१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग हात मिलाउँदै अतुल गुप्ता। तस्बिर :एजेन्सी

जोहानेसबर्ग– दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग पारिवारिक व्यापार सम्बन्ध भएको एउटा घरमा विशिष्ट प्रहरी एकाईले छापा मारेको छ ।

राष्ट्रपति पदबाट राजीनामा गराउन दबाब दिने उद्देश्यसहित जुमाका नजिकका सहयोगीको घरमा प्रहरीले छापा मारेको बताइएको छ । भारतमा जन्मिएका धनाढ्य गुप्ता परिवारमा प्रहरीले गरेको छापाका क्रममा तीन जना प्रकाउ परेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । असंख्य राजनीतिक प्रभाव लिन उनीहरुले राष्ट्रपति जुमासँगको नजिकको सम्बन्धलाई दुरुपयोग गरेको आरोपमा छापा मारिएको प्रहरीले बताएको छ ।

यसैबीच राष्ट्रपति जुमालाई पदबाट राजीनामा दिनका लागि उनको दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)ले बुधबार साँझसम्ममा पदबाट राजीनामा दिन अल्टिमेटम दिएको बिबिसीले उल्लेख गरेको छ । सन् २०१९ मा हुने आम निर्वाचन अघि नै राष्ट्रपति पदबाट राजीनामा गर्न बाध्य बनाइनुको थुप्रै कारणमध्ये गुप्ता परिवारसँग रहेको उनको सम्बन्ध पनि एउटा कारण भएको बताइएको छ । गुप्ता परिवार र जुमा दुवैले गलत कार्य गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् ।

राष्ट्रपतिबाट राजीनामा दिनका लागि जुमालाई पछिल्ला केही साता निरन्तर दबाब बढिरहेको छ । अफ्रिकी नेसनल कंग्रेसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै पदबाट राजीनामा दिन गरेको आग्रहमाथि जुमाले बुधबार साँझसम्ममा प्रतिक्रिया जनाइसक्ने बताइएको छ ।

दक्षिण अफ्रिकाको सत्तारुढ दलभित्रको समस्या बढिरहेका बेला, एएनसीका प्रमुख ह्वीप ज्याकसन म्थेम्बुले बिहीबार राष्ट्रपति जुमाविरुद्धको अविश्वासको मत जाहेर हुने बताएका छन् । त्यसपछि संसद्ले पार्टी नेता सिरिल रामापोसालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गर्ने बताइएको छ । यदि प्रधानन्यायाधीश उपलब्ध भए भने उनको बिहीबार नै शपथ हुने पनि बताइएको छ । जुमालाई पदस्थापन गर्दै रामापोसा गत डिसेम्बर महिनामा एएनसी अध्यक्ष निर्वाचित भएका थिए ।
गुप्ताको घरमा किन छापा मारियो?
भ्रेद फार्म अनुसन्धानसँग सम्बन्धित रहेर गुप्ता परिवारको घरमा छापा मारिएको दक्षिण अफ्रिकी उच्च महत्वको अपराध युनिट ‘हक्स’ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले छापा मार्ने क्रममा तीन जनालाई पक्राउ गरेको र अन्य दुईले आत्मसमर्पण गर्ने अपेक्षा गरेको बताइएको छ । पक्राउ परेकामध्ये एक जना गुप्ता परिवारको रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।काला किसानलाई सहयोग गर्ने उद्देश्यसहित भे्रडे नजिकै स्थापना गरिएको एस्टिना डेरी फार्म परियोजनाबाट गुप्ता परिवारले लाखौं डलर हिनामिना गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा उनीहरुको घरमा प्रहरीले छापा मारेको बताइएको छ । गुप्ता परिवारले भने प्रहरीको उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

सन सिटीस्थित दक्षिण अफ्रिकाको उपमार्केट होलिडे रिसोर्टमा भएको गुप्ता परिवारको एउटा विवाहको खर्च तिरेर उक्त रकम खर्च गरिएको गत वर्ष सार्वजनिक भएका विभिन्न इमेलमा आरोप लगाइएको थियो ।
परियोजनासँग सम्बन्धित कागजात खोज्दै गत जनवरी महिनामा हक्सले फ्रि स्टेटका प्रधानमन्त्री एस मागासुलेको कार्यालयमा छापा मारेको थियो । मागासुले गत डिसेम्बरमा भएको सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) को महासचिवमा निर्वाचित भएका छन् ।
गुप्ता परिवार को हुन्?
गुप्ता परिवार दक्षिण अफ्रिकामा थुप्रै व्यापारमा संलग्न रहेको परिवार हो । उनीहरुले दक्षिण अफ्रिकामा कम्प्युटर, खानी, एयरलायन्स, ऊर्जा, प्रविधि र सञ्चारमाध्यमजस्ता विभिन्न व्यापारमा सञ्चालन गरिरहेका छन् । गुप्ता परिवारका तीन जना दाजुभाई अतुल, राजेश र अजय सन् १९९३ मा दक्षिण अफ्रिकामा अल्पसंख्य गोराको शासन अन्त्य हुने बित्तिकै भारतबाट त्यहाँ पुगेका थिए ।

उनीहरु राष्ट्रपति जुमा, उनका छोरा, छोरी र पारिवारिक कम्पनीका लागि काम गरिरहेकी उनकी एक श्रीमतीका नजिकका साथी हुन् । गुप्ता दाजुभाईमाथि दक्षिण अफ्रिकामा राजनीतिक प्रभावको दुरुपयोग गरेको कैयौं आरोप लागेको छ । कतिपय आलोचकहरुले त गुप्ता दाजुभाईले आफ्नो व्यापारिक स्वार्थका लागि राज्यलाई कब्जा गर्ने कोशिस गरिरहेको आरोप लगाउने गरेका छन् ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App