१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे राष्ट्रिय एकताको आह्वान

क्याप्सन : ‘स्टेट अफ द युनियन’ को प्रथम बैठकमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प । तस्बिर /रोयसर्ट

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नयाँ युगको सुरुवात  भएको भन्दै राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

सन् २०१६ जनवरी २० मा ह्वाइट हाउस सम्हालेपछि पहिलो पटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अमेरिकी जनतालाई आफ्ना मतभेद पन्छाएर एउटै परिवार जस्तो एकजुट हुन अपिल गरेका छन् ।मंगलबार भएको दुवै सदनको विशेष सम्बोधनका क्रममा उनले अमेरिकालाई फेरि महान् बनाउने विषयमा आफ्नो कार्यकालमा ह्वाइट हाउस अग्रसर रहेको बताए ।

‘स्टेट अफ द युनियन’ भनिने उक्त सम्बोधनमा उनले आफ्नो कार्यकालका आर्थिक उपलब्धीबारे पनि बोलेका छन् । अमेरिकी राजनीतिमा निकै महत्वपूर्ण मानिने यो सम्बोधन संसद्को तल्लो सदन ‘हाउस अफ रिपे्रजेन्टेटिभ्स्’मा भएको थियो जहाँ दुवै सदनका सदस्यहरू उपस्थित थिए । अमेरिकी राष्ट्रपतिलाई आफ्नो कार्यकालको पहिलो वर्षमा गरेका परिवर्तनहरूलाई आफ्ना उपलब्धिको रूपमा प्रस्तुत गर्ने अवसरको रूपमा यस्तो सम्बोधनलाई हेर्ने गरिन्छ ।

यसै सम्बोधनमार्फत् राष्ट्रपतिले आउँदो वर्षको कार्यसूचीको पनि मस्यौदा प्रस्तुत गर्न सक्छन् । सम्बोधनमा ट्रम्पले आफ्नो कार्यकालमा भएको कर कटौतीको विषयलाई उपलब्धी भन्दै त्यसले मध्यमवर्गका अमेरिकीलाई राहत दिएको बताए ।उनले सम्बोधनमा संसद्मा विचाराधीन आप्रवासनसम्बन्धी मुद्दामा रिपब्लिकन र डेमोक्र्याट्स दुवैसँग आफूले मिलेर काम गर्न चाहेको विषय पनि उल्लेख गरेका छन् ।

यसअघि एउटा टेलिभिजन प्रस्तोतासँग उनले अमेरिकालाई ‘जबर्जस्त विभाजन’बाट फिर्ता ल्याउन चाहेको बताएका थिए । कार्यकालको पहिलो वर्षमा आफूले मन र मस्तिष्क दुवैले शासन गर्नुपर्दो रहेछ भन्ने सिकेको उनले सम्बोधनका क्रममा बताए । बाराक ओबामा राष्ट्रपति रहँदा बन्द गरिएको ‘ग्वान्टानामो बे’ बन्दीगृहलाई कायमै राखिने पनि उनले बताएका छन् ।अमेरिकाको मात्रै होइन ट्रम्पको मंगलबारको सम्बोधनलाई विश्वका अन्य देशबाट पनि चासो व्यक्त गरिएको छ । अमेरिकाभरमात्रै उनको भाषण चार करोड मानिसले टेलिभिजन र अनलाइनमार्फत् हेरेको बताइएको छ ।

उत्तर कोरिया अझैपनि समस्या

सम्बोधन कै क्रममा फरक प्रसंग उठाउँदै उनले उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् ।‘उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढंगले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ,’     उनले बताए । उनले आफूले र लगभग विश्वले नै उत्तर कोरियाको शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि बताए ।राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाउन भ्याए ।


शरणार्थीका लागि समन्वय गर्न आग्रह

अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाएकाले त्यस विषयमा समन्वयात्मक रूपमा मिलेर अघि बढ्न पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका छन् ।  

 अमेरिकी अधिकारीले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका थिए । यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनेर परिभाषित गरिएका ती देशका नागरिकलाई अब अमेरिका प्रवेशमा रोक लगाइने छैन । ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम सार्वजनिक गरेको भोलिपल्टै राष्ट्रपति ट्रम्पले यस विषयमा काम गर्ने अमेरिकी अधिकारी र सबै पक्षलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् ।

आइएस पराजित नभएसम्म लडाइँ

अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आइएस) नामको आतंककारी समूहलाई पूर्ण रूपमा पराजित नगर्दासम्म उसविरुद्धको अमेरिकी लडाइँ जारी नै रहने सम्बोधनका क्रममा बताएका छन् ।‘गर्नुपर्ने काम अझै धेरै छ, हामीले आइएसविरुद्धमा लडाइँ जारी नै राख्ने छौं र यो लडाइँ उनीहरु पूर्ण रूपमा नहार्दासम्म जारी रहनेछ,’ उनले बताए । ‘उनीहरुलाई हामीले आवश्यक परेको स्थानमा खोज्ने छौं, लखेट्ने छौं र हराएरै छोड्ने छौं,’ राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा बताए ।
 

 

प्रकाशित: १८ माघ २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App