१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

संवाद र सम्बन्धको महत्व

बीना झा

विवाद हुनुभन्दा अघि संवादमा कमी आउँछ र त्यसको असर सम्बन्धमा पर्छ । संवाद र सम्बन्ध अन्योन्याश्रितरूपले जोडिएको छ एक÷अर्कोसँग । किनभने जहाँ सम्बन्ध राम्रो हुन्छ त्यहाँ संवाद पनि धेरै भएको पाइन्छ । हामी सबैले महसुस गरेको कुरा जोसँग राम्रो सम्बन्ध हुन्छ ऊसँग हरेक विषयमा भलाकुसारी गरिन्छ । ससाना विषयमा पनि संवादका सम्भावना खोजिन्छ । सन्चो÷बिसन्चोको कुरा पनि प्रत्येक पटकको भेटमा जोडिन्छ अनि कोहीसँग सम्बन्ध बनाउन सुरुवात गर्न संवादको माध्यम नै हुन्छ चाहे त्यो प्रत्यक्ष संवाद होस् वा आधुनिक सञ्चारका कुनै सामाजिक सञ्जालका माध्यम, संवादबिनाको सम्बन्ध हँुदैन । हाम्रो दैनिक जीवनमा विभिन्न आवश्यकता पूरा गरिने क्रममा बजारमा, पसलमा, व्यावसायिक क्षेत्रमा आपसी आवश्यकता पूरा गर्न पनि संवाद गरिन्छ तर यो आवश्यकता पूर्तिको माध्यममात्रै हुन्छ वा भनौँ व्यावसायिक स्वार्थ पूरा गर्नमात्रै उत्प्रेरित हुन्छ जुन आवश्यकता पूर्तिसँगै समाप्त पनि भइदिन्छ । अहिलेको सामाजिक सद्भाव खल्बलिएको अवस्थामा पनि संवाद नै चाहिएको छ जनतासँग राज्यको राम्रो  सम्बन्ध बनाउनका लागि तथा नेपाली–नेपालीबीचको मधुर सम्बन्ध गाँस्नका लागि ।

नेपालको विभिन्न ऐतिहासिक परिवर्तन नियालेर हेर्ने हो भने स्पष्ट हुन्छ कि परिवर्तनकारी समूह र आमजनताबीचको राम्रो सम्बन्धले नै ती उपलब्धि हासिल गर्न सकिएको छ, चाहे त्यो प्रजातन्त्र स्थापनाको कुरा होस् वा माओवादी आन्दोलन तथा गणतन्त्रको स्थापना ।

मानिस समाजमा बस्दा एक–अर्कासँग कुनै न कुनै रूपले सम्बन्धमा उनिएको हुन्छ जसलाई संवादको माध्यमले राम्रो वा नराम्रो बनाउने कार्य गर्छ जसरी संवादबिना सम्बन्धको स्थायित्व रहँदैन त्यसरी नै सम्बन्धबिना सहकार्य सम्भव हुँदैन । अहिलेको राजनीतिक समस्याको मूल जड नै संवादविहीनताको अवस्थालाई लिन सकिन्छ । राज्य र जनताबीचको सम्बन्ध पनि संवादको प्रकृतिले दर्साउँछ । राज्यको उन्नति र विकास नचाहने कोही पनि हुँदैन तर संकीर्णताभित्र उब्जेको मानसिकतामा आमजनता अटाउन नसक्दा त्यहाँ राज्य सञ्चालनको शक्तिशाली ओहदामा आसिन व्यक्तित्वले जनतासँगको सम्बन्धलाई कुनै खास महत्व नदिई आफ्नो हरेक निर्णय थोपर्ने काम मात्रै गरिदिँदा यसले राज्यसत्ता र जनताबीचको सम्बन्ध फितलो हँुदै जान्छ र अन्ततः राज्य संघर्षको भूमरीमा फस्छ । मुसलो र हिटलर शक्तिशाली हुँदाहुँदै पनि इतिहासको एउटा अँध्यारो कुनामा खुम्चिनुपर्ने अवस्थाको सिर्जना कतै न कतै यही सम्बन्धहरुको असर पनि हो भन्न सकिन्छ ।

