१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

नेपाली राजनीतिमा सेवाभाव देखिँदैन : नेपाली

नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउँछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपाली।

उनी भन्छन्– सबै वर्ग, जाति, लिङ्ग, समुदायका आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाई राजनीतिलाई भन्दा कामलाई प्राथमिकतामा राखेका छौं। भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुन हाम्रो पार्टी दृढ छ। राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ।

 सांसद नेपालीका अनुसार राजनीति जनताको सेवा हो। सेवाभावले राजनीति गर्नुपर्छ भन्ने भाव नेपाली राजनीतिमा देखिँदैन। मुलुकको आधारभूत आवश्यकता तथा प्राथमिकताका क्षेत्रलाई दृष्टिगत गरी सांसद आफ्नो जिम्मेवारीमा अडिग रहनुपर्छ।  

जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय संसदमा सांसदले उठाएका आवाजलाई सरकारले सम्बोधन गर्नुपर्छ। जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस्। सांसदको सार्थकता संसदमा उठाइएका विषय स्थापित भए÷नभएकामा निर्भर गर्दछ। संसदमा उठाएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्छ।

‘हिजो म जनता थिएँ, राजनीतिक दलले राष्ट्र निर्माणका क्रममा गरेका विषयमा नियालेका हुन्थ्यौं। प्रश्न गरेका हुन्थ्यौं। आज म प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्दै गर्दा मैले गरेका कामप्रति तथा मप्रति जनताले प्रश्न गर्ने ठाउँ रहन्छ।

यस विषयमा म जिम्मेवार बन्नुपर्छ। दलित समुदायबाट मैले संसदमा प्रतिनिधित्व गर्दै गर्दा समग्र मुलुकसँगै दलित समुदायको प्रतिनिधित्व पनि गर्नुपर्छ। कानुन निर्माण गर्ने र जनताको आवाज बुलन्द गर्ने मुख्य थलो संसद्लाई प्रभावकारी बनाउन राष्ट्र र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उनी भन्छन्।  

नेपालीले भन्नुभयो–संसदमा अहिले हामी प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं। संसदीय अभ्यासमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ। संसदमा प्रतिपक्षमा रहिरहँदा हाम्रो मुख्य भूमिका सरकाले गरेका कामको अवलोकन गरी रचनात्मक आलोचना गर्दै सही बाटोमा डोहो¥याउनु हो। जसमा हामी प्रतिबद्ध छौं, पार्टी प्रतिबद्ध छ।  

नेपाली राजनीतिमा नयाँ दलको रूपमा संसदमा प्रवेश गर्दैगर्दा जुन हुटहुटी लिएर प्रवेश गरेका थियौं, अभ्यासमा भने अपेक्षाअनुरुप हुन सकेन। हुन त हामी सिक्ने क्रममा छौं, सिक्दै छौं।

म यातायात व्यवसायी तथा दलित समूहबाट प्रतिनिधित्व गरेका हिसाबले संसदमा विशेषगरी यातायात व्यवसायी, दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेको छु। यी मुद्दालाई स्थापित गर्नुपर्छ र जनताका आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेका विषयलाई ध्यान दिएर शून्य, विशेष, आकस्मिक समयमा आवाज उठाउँदै आएको छु।

पछिल्लो समय अध्ययन तथा रोजगारीका सिलसिलामा ठूलो संख्यामा युवाको बहिर्गमन देशका लागि सुखद् पक्ष होइन। हामीले युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्न युवाको क्षमता, आवश्यकताको सुक्ष्म अध्ययन गरी सोहीअनुरुपको रोजगारी सृजना गर्नेतर्फ मुलुक उन्मुख हुनुपर्छ।

स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी राष्ट्रिय उत्पादन अभिवृद्धिमा जोड दिनुपर्छ। परिणाममुखी, सीपमूलक, नैतिक, रोजगारी केन्द्रित, व्यवहारिक शिक्षा प्रणाली अवलम्बन गरी शिक्षा प्रणालीलाई समयानुकूल बनाई सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्छ।

आर्थिक अवस्थालाई स्तरोन्नति गर्न युवाको रोजाइ बाह्य मुलुक बन्न पुग्यो। यस्तो अवस्थालाई निराकरण गर्न नीतिगत सुधार, निजी तथा सहकारी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउँदै मुलुकभित्रको जनशक्ति सदुपयोग गर्न आवश्यक छ। गर्न सक्ने र खुबी भएका युवालाई समयसापेक्ष नीतिगत व्यवस्था गरी रोक्ने वातावरण बनाउन जरुरी छ।

संसद्को चालु अधिवेशनमा पार्टीले संसदमा गैरसरकारी विधेयक (प्राइभेट बिल) लैजाने विषयमा छलफल भइरहेको छ। नेपालको इतिहासमा प्राइभेट बिललाई त्यति महत्त्वपूर्णरूपमा हेरिएको रहेनछ। आ–आफ्नो विज्ञताअनुसार दलभित्रका सांसद कानुनलाई समयसापेक्ष, गुणस्तरीय बनाउन प्रयास गरिरहनुभएको छ।

विज्ञको टोलीसँग संसदीय अभ्यासलाई कसरी प्रभावकारी बनाउने, नीति–निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने सम्बन्धमा नियमित छलफल गरिरहेका छौं। नेपाली समाजको परिवेशअनुसार, जनताको आवश्यकतानुसार राजनीतिक व्यवस्थालाई थप मजबुत बनाउन विज्ञसँगको छलफललाई अझ सुदृढ बनाउन आवश्यक ठानेका छौं।

सङ्घीय सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो भन्ने जनतालाई नेपालको राजनीतिक दलले बुझाउन सक्नुभएको रहेनछ कि जस्तो मैले अनुभव गरेँ। सांसदले करोडौंसम्मको बजेट पारिदिएर विकास निर्माण गरिदिने भन्ने जुन नेपाली समाजमा भाष्य निर्माण भएको छ।

ससाना बजेटमा रमाउन हाम्रो समाजलाई सङ्घीय सांसदको भूमिका बुझाउन जरुरी छ। आफ्नो निर्वाचन क्षेत्रमा जाँदा बजेट चाहियो भन्ने जनताको आवाजलाई हामी कसरी सम्बोधन गर्ने ? सांसदसँग आर्थिक सहयोग माग्ने परिपाटीले जनतासमक्ष असहज हुँदोरहेछ। हामीले उठाएका मुद्दा स्थापित भएपछि मात्र राजनीतिक अनुभव अझ प्रगाढ होला। नेपाली जनताको सेवक हुन धेरै बाँकी छ। अनुभव बटुल्दै जानेछौं। अहिले हाम्रा प्रतिबद्धतालाई धेरै साकार पारिसकेका छैनौं। धेरै गर्न बाँकी छ। –रासस

प्रकाशित: ११ फाल्गुन २०८० १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App