७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्वार्ता

कानुन निर्माणमा सरकार असफल : सांसद् रायमाझी (अन्तर्वार्ता)

रमेशजंग रायमाझी, सदस्य, राष्ट्रियसभा

राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन्।

सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्य समेत रहेका सांसद रायमाझीले समितिको निर्णय कार्यान्वयन गर्न सरकारले अटेर गरेको अनुभव सुनाए। ‘संसदीय समितिको निर्णय कार्यान्वयन गर्न सरकारले नसुनेजस्तो गर्ने रहेछ’, उनले भने।

उनका अनुसार कतिपय अवस्थामा दुवै सदनका समितिहरूले दिने निर्देशनमा दोहोरोपनाले अन्योल उत्पन्न गरेको छ। ‘एउटै विषयमा धेरै समितिले दोहोरो सुझाव दिइरहेका हुन्छन्। कुन विषयमा कुन समितिले कसरी सरकारलाई निर्देशन दिने पनि स्पष्ट छैन’, उनले भने, ‘एउटै विषयमा तीन–चारवटा समितिले बेग्ला–बेग्लै खालको निर्देशन जारी भएको छ। त्यसले गर्दा मन्त्रीहरूलाई पनि अन्योल र काम गर्न अप्ठ्यारो भएको हुन सक्छ।’

राजनीतिसँगै चलचित्र निर्माण र व्यवसायसम्बन्धी अनुभव राख्ने नेपाली कांग्रेसका नेता रायमाझीले २०३६, २०४२ र २०४६ सालमा जेल जीवन बिताए।

२०७४ मा राष्ट्रियसभा सदस्यका रूपमा निर्वाचित भएका सांसद रायमाझीको आगामी फागुन २० गते पदावधि सकिँदै छ। ६ वर्षको लामो संसदीय अभ्यासबाट बिदा लिने समय नजिकिँदै गर्दा उनले भने, ‘म राजनीतिको सबैभन्दा ठूलो दोषबाट मुक्त भएर बिदा हुँदै छु।’

सांसद राजयमाझीले स्पष्ट पार्दै भने, ‘राजनीतिक दलका नेता, नेतृत्व र सांसदको प्रवृत्तिमा दोष लाग्दै आएको छ। त्यो कलंक बोकेर जानुपर्ने अवस्था छैन मेरो जीवनमा। नेतृत्व र जनप्रतिनिधिले गर्ने अनियमितता, भ्रष्टाचार र कर्मचारी सरुवा गर्ने दोषबाट जोगिएको छु।’

उनले संसदीय अभ्यासभित्र जनप्रतिनिधिलाई काम गर्दैनन् भन्ने आरोप लागिरहेका बेला आफूले विधायिकाका रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरे। कांग्रेसका नेता एवं सांसद रायमाझीसँग सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकाको अनुभव छ।

आफ्नो पार्टी सरकारमा हुँदा पनि जनप्रतिनिधिका रूपमा सरकारलाई खबरदारी गर्न आफू कहिल्यै नचुकेको उनको भनाइ छ।

‘नेपाली कांग्रेस सत्तापक्ष हुँदा मचाहिं प्रतिपक्षजस्तो भूमिकामा रहें’, उनले भने, ‘आफ्नै गठबन्धनको सरकारमा पनि सरकारले गरेका गल्ती औंल्याउने, सरकारलाई संविधानले दिएको बाटो मिचेर नहिंड्न पटकपटक सचेत गराउने, अनियमितता र महँगी नियन्त्रण एवं नागरिकप्रतिको जिम्मेवारीबाट चुक्न हुन्न भन्ने विषय उठान गर्‍यौं।’

उनका अनुसार कानुन निर्माणमा सदन होइन, सरकार असफल भयो। सरकारसँगै राजनीतिक दल र जनप्रतिनिधिबाट कानुन निर्माणमा ध्यान केन्द्रित गर्न असमर्थ रहेको सांसद रायमाझीको बुझाइ छ।