नेपालले देखेको विकासका सपना किन ३ करोड जनताका सपना बन्न सक्दैन ? किन राज्यसत्ताले आमजनतालाई राज्यको विकास खाकामा अटाई सबैको साझा उद्देश्य बनाउन सक्दैन ? आज किन समाजका मानिस कोही बढी सुरक्षित र कोही पूर्ण असुरक्षित महसुस गर्दैछन् ? यी प्रश्न सामान्य देखिए पनि यसलाई जतिसक्दो चाँडो जवाफ खोज्न पाए राज्य र जनताबीचको सम्बन्ध सुधार्न लाभदायक हुन्थ्यो होला । अहिलेको विश्वव्यापीकरणको २१औं शताब्दीमा कुनै समूह, वर्ग, लिंग र क्षेत्रमा उठाइएका युगौंदेखिका विभेदका समस्या समाधानको साटो शक्तिले दबाउन खोजिँदा यी भित्रभित्र आगोको भुंग्रोसरी भइराख्ने अनि उपयुक्त वातावरण पाउनासाथ आगोको मुस्लोको रूप धारण गर्ने प्रवल सम्भावना रहन्छ र यसले विकास होइन, विनाशतिर डो¥याउँछ ।

कुनै पनि राष्ट्र विकासका लागि असल नेतृत्व निकै महत्वपूर्ण हुन्छ र नेपालमा असल नेतृत्व शक्तिको खडेरी परेको अवस्थामा नेतृत्व कसले गर्ने  त भन्दा सबैले एकअर्काको मुख हेर्दै ताली बजाउने र कुर्सीतिर लम्कने प्रवृत्ति प्रत्यक्ष देख्न सकिन्छ । कुनै पनि तहको नेतृत्वले सर्वप्रथम सम्बन्धलाई जोड्दै अरुलाई उसको समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धिमा सघाउ पु¥याउन आफू एक महत्वपूर्ण कडीका रूपमा कार्य गर्नुपर्छ । त्यही नेतृत्वले दीर्घगामी संस्थागत स्वस्थ राजनीतिक प्रतिस्पर्धाको सुरुवात गर्न सक्छ र राज्यसत्ता तथा जनताबीचको सम्बन्ध मधुर बन्छ ।

नेपालको विभिन्न ऐतिहासिक परिवर्तन नियालेर हेर्ने हो भने स्पष्ट हुन्छ कि परिवर्तनकारी समूह र आमजनताबीचको राम्रो सम्बन्धले नै ती उपलब्धि हासिल गर्न सकिएको छ, चाहे त्यो प्रजातन्त्र स्थापनाको कुरा होस् वा माओवादी आन्दोलन तथा गणतन्त्रको स्थापना । सँगसँगै यो पनि विचारणीय पक्ष हो कि किन सयाँै वर्षदेखि जरो गाडिरहेका राणाशासन, राजसंस्था र पञ्चायती व्यवस्था अन्त्य भयो त ? उत्तर एउटै  छ– तत्कालीन  शासनसत्ता र जनताबीचको सम्बन्ध बलियो नहुनु ।

