२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कौडीको भाउमा चैते धान

झापा- असार १५ को मौका छोपेर ‘हिले मनोरञ्जन’ गर्न किसानले हिल्याएको खेतमा  दलका नेता कार्यकर्तादेखि प्रशासकसम्मको ताँती लाग्यो। हिलोमा रमाउँदै फोटो सेसन गर्ने तथा दही–चिउरा खाएका चित्र सामाजिक सञ्जालमा पोस्टिने क्रम जारी छ।
तर, तिनै किसानको एउटा पीडादायी समस्याबारे चाहिँ कोही चुइँक्क बोल्दैनन्। उनीहरुको उत्पादनले बजारमा कौडीको भाउ पनि नपाएको तितो प्रसंगले कसैलाई छोएको छैन। अरु त अरु विभिन्न दलका किसान संगठन र तिनका नेतासमेत यसबारे सधैं बेखबर रहन्छन्। किसान आफैं कतै संगठित छैनन्, छन् त राजनीतिक दलमा । दलका किसान संगठन आफूलाई पर्दा कहिले अघि नसर्ने किसान नै बताउँछन्।
झापाका धेरै किसानले चैते धान उत्पादन गरेका छन् । असार पहिलो सातादेखि नै किसानलाई चैते धान थन्क्याउने र बजार पुर्याउने चटारो छ । तर, बजारमा धानको भाउ चाहिँ कहालीलाग्दो गरी घटेको छ । ‘चैते धान बर्खे खेतीपातीसँगै खर्चबर्च जोहो गर्ने माध्यम हो,’ झापा धरमपुर ३ का किसान मानबहादुर राईले भने, ‘भाउ सुनेपछि धान घरमै थन्क्याएर राखुँ जस्तो भएको छ ।’ आम्दानीको नाममा खेतीपातीबाहेक अरु केही नभएका किसानले चैते धान बेचेर बर्खे धान रोप्ने खर्च जुटाउँछन् । खनजोत गर्ने, रोप्ने, गोड्ने लगायत काममा अहिले खर्च पनि बढेको छ । खर्च बढेको बढ्यै गर्ने धानको दाम चाहिँ घटेको घट्यै हुने समस्याले किसान मारमा छन् । यो नयाँ होइन, बर्सेनि दोहोरिने समस्या हो ।
उनका अनुसार भर्खरै उत्पादित चैते धानको मूल्य प्रतिमन ५ सयदेखि ७ सय रुपैयाँ मात्रै छ । धानको उच्चतम मूल्यले समेत खेतीको लागत खर्च नधान्ने अवस्था छ । ‘सबै हिसाब गर्दा हामीलाई एक मन धान फलाउन कम्तीमा एक हजार रुपैयाँ लगानी भएको हुन्छ,’ राईले भने, ‘अनि बेच्ने बेलामा चाहिँ मनको सात सय रे । त्यो पनि व्यापारीले काँचो भो भनेर साढे पाँच सयमात्रै दाम कबोल्ने गरेका छन् ।’ धानको काँटा राखेर बसेका व्यापारीले हेरेर र छामेर धानको मूल्य तोक्ने गरेका छन् ।
किसानका अनुसार झरीका बीच थन्क्याइएको धान बर्खामा पूरै सुक्खा बनाउन समस्या पर्छ । तर, व्यापारी सुक्खा धान ल्याए सात सयसम्म दाम हाल्ने तथा काँचो धान ल्याए पाँच सयदेखि नदिने बताउँछन् । धान व्यापारीको सिन्डिकेट चलेको बजारमा किसानसँग अर्को उपाय हुँदैन । ‘अहिले झापाका कम्तीमा २० ठाउँमा बुझ्दा चैते धानको भाउ एउटै पाइयो,’ निन्दा कृषि सहकारी मेचीनगरका अध्यक्ष प्रकाश खड्का भन्छन्, ‘चैते धान रोप्ने किसानलाई पुरस्कृत गर्छु भन्ने सरकार बजारमा चलेको यो अन्याय टुलुटुलु हेरेर बसेको छ ।’ उनका अनुसार सहकारीमा आवद्ध दर्जनौं किसानले भर्खरै प्रतिमन पाँच सयसम्ममा चैते धान बेचेका छन् । जुन लागत मूल्यभन्दा दोब्बर कम्ती हो ।
बजार मूल्य कहिल्यै नहुने कारण चैते धानको खेती झापामा घट्दै गएको छ । मनग्ये उत्पादन हुने धान खेत बाँझै राखेर बसने किसान पनि छन् । जिल्ला कृषि विकास कार्यालयले चैते धानको खेती गत वर्षको तुलनामा यो वर्ष घटेको जनाएको छ ।  गत वर्ष १९ हजार ८ सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो । कार्यालयका प्राविधिक शालिकराम भट्टराईका अनुसार यस वर्ष हजार हेक्टर क्षेत्रफल घटेको अनुमान छ । उनका अनुसार राम्रो भाउ नपाउँदा लागत नउठ्ने समस्याले किसानले खेत बाँझै छाडेका हुन् ।
सरकारले बृहत्तर धान उत्पादन कार्यक्रम झापाको एक नगरपालिका र एक गाविसमा लागू गरे पनि अपेक्षा अनुसारको प्रभाव नपरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार किसानले उचित र समयानुकूल मूल्य नपाएका कारण चैते धानको खेती विस्तारै घट्दै गएको हो । कन्काई नहर जल उपभोक्ता समितिका सचिव कमल भण्डारीका अनुसार किसानका आँखामा हिलो छ्याप्ने खालका कार्यक्रम किसानका लागि कागलाई बेल पाकेसरह भएको छ । ‘सरकारले प्रतिहेक्टर ५ हजार नगद अनुदान दिएको छ,’ भण्डारीले भने, ‘तर, सरकारले तोकेको मापदण्ड पूरा गरेमात्र उक्त अनुदान पाइने रहेछ।’  सरकारले चैते धान रोप्दा हार मिलाएर रोपेको छ छैन, उत्पादन दर कति छ भन्ने लगायत मापदण्ड हेरेर मात्रै प्रोत्साहन रकम दिन्छ । यसरी धान रोप्ने किसान झापामा छैनन् । कसैले त्यसमा दाबी गरेको पनि छैन । बजारमा मलखाद, ऊर्जा, पानी, श्रमिक र जग्गाको कर बढेको बढ्यै छ तर किसानले फलाएको धानको मूल्य स्थिर हुँदा किसान बिरक्तिएका हुन् ।
जिल्लाका गौरादह र शिवसताक्षी नगरसहित पाँचगाछी, महाभारा, बैगुनधुरा, कोरोबारी, लखनपुर, धरमपुरलगायत क्षेत्रमा राम्रो उत्पादन हुने चैते धानको खेती  यसपटक छैन । बजार मूल्य नपाएका कारण यो वर्ष यी क्षेत्रका अधिकांंश किसानले चैते धान रोपेनन् । गत वर्ष चैते धान रोपेका किसानले प्रतिमन ४ सय रुपैयाँ मात्र बजार मूल्य पाएका थिए । एक बिघा क्षेत्रमा ८० मन धान उत्पादन हुने गरेको छ । तर, चैते धान लगाउँदादेखि निकाल्दासम्मको खर्च करिब ४० हजार रुपैयाँसम्म हुन्छ । पाँचगाछीका किसान केशर ओझा भन्छन्, ‘लगानी ४० हजार, उत्पादन ३२ हजार यस्तो खेती गर्नुभन्दा बाँझै छोड्दा किसानको लगानी त डुब्दैन ।’

