१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कांग्रेस हारको शल्यक्रिया

नेपाली कांग्रेस किन पराजित भयो ? यो प्रश्नको सान्दर्भिकता प्रतिदिन बढेर गएको छ । बितेका दुई सातायताका सबै सञ्चारमाध्यममा सोधिने प्रश्न र लेखिने टिप्पणीको विषय बनेको छ कांग्रेसको पराजय । कांग्रेसप्रति माया, विश्वास र आस्था भएर चासो भएको हो कि ? कांग्रेसप्रतिको सहज आकर्षणको विसर्जनका रूपमा यस्तो प्रश्न उठिरहेको हो, भन्न सकिँदैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले नेपाली कांग्रेसलाई गणितीय हिसावले अर्थहीन सिद्ध गरिदिएको छ । तर सिद्धान्त, मूल्य र मान्यताका आधारमा कांग्रेसको शक्ति क्षीण भएको देखिँदैन । प्रतिनिधिसभामा कांग्रेसको उपस्थिति सम्मानजनक रहे पनि त्यो अर्थपूर्ण छैन । सत्तरी वर्षको संघर्षपूर्ण जीवनमा कांग्रेस किन यति तल झ¥यो ? के अब कांग्रेसको भविष्यमा विराम लागेको हो ? नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्पित हुनेहरू र नेपाली कांग्रेसमा विश्वास गर्नेहरूले यी प्रश्नको उत्तर खोज्नैपर्ने भएको छ । यसका लागि पहिले पराजयका कारण खोज्नु जरुरी छ । केही बुँदागतरूपमा ती पराजयका कारण उल्लेख गर्नु उपयुक्त हुनेछ ।
१. साम्यवादी गठबन्धन ः नेपाली कांग्रेसले २०४६ यता अवलम्बन गरेको रणनीतिको प्रतिफल हो साम्यवादी शक्तिको विस्तार । संयुक्त जनआन्दोलन २०४६ र २०६२ मा नेपाली कांग्रेसले राजसंस्थाविरुद्ध साम्यवादी शक्तिलाई उपयोग ग¥यो जसरी विगतमा राजदरवारले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसविरुद्ध साम्यवादीलाई उपयोग गरेको थियो । दोहोरो उपयोगको रणनीतिका कारण साम्यवादी शक्ति बलियो हुन पुगेको अवस्थामा विभिन्न घटकमा छरिएर रहेका साम्यवादी दलहरू एकाठाउँ उभिनासाथ शक्ति निर्माण भयो । एमाले र माओवादी केन्द्र जस्ता शक्तिको छायाँमा शीतल ताप्न अरु साना दलसहित लोकतन्त्रमा विश्वास गर्नेहरूले चलाएका साना पसल पनि मिसिन पुगे । चुरे भावर र परिवार दल यसका उदाहरण हुन् ।
२. लोकतान्त्रिक गठबन्धन हावामा परिणत हुनु ः साम्यवादी गठबन्धन हुनासाथ त्यसको प्रतिक्रियामा लोकतान्त्रिक गठबन्धन गर्ने घोषणा गरिए पनि त्यो हावाको महल सिद्ध भयो । राप्रपाका दुई घटकसँग केही स्थानमा र नयाँ शक्तिसँग दुई स्थानमा बाहेक पार्टीगत गठबन्धन भएन । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग तालमेल नभए पनि केही स्थानमा कांग्रेसले उधारोमा ती पार्टीका मुखियालाई सहयोग गर्ने काम ग¥यो । जसको गुन कांग्रेसका प्रभावशाली नेताहरूलाई हराएर उनीहरूले तिरे । यसै पनि राप्रपासँग नेपाली कांग्रेसको तालमेल अप्राकृतिक थियो । राजसंस्था उन्मूलन गरी धर्म निरपेक्षता र संघीयतामा गएको नेपाली कांग्रेसले राजा फर्काउने, धर्मसापेक्ष देश बनाउने र संघीयता अस्वीकार गर्ने दलसँग चुनावी तालमेल गर्नु प्राकृतिक थिएन । कांग्रेस आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिमा स्पष्ट हुन सकेको छैन । उसको कुन बाटो हो भनेर सबै कांग्रेस नेताको समान स्वर देखिँदैन । नेताहरूको फरक दृष्टिकोणले कांग्रेसका कार्यकर्ता अलमलमा परेका छन् भने आमनागरिक रनभुल्ल छन् ।
