१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सन्दीप सपना

नेपाली राष्ट्रिय टोलीका १७ वर्षे किशोर लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित हुँदा मुलुकभरि उत्साह सञ्चारित भएको छ । खेल सफलताले जहिल्यै नेपालीलाई आशाको सन्देश दिँदै आएको छ । अन्य सबै क्षेत्रमा निराशाका काला बादल मडारिइरहेका बेला पनि युवा खेलालीले मुलुकवासीको मनमा आशा सञ्चार गर्दै आएको शृंखलामा सन्दीप धेरै नेपाली युवाका निम्ति सपनाका स्रोतसमेत बन्न पुगेका छन् । सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँको आधार मूल्यमा आइतबार खरिद गरेको थियो । विवाद र व्यक्तिगत स्वार्थको भुमरीमा जकडिएको नेपाली खेलकुदमा सन्दीपको अनुबन्धन आफैंमा गौरवको विषय हो । भारत विश्व क्रिकेटकै सबभन्दा बलियो शक्ति हो अनि आइपिएल भारतीय क्रिकेट महŒवाकांक्षाको चरम रुप । पछिल्ला वर्षहरुमा पैसाकै बलमा विश्व क्रिकेटकै सबभन्दा ठूलो व्यावसायिक प्रतियोगिताका रुपमा स्थापित आइपिएल संसारभरका चम्किला खेलाडीको सपनाको गन्तव्य पनि हो । आन्तरिक विवादका कारण देशको क्रिकेट अन्तर्राष्ट्रिय निलम्बनमा भएका बेला सन्दीपले यस्तो मौका पाउनुले नेपाली क्रिकेटभित्रको अपार सम्भावना प्रमाणित भएको छ । देशभित्र कुनै घरेलु संरचना नभएको अवस्थामा विश्वकै सबभन्दा ठूलो लिगमा ठुल्ठुला स्टारको बीचमा छानिनुमात्र पनि सन्दीपको सानो उपलब्धि होइन। 

दिल्लीले सन्दीपको क्षमतामाथि विश्वासको निर्णय लिन केही मिनेटमात्र समय खर्चियो तर नेपाली क्रिकेट प्रशासनका सरोकारवालाले देशभर छरिएर बसेका सयौं सन्दीपको भविष्य बनाउने निर्णय लिन वर्षौंदेखि सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर क्रिकेटबारे सोच्ने बानीले गर्दा यस्तो अवस्था आएको हो । पछिल्लो समय खेलाडीले व्यक्तिगत रुपमा हासिल गरेको उपलब्धिले नेपाली खेलकुदलाई विवादरहित बनाउने काममा सकारात्मक ऊर्जा प्रदान गर्न सकोस्।

दिल्लीसँग सन्दीपको आबद्धताले नेपालमा अरु पनि धेरै क्षमतावान् क्रिकेटर छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत्मा पुगेको छ । यसले नेपालका अरु क्रिकेटरलाई पनि विदेशी लिग खेल्न सम्भावनाको ढोका खोल्नेछ । अन्तर्राष्ट्रिय जगत्मा नेपाली क्रिकेट र खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेछ । सन्दीपलाई दिल्लीले अनुबन्ध गर्नेबित्तिकै अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क, इङल्यान्डका पूर्वकप्तान माइकल भोनलगायतले ट्विटरबाट बधाई दिँदा प्रयोग गरेका सम्मानजनक शब्दको पक्कै पनि ठूलो अर्थ छ । सन्दीपको करियर यहाँसम्म पु¥याउन धेरै सहयोग गरेका क्लार्कको प्रशंसालाई सामान्य मान्न सकिएला तर भोनले आइपिएलमा सन्दीपको अनुबन्धनलाई लिएर १० टोलीको विश्वकप गराउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को योजनाप्रति समेत व्यंग गरेका छन् । भारतमा कामदार निर्यात गर्ने छविलाई सन्दीपको अनुबन्धनले परिवर्तन गर्न ठूलो योगदान गर्नेछ । सन्दीप दिल्लीको टोलीमा अनुबन्ध भएको विषयलाई भारतीय सञ्चारमाध्यमले दिएको महŒवले पनि क्रिकेटको माध्यमबाट नेपालीले गौरव गर्ने वातावरण बनेको छ । समग्रमा यो वर्ष भारतीय टोलीहरुसँग अनुबन्ध हुने सन्दीप तेस्रो नेपाली खेलाडी हुन् । यसअघि फुटबलका दुई स्टार राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ र युवा स्ट्राइकर विमल घर्तीमगर पनि भारतीय आई लिगका क्लबमा अनुबन्ध भइसकेका छन् । अघिल्लो साता किरण आई लिगको शीर्ष टोली मिर्नेभा पन्जाबसँग अनुबन्धित भएका थिए भने विमल चौथो स्थानको मोहन बगानमा आबद्ध भए । फुटबलका रोहित चन्द केही महिनाअघिमात्र इन्डोनेसियाको पर्सिजा जाकार्तासँग दोस्रो कार्यकालका लागि सम्झौता गरेर खेलिरहेका छन्। 

