१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

क्रान्तिकारी माओवादीको अलमलमा

काठमाडौं- बहुमत केन्द्रीय सदस्य पुरानै पार्टीमा फर्केपछि केही नेताको पहलमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तीन दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ। करिब दुई सय केन्द्रीय पदाधिकारीमध्ये बहुमत सदस्य बाहिरिएका बेला उक्त पार्टीले आगामी कार्यदिशा कस्तो बनाउला भन्ने धेरैको चासो रहँदै आएको थियो।

लामो समयदेखि पार्टीले कुनै पनि नयाँ योजना ल्याउन नसकेको भन्दै ठूलो समूह पुरानै माओवादीमा फर्किए पनि क्रान्तिकारी माओवादीले खासै नयाँ योजना ल्याउन नसक्दा बचेखुचेका कार्यकर्तालाई पार्टीमै कसरी समेटिराख्ने भन्ने समस्या आइपरेको छ। अल्पमतमा परेको केन्द्रीय समितिलाई पूर्ण गर्न नसक्दा आगामी दिनमा क्रान्तिकारी माओवादीको भविष्य के हुने भन्ने अन्योल सिर्जना भएको कार्यकर्ता बताउँछन्। केन्द्रमा बहुमत सदस्य मात्र नभई कतिपय जिल्लाका पूरै कमिटी माओवादी केन्द्रमा विलय भएको अवस्थामा ठोस योजना बनाउन नसके क्रान्तिकारी माओवादीको अस्तित्व खतरामा पर्नसक्ने सम्भावना रहेको कार्यकर्ताको भनाइ छ। राष्ट्रिय भेलामा सहभागी हुन सल्यानबाट आएका लालबहादुर ओलीले भने, 'बहुमत केन्द्रीय सदस्य पुरानै दलमा फर्केपछि जिल्लाको अवस्था बिजोग छ। अधिकांश कार्यकर्ता पुरानै माओवादीमा फर्केका छन्।'

कम्युनिस्ट कार्यकर्ता विचारले मात्र नभई व्यवहारले पनि परिपक्व र इमान्दार हुनुपर्छ भन्ने ठान्ने वैद्यलगायत जनयुद्ध नेतृत्व गरेका अधिकांश नेता र इमान्दारीपूर्वक पार्टीको कार्यभार सम्हालेका कार्यकर्ताले भरिपूर्ण क्रान्तिकारी माओवादी रित्तिँदै गएपछि पार्टीको अस्तित्वमै संकट उत्पन्न भएको कतिपयले बताउन थालेका छन्। 'विचार र व्यवहारको दृष्टिकोणले क्रान्तिकारी माओवादी नेपालका हरेक कम्युनिस्टभन्दा अब्बल छ,' रुकुमका एक कार्यकर्ताले भने, 'तर नेता, कार्यकर्ता दिनप्रतिदिन पार्टी छाडेका छाड्यै छन्।'

वैद्य तिनै नेता हुन्, जसलाई दसवर्षे सशस्त्र आन्दोलनका प्रमुख अगुवामध्ये एक मानिन्छ। विगतको संकटपूर्ण अवस्थामा माओवादी पार्टीलाई महिनैपिच्छे उन्नति र प्रगति गराएका वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी आज किन महिनैपिच्छे खस्कँदै छ? यतिखेर धेरैजसो कार्यकर्ता यस्तै प्रश्नको जवाफ खोजिरहेका छन्। क्रान्तिकारी माओवादी यतिखेर यस्तो अवस्थामा पुगेको छ, जो न आगामी दिनमा के काम गर्ने भनेर ठ्याक्कै योजना बनाउन सक्छ न उक्त दलमा रहेका नेताहरूको विगतको संघर्ष नेपाली कम्युनिस्ट आन्दोलनले भुल्नसक्ने अवस्थामा छ।

अध्यक्ष  वैद्य, सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, रामसिंह श्रीष, हर्कबहादुर शाहीलगायत पुराना कम्युनिस्ट नेता अझै क्रान्तिकारी माओवादीमै रहेका कारण कतिपय कार्यकर्ता नयाँ विचार र कार्यदिशा आउने प्रतिक्षामा छन्। अध्यक्ष वैद्य भन्छन्, 'नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलाल पनि फौजी कार्यदिशाको पक्षमा थिए। हामी पनि फौजी कार्यदिशाकै पक्षमा छौं।' कार्यकर्ता भने वैद्यले भन्ने गरेको फौजी कार्यदिशा कार्यान्वयनमा आउला भन्ने ठान्दैनन्। खोटाङका माओवादी कार्यकर्ता विशाल राईले भने, 'नेतृत्व तह जनयुद्धकालमा जे बोल्थ्यो, अहिले पनि त्यही बोल्छ। व्यवहार भने फरक भइसक्यो।'

