१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दासता छिचोलेर उपसभामुख

तस्बिरः उपसभामुखको पदभार समालेपछि कृष्णी थारु ।

देवेन्द्र बस्नेत/शेरबहादुर केसी
दाङ - बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन ।  उपसभामुख चयन कार्यतालिका बमोजिम आइतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा भवनको पछिल्लो पंक्तिमा थिइन्– उपसभामुख पदकी उम्मेदवार कृष्णी थारु ।

संयुक्त वाम गठबन्धनकी साझा उम्मेदवार कृष्णीविरुद्ध कांग्रेसकी रिना विश्वकर्मा चुनावी प्रतिस्पर्धामा थिइन् । निर्वाचनपछि सभामुख पूर्ण घर्तीले परिणाम घोषा गरे, ‘बहुमत प्राप्त गर्दै कृष्णी थारु उपसभामुखमा निर्वाचित हुनुभएको छ ।’ बर्दिया राजापुरकी कृष्णीका लागि यो घोषणा निकै अपत्यारिलो बन्यो । वर्षौ कमलरी दासताले पिल्सिएकी उनका लागि यति ठूलो पदीय हैसियतको निर्णय अप्रत्यासित लाग्नु स्वाभाविकै थियो । ‘अपत्यारिलो जस्तो महसुस भयो,’ उनले भनिन्, ‘कहाँको मान्छे म कुन स्थानमा पुगें भनेर आफैं अचम्मित भएँ ।’ कृष्णी ६६ मत प्राप्त गर्दै उपसभामुख निर्वाचित भइन् भने प्रतिस्पर्धी कांग्रेसकी रिनाले १९ मत प्राप्त गरिन् ।

प्रदेशनम्बर ५ की नवनिर्वाचित उपसभामुख कृष्णीलाई आफ्नो यकिन उमेर थाहा छैन । उनले अकमकाएरै भनिन् ‘मेरो उमेर मेरा बाबुआमालाई पनि थाहा छैन, मलाई त झन थाहा हुने कुरै भएन, सानैदेखि साहुको दासतामा फसें, आफ्नै उमेरसमेत थाहा पाउन पनि सकिनँ ।’

उनलाई यतिमात्रै थाहा छ, ७ वर्षको कलिलो उमेरमै उनी कमलरी भइन् । यो उमेर पनि उनकै साहुमहाजनले तय गरिदिएको अरे ।  ‘त्यो बेला ७ वर्षकी थिएँ रे,’ उनले भनिन्, ‘तर कति साल हो ? अहिले ठ्याक्कै थाहा छैन, कति वर्षकी भएँ, बाबुआमालाई पनि थाहा छैन, म आफंैंलाई नि थाहा छैन ।’
७ वर्षदेखि सुरु भएको उनको दासता जीवनले ‘बैंस’ को अनुभूति कहिल्यै गर्न पाएन । बर्सेनि १ सय रुपैयाँ ज्यालामा उनको अविवाहित जीवन पूरै साहुको घरमा बित्यो ।

त्यो बेलाको निकै कष्टकर जीवन स्मरण गर्दै उनले भनिन्, ‘यहाँसम्मकी साहुका छोराछोरीले खाएर फालेको जुठो भात खाएर दिनरात कटाउनुपथ्र्यो ।’ विवाह नहुँदासम्म साहुको घरमा कमलरी दासता भोगेकी कृष्णीलाई विवाहपछि त यो दासताबाट मुक्ति मिल्ने ठूलो अपेक्षा थियो । अविवाहित अवस्थामाा साढे सात वर्ष कमलरी दासतामै बिताएकी कृष्णीका बाबुआमाले विवाह तय गरिदिए ।  तर, उनका लागि विवाहित जीवन पनि कमलरी दासताबाट मुक्त हुन सकेन । उनका अनुसार साहु र श्रीमानबीच कमैयाका लागि सम्झौता हुन्थ्यो ।

सम्झौताअनुसार श्रीमानको सट्टा कृष्णी कमलरी बस्नुपथ्र्यो । ‘हामी श्रीमानसँगको सम्झौताअनुसार कमलरी बस्नुपथ्र्यो,’ उनले भनिन् ‘काम हामी गथ्र्यौं तर श्रमको मूल्य श्रीमानको हात पथ्र्यो ।’ उनका अनुसार विवाहित कमलरीलाई ‘बक्रही’ भनिन्थ्यो ।