खेलकुदलाई सधैं राष्ट्रिय गौरव, देशवासीको आत्मसम्मानजस्ता विषयसँग जोडिन्छ । खेलाडीलाई विश्वको जुनसुकै कुनामा पनि सम्मानपूर्वक हेरिन्छ । खेलकुदको कुनै भाषा र सीमा हुँदैन । फुटबल, क्रिकेट वा अन्य खेल, सबैको आफ्नै विश्वव्यापी भाषा र लय हुन्छ । त्यसैले जुनसुकै देशको खेलाडीले पनि अर्को देशमा गएर स्टार छवि बनाउन सक्छन् । खेलाडीको विदेशी क्लबमा अनुबन्धनले नेपालीको आत्मसम्मान वृद्धिमा पनि योगदान गर्नेछ । यही भएर प्रधानमन्त्री शेरबहादुर देउवादेखि साधारण नेपालीसम्मले यो खुसीमा आफूलाई सामेल गर्दै प्रतिक्रिया व्यक्त गरेका छन्। 

सन्दीपमाथि आइपिएल लिगको अक्सनमा मूल्य लागिरहँदा देशभित्र भने गत वर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) विवाद समाधानका लागि आएको आइसिसी टोली विभिन्न सरोकारवालासँग छलफलमा व्यस्त थियो । सोल्टी होटलको कोठामा आइसिसी पदाधिकारी र क्यान विवादका वादी–प्रतिवादीबीच चर्को बहस भइरहँदा सामाजिक सञ्जालका भित्ता सन्दीपको उपलब्धिमा रमाइरहेका थिए । दिल्लीले सन्दीपको क्षमतामाथि विश्वासको निर्णय लिन केही मिनेटमात्र समय खर्चियो तर नेपाली क्रिकेट प्रशासनका सरोकारवालाले देशभर छरिएर बसेका सयौं सन्दीपको भविष्य बनाउने निर्णय लिन वर्षौंदेखि सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर क्रिकेटबारे सोच्ने बानीले गर्दा यस्तो अवस्था आएको हो । पछिल्लो समय खेलाडीले व्यक्तिगत रुपमा हासिल गरेको उपलब्धिले नेपाली खेलकुदलाई विवादरहित बनाउने काममा सकारात्मक ऊर्जा प्रदान गर्न सकोस् । सन्दीपको अनुबन्धनले नेपाली क्रिकेटका सरोकारवालालाई विवाद मिलाउन सकारात्मक ऊर्जा प्रदान गरोस् । अर्को वर्ष आइपिएलको अक्सन हुँदा यसपालि जस्तो नेपालबाट एक्ला प्रतिनिधि नहुन् । बंगलादेश, पाकिस्तानलगायतका अन्य देशमा हुने यस्तै व्यावसायिक लिगका लागि पनि नेपाली खेलाडी आकर्षण बन्न सकून् । सन्दीपलाई प्राप्त भएको यो उचाइले हामी सबैको शिर उचो पारेको छ । बधाई सन्दीप ! तिम्रो सफलताले सगरमाथाको उचाइ चुमोस् ।

प्रकाशित: १६ माघ २०७४ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App