कुनै पनि द्वन्द्व सिर्जना हुनुपूर्व संवादविहीनताको अवस्था सिर्जना हुन्छ र यो बिस्तारै बिस्तारै आपसी मतभिन्नता प्रदर्शन गर्न अन्य उपाय खोजी गर्न थाल्छ जुन अवस्था अहिले हामी नेपालमा देख्न सक्छौं । सत्ता पक्ष र असन्तुष्ट पक्षबीचको सम्बन्ध राम्रो बनाउन समयमै संवादको विवेकपूर्ण  माध्यम प्रयोग गर्न नसक्दा आज राष्ट्र कष्टकर अवस्थाबाट गुज्रँदैछ र जनता नेतृत्व पक्षको क्षमतालाई विश्लेषण गर्दैछन् । अहिलेको अत्याधुनिक वैज्ञानिक युग जहाँ विश्वका हरेक कुनामा भएका घटना तत्क्षण अर्को कुनामा थाहा पाउन सकिने अवस्थामा पूर्व प्रवृत्तिहरु नत्यागी, अल्पज्ञानको प्रदर्शन विभिन्न शब्दको प्रयोगले सम्बन्ध बिगार्ने काम गरेको छ । भनिन्छ अल्पज्ञानले अहम्लाई जन्म दिन्छ जसले आफू र वरिपरिका सानो घेराबाहेक अरु दुनियाँ देख्न सक्दैन र यथास्थितिवादी हुन् रुचाउँछ । परिवर्तनलाई आफ्नो शक्ति छिनिने सम्भावनाका रूपमा देख्छ । उसले जनमानसको इच्छा, चाहना र भावना बुझ्नुको साटो त्यसलाई दबाउने प्रयास गर्छ जसले गर्दा सम्बन्ध झन् बिग्रन्छ ।
व्यक्ति जति ठूलो नेता बन्न चाहन्छ उसको परिधि त्यत्तिकै फराकिलो हुन जरुरी हुन्छ । यदि आफ्नो नातागोतासम्म मात्रै अटाउने घेरामा छ भने ऊ परिवारको नेतासम्म त बन्न सक्ला तर राष्ट्रको वा विश्वको नेता बन्न सक्दैन किनकि उसको सम्बन्ध र संवाद सानो घेरामा सीमित हुन्छ । आफू जन्मेको समाज र सम्बन्ध अटाउने भन्दा फराकिलो घेरा बनाउन सक्यो र सम्बन्ध विस्तार गर्न सकियो भनेमात्रै त्यो सम्बन्धले सुरक्षा र सम्मान दुवै दिन्छ अनि राष्ट्रियताको परिभाषा पुख्र्याैली सम्बन्धका आधारमा मात्रै सीमित नरही जन्म र कर्मका भविष्यमुखी आधारहरुमा फराकिलो हुँदै जान्छ । जहाँ कुनै पनि नेपाली एक ठाउँबाट अर्को ठाउँमा जान डर मान्नुपर्ने अवस्था अन्त हुन्छ र अतिथि देवो भवःलाई व्यवहारमा उतार्न सहज हँुदै जान्छ । तर सम्बोधन नै नगरी बेवास्ता गरिएका सम्बन्धहरु बिस्तारै बिस्तारै सल्किँदै जान्छ जसले राप र ताप त दिन्छ तर प्रकाश दिन सक्दैन, भित्रभित्र डढाउन सुरु गर्छ जसको असर वरिपरि पनि पर्छ ।

राजनीति गर्ने जुनसुकै पक्षले पहिलो प्राथमिकतामा जनतालाई नै राख्नुपर्छ किनकि जनताले गर्दा नै त्यो व्यक्ति नेता बनेको हुन्छ । चाहे टाउकोमा गोली ठोक्ने कुरा होस् वा एम्बुलेन्स रोकी नेपाली मार्ने कार्य वा अति आवश्यक औषधि जलाउने कुकृत्य, यो सबै घृणित कार्य अन्तर्गत नै पर्छन् । मानव जीवनको क्षति कुनै पनि रूपले स्वीकार्य हँुदैन । आखिर राजनीति कसका लागि, जनता नै बाँकी रहेनन् भने ? त्यसैले यो बेला निकै संवेदनशील भएर सोच्ने अवसर पनि हो । राष्ट्रियताका नाममा काठमाडौँलाई लठ्ठ पारी सत्ता पक्ष मख्ख हुँदैं  निमुखा जनतालाई छक्क पार्ने कस्तो सम्बन्ध बनाउँदैछ राष्ट्र सत्ता र जनताबीच ? गणितीय आधारमा बहुमतमै टेकेर आएका हिटलरलाई इतिहासले घृणाको पात्र बनायो । आउँदो पुस्ताले पढ्ने इतिहासमा आफू कस्तो पात्र बन्ने भन्ने निर्णय गर्ने अवसर पनि यही हो ।

प्रकाशित: १४ कार्तिक २०७३ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App