विवाहपछिको १३ वर्षसम्म पनि कृष्णीले दासताको जीवन बिताउनुपर्याे। २०५७ साउन २ गते कमैया मुक्त भएको घोषणा भयो । यो घोषणासँगै कमलरी दासताबाट उनले मुक्ति पाइन् ।  उनी आफ्नो मुक्तिमा मात्रै सीमित बनिनन् । यसलाई अभियानकै रुपमा ब्यापक बनाउने अभियानको नायकसमेत बनिन् । ‘यो घोषणापछि म यो अभियानलाई जिल्ला तहमा व्यापक बनाउनतिर लागें,’ उनले भनिन्, ‘हाम्रो टोलका १२ जना महिलाको समूह बनाएर मैले नेतृत्व लिएँ ।’ यो समूहलाई उनले कमैया तथा कमलरी मुक्तिका लागि जनचेतनामूलक अभियानमा सक्रिय बनाइन् ।

२०६० मा उनी मुक्त कमलरी समाज बर्दियाको उपाध्यक्ष भइन् । ‘मलाई झनै यो अभियानमा ऊर्जा मिल्यो,’ उनले भनिन्, ‘महिला सशक्तीकरण अभियानलाई जिल्लाव्यापी बनाउँदै लगें ।’ २०६२ मा उनी मुक्त कमैया समाजको केन्द्रीय सदस्य निर्वाचित भइन् । हरेक निर्णय पुरुषकेन्द्रित हुने परिपाटीले उनलाई समाजको कामकारबाही चित्त बुझेन । उनले महिलालाई पनि अधिकारसम्पन्न बनाउन भन्दै २०६४ मा महिला जागरण समाज नामक संगठन निर्माण गरिन्, जसको नेतृत्व आफैले गरिन् ।

‘कमैया मुक्ति समाजका हरेक निर्णय पुरुषकेन्द्रित हुन थाले,’ उनले भनिन्, ‘मलाई चित्त बुझेन अनि  महिलाहरुकै छुट्टै समूह निर्माण गरें ।’बर्दिया राजापुर नगरपालिका–४ की कृष्णीको गाउँको नाम संघर्ष नगर हो । यो नाम रहनुको पछाडि पनि उनकै पहिलो हात छ । उनकै नेतृत्वमा यो बस्तीका मुक्त कमैयाले सरकारी जमिन कब्जा गरेका थिए । त्यसैले यो गाउँलाई संघर्ष नगर नामाकरण गरिएको उनले बताइन् ।

कमलरी दासता हुँदै दासता अन्त्यका लागि नायिका बनेकी कृष्णीलाई यो अभियानका लागि राजनीति उत्तिकै अपरिहार्य महसुस हुँदै गयो । उनले २०६४ देखि एमाले राजनीतिमा आबद्ध भइन् । एमाले निकट अनेमसंघको जिल्ला सदस्य कृष्णी अहिले यही राजनीतिक सिंढीबाट माथि उक्लिइन्  र प्रदेशसभा उपभासमुख पदमा बहाल भइन् । ‘मेरा लागि यो धेरै गर्वको कुरा हो,’ उनले भनिन् ‘अझंै केही गर्ने उत्साह चुलिएको छ ।’

उनी निमुखाहरुको उत्थानमा जोड दिन्छिन् । ‘निमुखाहरुको उत्थान नै मेरो पहिलो मिसन हो,’ उनले भनिन्, ‘गरिब निमुखा भएर बाँच्नु पर्दाको पीडा कस्तो हुन्छ, त्यो म जस्तो भोगेकालाई मात्रै थाहा छ ।’ प्रदेश ५ को समृद्धि उनको अर्को अजेन्डा हो । ‘यो प्रदेशलाई कसरी समृद्ध बनाउने भन्ने चिन्तन मेरो हो,’ उनले भनिन् ‘यसका लागि मेरो हरसम्भव प्रयत्न र प्रयास रहनेछ ।’  
 

 

प्रकाशित: ७ फाल्गुन २०७४ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App