१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विमानस्थलको भेलले गाउँ जोखिममा

इलाम- जब आकाशमा कालो बादल मडारिन थाल्छ, इलाम नगरपालिका–५ की रनमाया तामाङको मुटुले ठाउँ छोडिहाल्छ। भेल आएर कतिबेला घरसँगै बगाएर लैजाला भनेर पिरोलिन्छिन् र बाल–बच्चा, घर–परिवारलाई सचेत गराउँछिन् उनी। भेलले बगाउने भयले पोहोरको बर्खाका रातहरू पनि अनिदै बिते। यो वर्षको मध्यअसारमा पनि उनको समस्या त्यही छ। भेलको भय घट्नुको साटो अझ बढेको छ।

 जिल्लामै विमानस्थल बन्न थालेपछि जिल्लाबासी आँगनबाटै आकाशेयात्रा गर्न पाइने भएर गद्गद् छन्। स्थानीय गाउँलेले पनि यही खुसीमा सस्तो मूल्यमै विमानस्थललाई धमाधम जग्गा पास नगरिदिएका होइनन्। तर, त्यही निर्माणाधीन विमानस्थलभन्दा तल्लो भेगका बासिन्दा बर्खा लागेपछि भने रातभर निदाउन पाएका छैनन्। 'पानी पर्न थालेपछि रातभर नसुती घर रुँघ्नुपर्छ छैन,' रनमाया भन्छिन्, 'विमानस्थल बन्दैगरेको ठाउँबाट खोलोजत्रो भेल उर्लेर आउँछ, कतिबेला घरसँगै बगाएर लैजान्छ भन्ने टुंगो छैन।'

 इलाम नगरपालिका–५ स्थित सुकिलुम्बामा निर्माणाधीन विमानस्थलको तल्लो भेगका करिब २ दर्जन घर विमानस्थलबाट गएको भेलका कारण जोखिममा छन्। यहाँ बग्ने भेलले सयौं रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ। घरहरू असुरक्षित रहेको स्थानीयको गुनासो छ। पानी पर्दा विमानस्थलबाट बग्ने गरेको भेल व्यवस्थित नभएकाले यहाँँको सिंगो गाउँ पहिरोको जोखिममा परेको हो। विमानस्थलको भेल नियन्त्रण र व्यवस्थित गर्न नाली बनाइएको भएपनि त्यसले मात्रै नियन्त्रण हुन नसक्दा आफूहरूले यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीय तेजबहादुर निरौलाले बताए। 'मेरो ४५ रोपनी खेत बगाइसक्यो,' उनले भने, 'मेरो घर अलि सुरक्षित ठाउँमा भएपनि अन्य गाउँले दाजुभाइ यहाँबाट बसाइँ सर्नुपर्ने अवस्था आएको छ।'

 स्थानीय आइतरानी तामाङले पनि घरअगाडिकै नालीमा खोलोजत्रो पानी बग्ने गरेकाले घर जोखिममा परेको गुनासो गरिन्। विमानस्थलको पानी कटाउन घरको आँगनबाटै बनाइएको नाली देखाउँदै उनले भनिन्, 'ठूलो पानी परेका बेला यो नाली बहुलाएर आउँछ, फोहोरले त्यसको प्वाल थुनियो भने हाम्रोे घर रहँदैन।' उनले यहाँबाट नाली नबनाउन पटक–पटक आग्रह गर्दा पनि कसैले नसुनेकाले आफूहरूलाई अहिले खतरा भएको बताइन्।

