९ पुस २०८१ मंगलबार
image/svg+xml ८:२७ पूर्वाह्न
अन्य

गरिबीमा हुर्केका च्याप्लिन

चार्ली च्याप्लिन हास्यव्यंग्य क्षेत्रमा प्रख्यात नाम हो । मानिसलाई हँसाएरै उनी संसारभर उत्कृष्ट अभिनेताका रूपमा परिचित छन् । धेरै मानिसलाई हँसाएर खुसी पार्ने उनै चार्ली च्याप्लिनको जीवन भने दुःखैदुःख र हण्डर खाएरै बितेको थियो । लन्डनका गल्ली–गल्लीमा सडक जीवन बिताएका उनको कथा निकै संघर्षले भरिएको छ । अरूलाई नबोलीकन हँसाउने उनको जीवन दुःखदायी थियो । चार्ली च्याप्लिन १८८९ अप्रिल १६ मा लन्डनमा जन्मिएका थिए । उनका बुबाआमा दुवै स्टेजका कलाकार थिए । उनीहरू स्टेजमा गीत गाएरै पेट पाल्ने जोहो गर्थे । च्याप्लिनको परिवार निकै गरिब थियो । बुबा अम्मली थिए । सधैं रक्सी पिएर घरमा खैलाबैला मच्चाउँथे तर यो धेरै समय टिकेन । च्याप्लिन कलिलै छँदा ३७ वर्षको उमेरमा उनका बुवाले यो संसार छाडे । च्याप्लिनलाई हुर्काउन आमा अन्नाले लन्डनमा निकै संघर्ष गरिन् ।
बुबा सानैमा बितेकाले आमाले गरिबीसँग पौंठेजोरी खेल्दै बालक च्याप्लिनलाई हुर्काइन् । गरिबीकै कारण अन्ना पुराना लुगाफाटो बेच्ने र त्यसबाटै आएको पैसाले गुजारा चलाउने गर्थिन् । च्याप्लिन १४ वर्षको हुँदा आमा मानसिक रोगी भइन् । उनलाई पागलपनले पिरोल्न थाल्यो । उनी पटक–पटक पागलखाना गइन् । च्याप्लिनलाई भने अनाथालयमा छोडियो । उनलाई पढ्ने व्यवस्था गरिएको थियो । दुई वर्षबाहेक उनले पढ्न सकेनन् । केही समयपछि आमा छुटेपछि उनलाई सँगै घरमा लगियो ।
सन् १८९८ मा उनले स्कुल छाडे । एक नृत्य सिकाउने ठाउँमा भर्ना भए । कामको खोजीमा रहेका उनले हातमा आउने जुनसुकै काम गर्न थाले । पेट भर्न मुस्किल परेपछि उनले सडकमा बसेर आफ्नै लुगाफाटा बेचे । उनका पुराना लुगाहरू कसले किन्थ्यो र ! त्यसपछि झनै बिजोग हुन थाल्यो । केही नलागेपछि उनले खेलौनाहरू बनाएर बेच्न थाले ।
उनले पाँच वर्षको उमेरदेखि नै स्टेजमा अभिनय देखाउन थालेका थिए । एक दिन प्रस्तुति दिइरहेको समयमा उनकी आमाको स्वर बिग्रियो । सबै जना प्रस्तुति छोडेर धमाधम फर्कन थाले । आमा रुँदैरुँदै नेपथ्यमा आइन् । बालक च्याप्लिन तोतेबोलीमा अर्केस्ट्रा गाउन थाले । उनको स्वरलाई धेरैले मन पराए । गाएबापत धेरैले पैसा दिए । यसपछि उनले स्टेजमा अभिनय पनि गर्न थाले । रोकिएको पढाइ फेरि सुरु गरे, उनले । डेढ वर्षजति नियमित स्कुल गए, तर त्यसले निरन्तरता भने पाएन ।
प्रस्तुति : क्रान्ति पाण्डे

प्रकाशित: १० श्रावण २०७४ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App