३. भ्रमको सगरमाथा ढाल्न नसक्नु ः विदेशी दबाबलाई खरो उत्तर दिने सुशील कोइरालाको योगदानकोे कतै चर्चा भएन । सुशील कोइरालाको अडानका कारण अहिलेको संविधान जारी भएको हो । तर सुशील कोइरालाको अडानबाट उत्पन्न नाकाबन्दीको समस्या हल गर्न नसकी आमनेपाली जनतालाई त्राहीमाम गराउनेहरूले निर्माण गरेको राष्ट्रवादी भ्रमको सगरमाथा कांग्रेसले ढाल्न सकेन । उल्टै नेपाली जनता नाकाबन्दीको सामना गरेको भन्ने भ्रमको सिकार हुन पुग्यो ।
४. कांग्रेस नेतृत्वका केही अपरिपक्व काम ः संविधान जारी भएपछि तत्काल बनेको एमाले नेतृत्वको सरकारमा सामेल हुनुभन्दा सवल प्रतिपक्षको नारा दियो कांग्रेसले । यो नारा आफ्नै विगतका कामअनुसार सही थिएन । आफ्नो नेतृत्व रहेसम्म सवल प्रतिपक्ष चाहिएन, एमालेको नेतृत्वमा सरकार हुनासाथ सवल प्रतिपक्ष चाहियो भन्नु गलत थियो । यस निर्णयका कारण नेपाली कांग्रेसले लामो समयसम्म त्यसको मूल्य चुकाउनैपर्ने भएको छ । एमाले नेतृत्वलाई विस्थापित गरी माओवादीको र पछि आफ्नो नेतृत्वमा सरकार निर्माण गर्नु पनि रणनीतिक गल्ती थियो । त्यसमा पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव, आइजिपी प्रकरण र राजदूत नियुक्ति प्रकरणले कांग्रेस नेतृत्वको साख गिराउने काम गर्न पुग्यो । यस्ता अपकीर्तिका कामका कारण सबैलाई संविधानको दायरामा ल्याएको, फास्ट ट्रयाक र बूढीगण्डकी जलविद्युत् आयोजना आफ्नै साधनस्रोतले बनाउनेसहित स्वास्थ्य बिमा जस्ता नेपाली कांग्रेसले गरेका असल कार्यक्रमसमेत ओझेलमा परे ।
५. उमेदवारी चयन ः तालमेल गरेकोे साम्यवादी शक्तिको अवस्थालाई आँखा चिम्लेर उम्मेदवारी चयन कांग्रेसले ग¥यो । २० प्रतिशतका हाराहारीमा नाता कुटुम्व, परिवार र आफ्ना खासलाई उम्मेदवार बनाउने काममात्र होइन, स्थानीय निर्वाचन क्षेत्रमा सर्वाधिक अलोकप्रियलाई समेत कांग्रेसले उम्मेदवार बनायो । राजधानीमा निरन्तर बस्ने, आममतदातासँग लामो समयदेखि टाढा रहेकाले विरलै निर्वाचनमा विजय हासिल गर्छन् । कांग्रेसका धेरै नेता÷कार्यकर्ता जनमुखी हुन सकेका छैनन् ।
केही स्थानमा बूढाहरूको महŒवाकांक्षाको सिकार युवा पुस्ता र कांग्रेस हुन पुग्यो । एउटै परिवारबाट तीन जनासम्मको उम्मेदवारी देखियो जसले जनतालाई पारिवारिक विर्ता बनाउन खोजेको अनुभव मतदाताले गर्न पुगे । केही खास परिवारबाहेक अरुको अर्थ कांग्रेसमा हुनुहँुदैन र जनतालाई विर्ता र वपौती ठान्ने काम गर्नु उचित हुन्छ ? जनता र कार्यकर्ता कसैका कमरा होइनन् । दुःख गर्ने कार्यकर्ता, समर्थ कार्यकर्ता धेरैले न्याय नपाएको पीडा पोखिरहेका छन् । नेपाली कांग्रेसले विजय प्राप्त गर्ने करिब बीस प्रतिशत स्थानमा तिनको असर पराजयमा परेको देखिन्छ । त्यसमा पनि प्रतिपक्षको चुनावी खर्चसँग धेरै स्थानमा कांग्रेस उम्मेदवारले प्रतिस्पर्धा गर्न सकेनन् । प्रतिस्पर्धा गर्न सक्नेले पनि आफ्ना पार्टीका उम्मेदवारलाई सहयोग गरेको देखिएन । कांग्रेस पराजयको एउटा कारण यो पनि हुन पुग्यो ।