किन घट्छ धानको मूल्य ?
चैते होस् या हिउँदे किसानले सधैं धानको मूल्यमा ठगिनुपरेको छ । गएको हिउँदमा पनि किसानले धानको भाऊ ८ सयभन्दा बढी पाएनन् । एक मन धानको कम्तीमा २५ केजी चामल आउँछ । ६० रुपैयाँ केजीमै बिक्री गर्दा पनि १५ सय रुपैयाँ हुन्छ । जबकि किसानको भागमा चाहिँ ५ सय मात्रै परिरहेको छ।
‘यो सबै भारतीय चामल आयातको परिणाम हो,’ झापा धुलाबारीका पुराना धान व्यवसायी मोहन शिवाकोटी भन्छन्, ‘भारतीय चामल पूरै सस्तो हुन्छ । उता अनुदानमा उत्पादन भएको हुन्छ । त्यो सँग नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न सक्दैन ।’ उनका अनुसार भारतबाट दिनहुँ ठूलो परिमाणमा चामल नेपाल आउँछ, जसले नेपाली धानको भाऊ लगातार घटाइरहेको छ । व्यापारी आफूले चाहेर किसानलाई कम्ती मूल्य दिएको मान्न तयार छैनन् । ‘बजारको धार अनुसार हामी अघि बढ्ने हो,’ शिवाकोटीले भने ‘इन्डियन चामल नेपाल यसरी भित्रिरहेसम्म किसानको हालत यस्तै हो ।’
खुला सीमाका कारण मोटरसाइकल र साइकलमार्फत दिनहुँ ठूलो परिमाणमा आउने उसिना, अलुवा लगायत चामल नेपालका सबैजसो जिल्लामा पुग्ने व्यवसायी बताउँछन् । व्यापारीले पनि अन्ततः भारतीय व्यापारीलाई नै धान बेच्नुपर्ने बाध्यता छ । यसबाहेक अघिल्लो वर्षको भूकम्पपछि अनुदानमा नेपाल भित्रेको ठूलो परिमाणको चामलले पनि धानको भाऊ घटेको बताइन्छ । व्यापारीका अनुसार ठूलो परिमाणमा आएको चामलले बजारलाई संशकित पारेको छ । फेरि उत्ति नै मात्रामा भर्खरै पनि चामल नेपाल आएको छ । यसले चामल कारोबारमा संलग्नलाई अत्याएको र उनीहरु दाम हाल्न तयार नहुँदा धानको भाऊ घटेको साना व्यापारी बताउँछन् ।

 

प्रकाशित: १९ असार २०७३ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App