 विमानस्थलबाटै गएको पानीले घर बगाउने सम्भावना त छँदैछ, त्यही पानीले गाउँभन्दा तल्लो भेगमा गइरहेको पहिरोले घर तान्ने डर पनि स्थानीयलाई उत्तिकै छ। गाउँको तल्लो भेगमा माथिबाट बगेको भेलकै कारण अत्यन्त ठूलो पहिरो गएको छ। हरेक पटक पानी पर्दा यो पहिरो बढेको बढ्यै रहेकाले स्थानीय तनावमा छन्। 'पहिरो र भेलका कारण दुवैतिरबाट खतरामा परेपछि कहाँ गएर जोगिने भन्ने चिन्ताले हरक्षण पिरोलिरहन्छ,' अर्का स्थानीय इन्द्र तामाङले भने, 'पहिला गाउँमै विमानस्थल बन्ने भयो भनेर हामीले ५० रोपनी जमिनसमेत दियौं, अहिले त्यही विमानस्थलले बसाइँ हिँडाउँदैछ।' उनले भेल नियन्त्रणका लागि यही वर्ष प्रभावकारी काम नगरिए स्थानीय १५ घरले कुनैपनि बेला गाउँ छाड्नुपर्ने अवस्था रहेको बताए। गाउँ सुरक्षित गर्न विमानस्थल निर्माण पक्ष र स्थानीय प्रशासनमा आग्रह गरेपनि आफूहरूका माग सुनुवाई नभएको निरौलाले बताए।

करोडको नालीले धानेन पानी

 आर्थिक वर्ष २०६८/०६९ मा निर्माण सुरु विमानस्थलको माटो सम्याएपछि यहाँको भेल जम्मा भएर खोलाकै रूपमा सोझै तल्लो गाउँ बग्न थालेको हो। भेल नियन्त्रणका लागि नाली बनाउनमात्रै चालू आर्थिक वर्ष १ करोड रुपैयाँ खर्च भएको छ। तर, त्यो नालीले पनि नधान्दा गाउँ नै पहिरोको जोखिममा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर पशुपति राजवंशीले बताए। 'यो आवमा भेल नियन्त्रणकै लागि करोड रुपैयाँको काम गरियो,' उनले भने, 'तर, बर्खा सुरु भएपछि यस्तो भेल बग्न थाल्यो कि केहीले नछेक्ने अवस्था छ।'

 उनले भेल नियन्त्रणका लागि थप कति रकम लगानी गर्नुपर्छ भन्ने अनुमानै हुन नसकेको बताए। 'यहाँको जोखिम र खतरा हेर्दा थोरै रकमले नियन्त्रण हुँदैन,' उनले सुनाए, 'भेलले गाउँमा धेरै क्षति गरिसकेको छ।' उनले धावनमार्गमा बाँध बाँधेर भेल बगाउन सके तत्कालको समाधान निस्कन सक्ने भएपनि दीर्घकालीन समाधानका लगि बेग्लै योजना र मोटो रकम आवश्यक पर्ने बताए। स्थानीयको समस्याबारे जिल्ला प्रशासन र प्राधिरकणलाई आफूले जानकारी दिइसकेको उनले बताए।

 साढे ७ सय मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्गसहितको विमानस्थलको जमिन १ हजार मिटर लम्बाई र डेढ सय मिटर चौडाईको छ। टि्वनअटर जहाज उडान–अवतरण गर्नसक्ने विमानस्थलको जग्गा अधिग्रहण, माटो सम्याउने, नाली बनाउने र तारजालीको काम भइसकेको इन्जिनियर राजवंशीले बताए। विमानस्थलका लागि अहिलेसम्म ८ करोड रुपैयाँ खर्च भइसकेको र धावनमार्ग कालोपत्रे, टर्मिनल बिल्डिङलगायतको काम बाँकी रहेको प्राधिकरणले जनाएको छ। 'पुग्दो रकम आए आउँदो ३–४ वर्षमा निर्माण सक्नेछौं,' राजवंशीले भने। निर्माणाधीन विमानस्थल र त्यसभन्दा तल्लो भेगमा भेलले गरेको क्षतिबारे व्यवस्थापिका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले समेत केही दिनअघि निरीक्षण गरेका थिए। उनले विमानस्थलको भेलले गाउँमा पुर्‍याएको क्षति नियन्त्रणका लागि सक्दो पहल गर्ने आश्वासन दिए।

प्रकाशित: १४ असार २०७३ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App