‘कानुन निर्माण गर्ने कुरामा सरकारले टेबुल गर्नुपर्ने हो, तर त्यसमा सरकार चुकेको छ। तर कुनै पनि राजनीतिक पार्टीले त्यतातर्फ त्यति चासो दिएनन् कि?’, उनले भने, ‘प्रतिपक्ष हुँदा ती कुरा उठाउने तर आफू सरकारमा गइसकेपछि जिम्मेवारी पूरा गरेको देखिँदैन।’

माथिल्लो सदनले गरेको गैरसरकारी विधेयकको अभ्यासलाई स्मरण गर्दै उनले यस्ता विधेयक पास गर्न सरकारबाट असहयोग हुने आफ्नो अनुभव सुनाए।

‘दुईवटा मात्र गैरसरकारी विधेयक ल्यायौं। तर वास्तवमा सत्तापक्षले गैरसरकारी विधेयक चाहँदैन। गैरसरकारी विधेयक ल्याउँदै आउँदा सरकारले आफ्नो ‘पर्फमेन्स’ कम भएको देख्ने डरले प्रोत्साहन गर्न सकेको अवस्था छैन’, उनले भने, ‘प्रतिपक्षलाई मात्र होइन, सत्तापक्षका सांसदलाई पनि सरकारले यस्ता विधेयक रोक्नका लागि पार्टीगत छलफलबिना किन ल्याएको भनेर प्रश्न गरिन्छ।’

सांसद रायमाझीले प्रतिनिधिसभाका सांसदले राष्ट्रियसभाका असल संसदीय अभ्यास सिक्दै अवलम्बन गर्नुपर्ने सुझाव समेत दिए। उनले भने, ‘राष्ट्रियसभाले तीनवटा विधेयक पास गर्दा प्रतिनिधिसभाले एउटा मात्र विधेयक पास गर्‍यो। हाम्रा अध्यक्षले तय गरेको समयमै बैठक सुरु हुन्छ। ११ बजेर एक मिनेटमा तय भएको बैठक सोही समयमा बस्छ, प्रतिनिधिसभाले यो सिक्नुपर्छ।’

६ वर्षको संसदीय अभ्यासमा सधैं सबै सांसद स्वतन्त्र नहुने उनको अनुभव छ। सांसदहरूलाई दलीय ह्विप लाग्ने कारण भूमिका प्रभावकारी बनाउन चुनौती भएको उनी स्वीकार्छन्।

‘हामी पार्टीगत हिसाबले पनि आएका छौं। संसदीय भूमिकासँगै पार्टीगत जिम्मेवारी छन् र पार्टीको ह्विप पनि लाग्छ। अनियमितता, भ्रष्टाचार र सरकारले डेलिभरी नदिएको विषयमा बोल्न सक्छौं तर कति पार्टीगत विषय मान्नुपर्ने हुन्छ‘, उनले भने, ‘राष्ट्रियसभाको आगामी माघ ११ गते निर्वाचन हुँदै छ। सबै आउने सांसदहरू पार्टीको मतबाट आउने हुन्। यो सभा एक्लै गएर बैग्लै कुनामा बस्न सक्दैन। पार्टीका टिकट पाएर आएका जनप्रतिनिधिले मत पनि पार्टीगत रूपमा पाएर आउने हुँदा त्यहाँ सांसद सधैं स्वतन्त्र हुन सक्दैन।’

सांसद रायमाझीले सांसदको भूमिकाबाट बिदा भएपछि पनि लोकतन्त्र र संघीयता बलियो बनाउनमा आफ्नो समय व्यतित गर्ने बताए। रासससँग आफ्नो आगामी योजना सुनाउँदै उनले भने, ‘लोकतन्त्र र संघीयता बलियो बनाउनमा केन्द्रित हुने छु। संगठन विस्तारका सिलसिलामा जनताका गुनासा सुन्ने र गाउँ जाने पनि गरिरहेको छु। जानेका कुरा आदान–प्रदान गर्ने क्रम जारी राख्ने छु।’

-रासस

प्रकाशित: २४ मंसिर २०८० ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App