१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट अभावले पुल निर्माण अलपत्र

बाँकेको बैजापुरस्थित मोरङ्गा खोलामा निर्माण ठप्प भएको पुल। तस्बिर : नागरिक

नेपालगन्ज – बाँकेको राप्तीसोनारी–४ बैजापुरस्थित मोरङ्गा खोलाको निर्माणाधिन पुल विगत ८ महिनादेखी ठप्प छ। ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरू गरेको सपना मित्र संजिवनी गाल्वा जोभी नामक ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको सुरूवातदेखी काम रोकेको हो।

गत आर्थिक वर्षबाट निर्माण सुरु भएको पुल निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधि र स्थानीय बासिन्दाले जिल्ला प्रशासन, सडक डिभिजन लगायत विभिन्न निकाय धाइरहेका छन्। तरपनि, ठेकेदारले काम सरू गर्न अटेरी गरिरहेको छन्।

स्थानीय बासिन्दा एंव पूर्व सभासद पट्टु थारुले पुल निर्माणको काम ठप्प हुँदा तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसक्ने चिन्ता प्रकट गरे। ‘पोहोरसाल त ठेकेदारले ठिकै काम गरेका थिए, यसवर्ष त काम पुरै ठप्प छ, यो हिसाबले तोकिएको समयभित्र काम सकिनेमा शंका छ,’ उनले भने।

सरकारले एकातिर सबै स्थानीय तहलाई सडकसञ्जालसँग जोड्ने योजना अगाडि सारेको छ, अर्कोतिर भने समयमै बजेटको अख्तियारी नहँुनु, ठेक्का सम्झौता ढिलो हुँनु र सम्झौता भएपनि ठेकेदारले काममा ढिलासुस्ती गर्ने प्रवृति यथावत छ। मोरङ्गा खोलामा निर्माणाधिन पुल भने ठेकेदारको ढिलासुस्तीकै कारण अलपत्र परेको  हो। उक्त पुल बनेपछि जिल्लाको अगैया–बैजापुर हुँदै सदरमुकाम नेपालगन्जसम्म छोटो दुरीमै आवत–जावत गर्न सहज हुँने स्थानीय बासिन्दा बताउँछन्। खोलामा पुल नभएका कारण सडक भरपर्दो नभएको र बर्खायामको समयमा नेपालगन्जसँग सिधा सम्पर्क बिच्छेद हुँने गरेको स्थानीय बासिन्दा हुमाशंकर ओलीले बताए। पुल नहुँदा बर्खायाममा जोखिमपूर्ण रुपमा खोला तर्नुपर्ने बाध्यता समेत रहेको उनले सुनाए।

‘बाँके र बर्दियामा निर्माणाधिन झण्डै एक दर्जनबढी पुलको हालत उस्तै छ। बहुवर्षे योजना अन्तर्गत रहेका अधिकांश पुल निर्माणको कामलाई ठेकेदारले तोकिएको समयभित्र सम्पन्न गर्नेमा सडक डिभिजन कार्यालयका अधिकारी समेत ढुक्क छैनन्।’

पुल निर्माणको काम अगाडि बढाउन पहल गरिदिन स्थानीय बासिन्दासहित प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ ले दुई दिनअघि सडक डिभिजन कार्यालय, ठेकेदार कम्पनी लगायतको ध्यानाकर्षण गराईन्। त्यसक्रममा ठेकेदार नरहरी थपलियाले १५ दिनभित्र प्रत्यक्ष देखिने गरी काम गर्ने प्रतिवद्धता जनाए। सडक डिभिजन कार्यालयका कर्मचारीसामु उनले काम गर्न कुनै समस्या नभएको प्रतिक्रिया दिएपनि जनप्रतिनिधि र स्थानीयबासी समक्ष सडक कार्यालयबाटै असहयोग भएको गुनासो गर्छन्।

प्रदेश सभा सदस्य कृष्णाले पुल निर्माणको कामलाई अगाडि बढाउन ठेकेदारलाई सचेत गराईन्। ‘कुनै आर्थिक समस्या छ भने भन्नुप¥यो, त्यसका लागि हामी केन्द्रिय स्तरबाट पहल गर्छौ,’ उनले भनिन् ‘नत्र बिना कारण काम रोक्नु भएन, जनतालाई दुःख दिनु हुँदैन।’

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले पुल निर्माणको काम ठप्प भएको विषयमा केहीदिन अघि आपूmपनि जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारीलाई गराएको भन्दै अहिलेसम्म निर्माणको काम सुचारू नभएको बताए। ‘पुल निर्माणको काम ठप्प छ, थोरै महिनापछि बर्खाको भेल आएर बनेका संरचनालाई भत्काएर लैजाला भन्ने चिन्ता छ,’ उनले भने। समयमा ठेकेदारलाई सचेत गराउने र कामको अनुगमन गरी काम सुचारु गराउनुपर्ने उनको आग्रह छ।

बैजापुरको मोरङ्गा खोलामा निर्माणाधीन पुलको जस्तै बाँके र बर्दियामा निर्माणाधीन झण्डै एक दर्जनबढी पुलको हालत उस्तै छ। बहुवर्षे योजना अन्तर्गत रहेका अधिकांस पुल निर्माणको कामलाई ठेकेदारले तोकिएको समयभित्र सम्पन्न गर्नेमा सडक डिभिजन कार्यालयका अधिकारी समेत ढुक्क छैनन्। सडक डिभिजन कार्यालयले राजमार्ग र सहायक राजमार्गमा ‘३२० शिर्षक’ का रणनीतिक पुल तथा त्यसभन्दा बाहिर स्थानीय सडक पुल निर्माण गर्दै आएको छ। ठेकेदारको ढिलासुस्ती, बजेट अभाव लगायत विविध कारणले गर्दा अधिकांस पुल निर्माणको काम समयमा सम्पन्न गर्न कठिनाई भइरहेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले बताए। राजमार्ग र सहायक राजमार्गको भन्दा स्थानीय सडकका पुल निर्माण गर्न बजेट अभाव हुँने गरेको उनको भनाई छ। ‘कुनै पुल निर्माण गर्न बजेट अख्तियारीको समस्या छ, कतै ठेकेदारले नै समयमा काम नगरिदिँदा निर्माण कार्य रोकिएको अवस्था छ,’ बमले नागरिकसँग भने।

उनका अनुसार मोरङ्गा खोलासहित बाँकेको डुडुवा खोल र नरैनापुर गाउँपालिकामा ३–३, बर्दियाको अम्बासामा २, राजापुर, अस्नेरी खोला र किरण नालामा १–१ वटा पुल निर्माणाधिन अवस्थामा छन्, भने बर्दियाको राजापुरमै एउटा पुलको निर्माण कार्य अझै सुरु भएको छैन।

 

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App