१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

काठमाडौं – भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

‘कृषि क्षेत्रमा केही गरौं भन्ने योजना बनाउँदैछु,’ धादिङ घर भइ हाल ललितपुर बस्दै आएका उनले नागरिकसँग भने, ‘प्रदर्शनीबारे सञ्चारमाध्यममार्फत थाहा पाएर आएको हुँ ।’ आफ्नो योजनालाई साकार पार्न प्रदर्शनीबाट धेरै जानकारी लिने अवसर पाएको उनले बताए । ‘गाउँमा परम्परादेखि नै कृषिमा संलग्न रहँदै आएको भए पनि व्यावसायिक कृषिको बारेमा धेरै जानकारी लिने अवसरको खोजीमा थिएँ,’ श्रेष्ठले भने, ‘आधुनिक कृषि प्रविधि, उपकरण, बिउविजन, मललगायत विषयमा जानकारी लिने राम्रो अवसर पाएँ ।’

शनिबार अपरान्ह मोडर्न एग्रो टेक्नोलोजीको स्टलमा पुग्दा कृषि बिउविजनको बारेमा जानकारी लिनेको संख्या उल्लेख्य थियो । नेपालगञ्जबाट प्रदर्शनीमा सहभागी मोडर्न एग्रोकी नमुना तामाङले मुला, गाँजर, भिँडी, मकै, धनियाँलगायतका बिऊबारे कृषकलाई जानकारी प्रदान गरिएको बताइन् । ‘बिक्रीका लागि भन्दा पनि कृषकलाई गुणस्तरीय बिउविजनको बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनीमा सहभागी भएका हौं,’ उनले भनिन्, ‘विशेषतः हामीले पाँचथरीका बिऊको बारेमा जानकारी दिइरहेका छौं ।

’ गत वर्षको तुलनामा सहभागी कम भए पनि कृषकसम्म जानकारी पुर्याउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । ‘कृषिसँग सम्बन्धित सहकारी, संघ संस्था, व्यवसायीलगायत धेरैको सहभागिता रहने भएकाले आफ्नो उत्पादनका बारेमा जानकारी दिने यो राम्रो अवसर हो,’ तामाङले भनिन्, ‘कृषिमा आधुनिकीकरण गर्न, जनतालाई हाइजेनिक वातावरणमा बनेको स्वच्छ खानेकुरा कसरी पुर्याउने भन्ने जानकारी दिन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको छ ।’सितल थोपा सिँचाइ प्रविधि उद्योगको स्टलमा उद्योगका कार्यकारी निर्देशक रोहित थापा थोपा सिँचाइ प्रविधिका बारेमा जानकारी दिन व्यस्त थिए ।

‘थोपा सिँचाइ प्रविधि र माइक्रो स्प्रिङ प्रविधि नेपालमै उत्पादन गर्ने हामी पहिलो उद्योग हो,’ उनले भने, ‘प्रदर्शनीमा हामीले यसको बारेमा कृषकलाई जानकारी दिइरहेका छौं, यसबाहेक मकै छोडाउने हाते मेसिन, ग्रिनहाउस स्ट्रक्चरलगायत प्रविधिको बारेमा जानकारी दिइरहेका छौं ।’ कृषकलाई नयाँ प्रविधिको बारेमा जानकारी दिन प्रदर्शनीमा सहभागी भएको उनले बताए । ‘अधिकांश त प्रविधिबारे जानकार नभएकाले हामीले यसबारे ज्ञान बाँड्ने अवसर पायौं । धेरैले बुकिङ पनि गरेर जानुभएको छ,’ उनले भने, ‘प्रदर्शनीमा सहभागी भएर अपेक्षा गरिएभन्दा राम्रो व्यावसाय प्रवद्र्धनमा सहयोग पुगेको छ ।’ नयाँ प्रविधिबारे धेरैले चासो देखाएको उनको भनाइ छ ।

