१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दशक पछि संखुवासभा 'लालकिल्ला'

संखुवासभा–संखुवासभाको मतगणना सोमबार साँझ सम्पन्न भएको छ। १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको संखुवासभामा बाम गठबन्धनका उम्मेदवारहरुले विजय हाँसिल गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका दुई वटै निर्वाचन क्षेत्र बाम गठबन्धनका उम्मेदवारहरुले जीते पछि दशक पछि संखुवासभा पुन: लालकिल्ला स्थापित भएको छ।

                २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ मा नेकपा माओवादीका पूर्णप्रसाद राईले जितेका थिए भने क्षेत्र नं. २ मा एमालेका डम्बर खड्का विजयी भएका थिए । यसअघि २०५६ सालमा नेपाली कांगेसले जित हात पारेपछि त्यसयता संखुवासभा निरन्तर लालकिल्लाका रुपमा स्थापित थियो। तर ०७० सालमा लामो समय पछि लालकिल्ला तोड्दै दुवै क्षेत्र नेपाली कांग्रेसको किल्ला कायम भएको थियो।

सोमबार सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा तर्फ १ हजार १ सय ३० मतले नेपाली कांग्रेसका दिपक खड्कालाई पछि पार्दै एमालेका राजेन्द्र प्रसाद गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएर विजयी भएका हुन्। खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए।

खड्का पूर्व सांसद हुन्। गत ०७० को निर्वाचनमा क्षेत्र नं. २ बाट गौतम र खड्काको प्रतिस्पर्धा भएको थियो। यता प्रदेशसभा क अन्तर्गत पनि पूर्व सांसद द्वय टंकप्रसाद राई र पूर्ण प्रसाद राईबीच प्रतिस्पर्धा भएको थियो। टंकप्रसाद ०५६ सालको सांसद हुन् भने पूर्णप्रसाद ०६४ सालका सांसद हुन् । पूर्णप्रसाद २ हजार ४५ मतअन्तरले विजयी भएका हुन् । उनले १६ हजार ६ सय ७७ मत ल्याएका थिए भने टंकप्रसादले १४ हजार ६ सय ३२ मत ल्याएर पराजित भोगेका हुन्।

                 यस्तै प्रदेशसभा ख मा नेपाली कांग्रेसका दिपक लिम्बुलाई १ हजार ३ सय ७४ मत अन्तरका साथ एमालेका तुलसीप्रसाद न्यौपानेले जित हात पारेका छन् । लिम्बुले १६ हजार १ सय ४० मत ल्याएर हार व्यहोरेका हुन् भने न्यौपानेले १७ हजार ५ सय १४ मत प्राप्त गरेसंगै जीत सुनिश्चित गरे।

                पहिलो चरण अन्तर्गत भएको संखुवासभाको निर्वाचनमा १० वटा दलका २७ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भएको थियो । १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा १ लाख ५ हजार ८५ मतदाता मध्ये ६९ हजार २ सय ४६ मतदाताले मतदान गरेका थिए।

                समानुपातिक तर्फको मतगणना मंगलबार बिहान १० बजेबाट सुरु गरिने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७४ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App