६. साम्यवादी आक्रामक, कांग्रेस प्रतिरक्षात्मक ः नेपाली कांग्रेसको कुशल प्रचार रणनीति थिएन । आन्तरिक व्यवस्थापनको अराजक चरित्रका कारण प्रचारमा उत्सुक विशेषज्ञहरूसमेत निष्क्रिय हुन पुगे । संगठनमा आबद्धहरूमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भावना थिएन, उनीहरूमा कुनै जाँगर थिएन । शेरबहादुर देउवाबाहेक अरु कसैले पनि अर्को क्षेत्रमा अत्यन्त न्यून मात्रामा प्रचारमा गएको देखियो । प्रचारका लागि नेपाली कांग्रेससँग साम्यवादी आए भने निरंकुशता वा अधिनायकत्व आउँछ भन्नेबाहेक बलियो नारा थिएन । यसका विपरित साम्यवादीले स्थायित्व, समृद्धि र विकासको नारालाई भरपर्दोरूपमा उठाए । यद्यपि नेपाली कांग्रेससँग पनि यी नारा नभएका होइनन् । नाकाबन्दीमा राखेको कथित अडानलाई नेपाली जनतामाझ अनुवाद गर्ने काम विपक्षले गरेको थियो । नेपाली कांग्रेस यसमा आक्रामक हुन सकेन । ओलीको छिचरो शैली चस्स घोच्ने हुन पुग्यो र जनतालाई आकर्षित गर्न सफल भयो ।
७. असफल भारतीय नीति र सफल चिनिया रणनीति ः २०७२ असोजपछि भारतले जसरी मधेसका केही नेता उकासेर नेपालमा नाकाबन्दी लगाउने काम ग¥यो त्यसको परिणाम नेपालमा साम्यवादीले राष्ट्रवादी नारा उराल्ने अवसर पाए । पहाडी क्षेत्रमा नेपाली कांग्रेसको पूरै पत्तासाफ हुनुमा पहिलो कारण यही नै हो । अर्कातिर चीनले नेपालसम्म रेल मार्ग निर्माण गर्ने र ओविआरसहितको अवधारणा सार्वजनिक यसै अवसरमा गर्न पुग्यो । जसका कारण नेपाली जनतामा एकप्रकारको विश्वास जाग्यो । पश्चिमाहरूको रणनीति पनि नेपालमा साम्यवादीका पक्षमा देखिएको छ । खासगरी धर्मको विषयसहित अन्य विभिन्नखाले स्वार्थ जोडिएको देखिन्छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय मित्रशक्ति देखिँदैन । भारतका समाजवादी विलाए । भारतीय जनता पार्टीसँग कुरा मिल्दैन, कांग्रेस आइसँग सम्बन्ध छैन । भारतका क्षेत्रीय दल पनि कांग्रेसका मित्र छैनन् । सोसलिस्ट इन्टरनेसलको अवस्था दयनीय छ । अमेरिकाको डेमोक्रेट होस् वा रिपब्लिकन कांग्रेससँग छैनन् । चीनको कम्युनिस्ट पार्टी त औपचारिक मित्रमात्र हो । खोइ त कांग्रेसको मित्रशक्ति ? कांग्रेसको कूटनीतिमा देखिएको यो दुर्दशा हो । कांग्रेस न हिमालको भयो न पहाडको, न मधेसको भयो किन ? यो प्रश्नलाई अन्तर्राष्ट्रिय सम्बन्धहरूसंँग जोडेर हेर्नुपर्ने हुन्छ ।
८. अराजक संगठन र अन्तर्घात ः कांग्रेसको महारोग भएको छ अन्तर्घात । २०४८ मा कृष्णप्रसाद भट्टराई हराउन प्रयोग भएको यो महारोग अहिले सम्पूर्ण जिल्ला र गाउँमा फैलिएको छ । कांग्रेसका करिब २० प्रतिशत उम्मेदवार अन्तर्घातको सिकार भएका छन् । केही गलत व्यक्तिलाई सही ठाउँमा र केही सही व्यक्तिलाई गलत स्थानमा उम्मेदवार बनाउँदासमेत कांग्रेसले पराजय भोग्नुपरेको देखिन्छ । गृहकार्यबिनाको उम्मेदवारी घातक भएको छ । पार्टी संगठन कुनै पनि जिल्लामा चुस्त छैन । चुनाव परिचालन निर्दलीय पञ्चायतकालीन जस्तो व्यक्तिगत थियो । गुट÷उपगुट कांग्रेसमा यतिविधि छ कि धेरैजसो उम्मेदवारको त आफ्नै पार्टीका साथीलाई आश्वस्त गराउँदैमा दिन बिते । प्रशिक्षण र अनुशासन अभाव, आफ्ना विचार र कार्य सगौरव प्रस्तुत गर्ने कला र ज्ञान अभाव एकातिर कांग्रेसमा देखियो भने अधिकांश कार्यकर्ताको निजी आचरण भद्दा देखिन पुग्यो । जनताले नेतालाई हेरेर मत दिँदैन, स्थानीय कार्यकर्ताको आचरणका आधारमा समर्थन वा विरोध गर्छ ।
नेपाली कांग्रेस पराजयका यी केही महŒवपूर्ण कारण हुन् । देशभरबाट प्राप्त केही सूचना र जानकारीका आधारमा संक्षिप्तमा बुँदा टिपोट भएका छन् । यसविपरित अवस्थामा समेत जसजसले विजय प्राप्त गरे, त्यसमा नेपाली कांग्रेसले गर्वका साथ आगामी दिनको रणनीति तय गर्नु उचित हुनेछ ।

प्रकाशित: १२ पुस २०७४ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App