जानकारका अनुसार यतिखेर नेपालका अधिकांश कम्युनिस्ट पार्टीजस्तै क्रान्तिकारी माओवादीमा आएको रूपान्तर भनेको 'भनाइ र गराइ' नै हो। राई भन्छन्, 'पार्टीले फौजी कार्यदिशाको लाइन छाडेको देखिँदैन। व्यवहारमा भने फौजी कार्यदिशा अनुसार न गतिविधि भइरहेको छ न त्यसरी नै संगठन बनाइएको छ। पार्टीले लिएको फौजी कार्यदिशा कार्यान्वयन हुने हो भने कम्तीमा त्यस्तैखाले गतिविधि देखिनुपर्ने हो।'

अध्यक्ष वैद्य भने परिस्थिति अनुकूल नहुँदासम्म फौजी कार्यदिशालाई कार्यान्वयन गर्न नसकिने ठान्छन्। 'नेपालका कम्युनिस्टले लिएको फौजी कार्यदिशा २०५२ सालमा आएर मात्र कार्यान्वयन भयो,' वैद्यले भने, 'हाम्रो पार्टीले लिएको फौजी कार्यदिशा पनि कुनै दिन पक्कै कार्यान्वयनमा आउनेछ।'

कार्यकर्ताका अनुसार पछिल्लो समय क्रान्तिकारी माओवादीका नेता पार्टीलाई कसरी परिष्कृत र राम्रो बनाउनेभन्दा पनि माओवादी केन्द्रलाई गालीगलौज गर्नमा धेरै समय खर्चने गरेका छन्। क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलका अनुसार माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवादतिर मात्र नभई पश्चगामी दिशातिर अग्रसर भएकाले सच्चा कम्युनिस्टले केन्द्रबाट नयाँ कुरा आशा गर्नु बेकार हो। वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी अन्योलपूर्ण अवस्थामा झरेपछि त्यसको असर सिंगो कम्युनिस्ट आन्दोलनमा पर्न सक्ने कतिपय बताउँछन्। अध्यक्ष वैद्य पनि विगतमा सच्चा र इमान्दार व्यक्तिलाई आफूहरूले चिन्न नसक्नुले नेपालको कम्युनिष्ट आन्दोलनलाई धक्का लागेको बताउँछन्। खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेता मानेका कारण त्यसको असर कम्युनिस्ट आन्दोलनमा परेको क्रान्तिकारी माओवादीका नेताहरूको निचोड  छ। 'विगतमा सच्चा कम्युनिस्टबाट गल्ती भएको रहेछ भन्ने अहिले पुष्टि भएको छ,' वैद्यले भने, 'अब नेपाली कम्युनिस्ट आन्दोलनले कहिलै पनि यस्तो धोका बेहोर्न नपरोस् भनेर पाठ सिकाउनु आवश्यकता हुँदै गएको छ।'

क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेल यतिखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय गिरोह नै सच्चा कम्युनस्टिलाई धराशायी बनाउन क्रियाशील भएको आरोप लगाउँछन्। 'जसले गर्दा क्रान्तिकारी माओवादीको संगठनलाई त क्षति पुर्‍याए,' उनले भने, 'यस्तो संकट क्षणिक हो।' पार्टी चोइटिएपछि केन्द्रीय कमिटी विस्तार गर्न नसकेको उक्त पार्टीले वर्षातपछि मात्र केन्द्रीय कमिटीलाई पूर्णता दिने योजनामा छ। कतिपय व्यक्तिले केन्द्रमा ल्याउने व्यक्तिको अभावले क्रान्तिकारी माओवादीले केन्द्रीय कमिटी पूर्ण गर्न नसकेको बेला नेता कँडेल भने विगतमा धेरै नेता भएका कारण पार्टीमा समस्या भएकाले अहिले कम संख्यालाई नेतृत्वमा ल्याउने तयारी भएको हुँदा केही ढिलाइ भएको दावी गर्छन्। क्रान्तिकारी माओवादीका नेताका अनुसार अब बन्ने केन्द्रीय सदस्यको संख्याले दोहोरो अंक अर्थात ९९ बढी नाघ्ने छैन। यो वर्षात नसकिन्जेल पार्टीले प्रचारात्मक र सांगठनिकबाहेक अन्य कुनै कार्यक्रम घोषणा गर्न सकेको छैन।

प्रकाशित: १३ असार २०७३ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App