इन्सेन्टिभ मल्टिपर्पोज एग्रिकल्चर मेभलप्मेन्ट कंपनी प्रालिको स्टलमा पनि जानकारी लिने र कृषि उत्पादन खरिद गर्नेको भिँड थियो । कम्पनीका बजार व्यवस्थापक दीपक सिल्पाकारले अर्गानिक मल, बायो फोर्टिलाइजरलगायतको प्रचारप्रसार र बिक्री वितरण गरिरहेको बताए । ‘नेपालमै पहिलोपटक हामीले बायो ब्याक्टेरियाबाट फोर्टिलाइजर बनाएका छौं । यही प्रदर्शनीबाट हामीले बिक्री सुरु गरेका छौं,’ उनले भने । कम्पोष्ट मलजस्तै तरिकाबाट बनाउने यो फोर्टिलाइजर युरिया, डिपिएलगायत रासयनिक मल विस्थापन गर्ने योजनाका साथ ल्याएको उनको भनाइ छ । ‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ ।

नमुना बिक्री पनि गरिरहेको छ,’ उनले भने, ‘नयाँ उत्पादन भएकाले प्रचारप्रसारमै हामीले जोड दिइरहेका छौं ।’ कृषि व्यवसायी, उत्पादक र कृषकका लागि यो प्रदर्शनी उपयोगी भएको उनले बताए । ‘सुरुमा उपकरणको मात्रै प्रदर्शनी होला भन्ने लागेको थियो,’ उनले भने, ‘प्रदर्शनीमा कृषिसँग सम्बन्धित सबै कुरा समेटिएको रहेछ । हामीले सोचेभन्दा बढी फाइदा पुगेको छ ।’

कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखेको एसकेटी नेपाल प्रालिका प्रबन्धक सुवास श्रेष्ठले पनि प्रदर्शनीमा सहभागीबाट राम्रो प्रतिक्रिया पाएको बताए । विशेषगरी खन्ने, जोत्ने, झार्नेलगायत २० प्रकारका सामग्री प्रदर्शनीमा राखिएको उनले बताए । ‘किसानहरु धेरै नै आकर्षित भएका छन्, धेरैजना आएर बुुझिराख्नुभएको छ,’ उनले भने, ‘कति किसानलाई कृषि उपकरण कहाँ पाइन्छ भन्ने नै थाहै हुँदैन, प्रदर्शनीले त्यस्ता किसान र हामी बिक्रेतालाई जोड्ने काम गरेको छ ।’ प्रदर्शनीमा सामग्रीको बारेमा जानकारी कसरी प्रयोग गर्ने भन्ने ज्ञान प्रदान गरिएको उनले बताए ।  

    गत बिहीबारबाट सुरु भएको प्रदर्शनी कृषिमा लाग्न चाहने, कृषि व्यवसायमा आवद्ध तथा कृषि सामग्री बिक्रेता कृषकका लागि आकर्षण बनेको छ । कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

दोस्रोपटक आयोजना गरिएको प्रदर्शनीमा नेपाल, चीन, भारत, मलेसिया, ताइवान, इटाली, इजरायल, बंगलादेश, जर्मनी, नेदरल्यान्डसलगायत देशका एक सय २० भन्दा बढी प्रदर्शनकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पशुपालन तथा पोल्ट्री उद्योग लगायतसँग सम्बन्धित विभिन्न प्रविधि प्रदर्शनीमा समेटिएको छ ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजार र मेसिन, कृषि, डेरी तथा पशुपंछीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको प्रदर्शनी र डेमोसमेत गरिरहेको मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले बताए । नेपालको कृषि क्षेत्रको यन्त्रीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

प्रदर्शनीकै अवसरमा कृषि गोष्ठीसमेत आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । फागुन ४ र ५ गते आयोजित गोष्ठीमा ‘समृद्धिको लागि बाख्रा’, ‘जलवायुमैत्री खेती’, ‘किसानको लागि प्रविधि’, ‘सम्पन्न किसान देशको मान’ लगायत शीर्षकमा छलफल गरिएको थियो । कृषि क्षेत्रको व्यावसायिक विकास तथा किसानहरुलाई नवीन प्रविधि र ज्ञानबारे जागरुक गराउन गोष्ठी उपयोगी भएको आयोजकको दाबी छ ।
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App