेताले सधैँ कुर्सी खोज्छन्। राजनेताले सहयोग, विश्वास र रचनात्मकता उत्पन्न गर्छन्, खराब नेताले भ्रान्ती, झैंझगडा र विवाद पैदा गर्छन्। राजनेताले सही मार्गदर्शन गर्छन्, खराब नेताले गुमराह पार्छन्।  

कुरा समर्थ राजनेताको पनि हो। कुरा नेता, नीति र नेतृत्वको मनोविज्ञानको पनि हो। यसै कुरामा जोड दिँदै प्रसिद्ध मनोवैज्ञानिक प्रा. डा. डेनियल गोलमैन भन्छन्– बुद्धिमत्ता समर्थता, त्यो अश्वशक्ति हो जसले मानिसलाई सफलताको चुचुरोमा पुग्ने ऊर्जा दिन्छ। बुद्धिलब्धी (आइक्यु), ठूलाठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरू भन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता।  

कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका रहन्छ, त्यसैले भावनात्मकरूपमा समर्थवान् मानिस जस्तोसुकै विषम परिस्थितिहरूमा पनि नआत्तिकन समस्याहरूको दूरदर्शी समाधान खोज्नेतिर लाग्छ। तर विडम्बना के भने यस किसिमको बुद्धिमत्ता विश्वका थोरै मानिसमा देखिने गर्छ। त्यसैले पनि कतिपय ज्ञानका मस्तिष्क त्यसै हराएर जान्छन्।  

अतः कुनै पनि कार्यको सुसम्पादनका लागि भावनात्मक सक्षमताको आवश्यकता पर्छ जुन सक्षमता भावनात्मक बुद्धिमत्तामा निर्भर रहन्छ। आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिहरूमा पनि होसहवास नछाड्ने, कठिनाइहरूमा औसर खोज्न सक्ने, आफूलाई आफैंँले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्न सक्ने खुबी नै भावनात्मक समर्थता हो, जुन बुद्धिमत्ता दुई प्रमुख कुराहरूको संयोजनले बनेको छ, एउटा बौद्धिकता र अर्को भावनात्मकता।  

स्यानु मनोवैज्ञानिकहरूको दाबी छ कि बौद्धिकता र भावनात्मकता जस्ता दुई सक्षमता मानिसको मस्तिष्कको छुट्टाछुट्टै भागसँग सम्बन्धित रहन्छन्। सबै मस्तिष्कहरूमा यी दुवै सक्षमताहरू सक्रिय भएको पाइँदैन। यसका साथै खुसीको कुरा के भने यी सक्षमताहरूको केही हदसम्म भए पनि आफूमा विकास गर्न सकिन्छ। तर लाखौँमा एकाध मानिसहरूले मात्र यस्ता सक्षमताहरू आफूमा विकास गर्न लागिपरेको देखिन्छ। त्यसैले त राष्ट्रमा मात्र होइन कि हरेक संघ/संस्थाहरूमा समेत एक समर्थवान् नेतृत्वको अभाव सधैँ खड्किरहेको हुन्छ।  

एउटा अर्को वैज्ञानिक तथा मनोवैज्ञानिक सत्य के हो भने कुनै पनि संघ/संस्था वा राष्ट्रको प्रगति र समृद्धि, संघ/संस्था वा राष्ट्रसँग सम्बद्ध पदाधिकारीहरू (नेतृत्व) को आचारणमा सकारात्मक परिर्वतनबिना सम्भव हुँदैन। तर आचारण परिर्वतन भनेको ज्यादै कठिन कुरा हो। थुप्रै वैज्ञानिक अध्ययनले यसलाई पुष्टि पनि गरेका छन्। जस्तो कि मुटुको बाइपास सर्जरी गरेका दशमध्ये एकजनाले मात्र स्वस्थकर जीवनशैली अपनाएको पाइन्छ। तर बाँकी ९ जनाले नयाँ जीवनशैली जीवन हो, यथास्थिति मृत्यु हो भन्ने कुरा जान्दाजान्दै पनि नयाँ जीवनशैली अपनाएको पाइँदैन।  

संघ÷संस्था वा देश सञ्चालनमा पनि यही कुरा लागु हुन्छ। जस्तो कि शेरबहादुर देउवा अहिलेसम्म ५ पटक प्रधानमन्त्री भए। उनी जति पटक प्रधानमन्त्री भए उनले भ्रष्टाचार नियन्त्रण गर्ने तथा देशलाई नयाँ ढंगबाट नयाँ उचाइ दिने जस्ता आशयका प्रतिबद्धताहरू जनाए, तर जतिपटक प्रधानमन्त्री हुँदा पनि न त उनले आफूलाई सकारात्मक दिशा परिर्वतन गर्न सके न सहकर्मीलाई लक्षित उद्देश्य परिपूर्तिको बाटोमा एक ढिक्का बनाइ अगाडि लिएर जान सके। यथास्थितिमा नै आफ्नो हरेक पदावधि गुजारे। प्रचण्ड तथा केपी ओलीले पनि यही नै गरे। त्यसैले यस्ता नेताबाट देश र जनताले थप अपेक्षा राख्नु मुर्खता हो।  

नेपाली जनताले यो वास्तविकता बुझेका छन् र सक्षम युवा नेता खोजिरहेका छन्। नेता जति कुशल र समर्थवान् हुन्छ, नीति जति स्पष्ट र दूरदर्शी हुन्छ, त्यति नै नेतृत्व सशक्त हुन्छ र नै सम्बन्धित संघ÷संस्था वा राष्ट्र प्रगतिपथमा अगाडि बढ्न सक्छ। त्यसैले नयाँ नेपालको रट लगाउने तथाकथित शीर्ष नेताहरूले अन्तर्मनदेखि नै सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गरेका हुन् भने यो तथ्य स्वीकार्नुपर्छ। र, युवा पुस्तालाई देश नेतृत्वको जिम्मा दिनुपर्छ।  

युवा पुस्ता पूरा तयारी, स्पष्ट योजना र देश बनाउने नारा लिएर मैदानमा उत्रन आतुर छ। युवाहरूको यो वेगलाई रोक्न खोज्नु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो, लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्नु हो। त्यसैले देश र लोकतन्त्रप्रति माया छ भने शीर्ष नेताहरू आ–आफ्नो वर्तमान चेतना स्तरबाट माथि उठ्नै पर्छ, नउठी हुँदैन। त्यो किनभने महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेझैँ जुन चेतनाद्वारा समस्या पैदा भएको छ, त्यही चेतना स्तरमा कुनै पनि हालतमा समस्या समाधान हुन सक्दैन।  

(साइकोथेरापिस्ट)

प्रकाशित: २७ मंसिर २०७९ ००:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App