८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कटारी नगर अस्पतालले पायो प्रादेशिक अस्पतालको मान्यता

कटारी नगर अस्पताल। अब प्रादेशिक अस्पतालको मान्यता पाएको छ। तस्बिर : नागरिक

उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ। प्रदेश सरकार मन्त्रीस्तरको निर्णयअनुसार नगर अस्पताललाई प्रादेशिकको मान्यता दिँदै ५० बेडमा स्तरोन्नति गर्ने निर्णय भएको हो।

वैशाख २० गते मन्त्रीस्तरीय निर्णयअनुसार अस्पतालको स्तरोन्नति गर्ने निर्णयलाई प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै अस्पताल बढुवामा परेको हो। ५० बेडसँगै प्रादेशिक अस्पतालमा स्तरोन्नति हुने भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने सो क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्रीले बताए।

उनका अनुसार सांसद जितेदेखि नै कटारी अस्पतालको विकास र स्तरोन्नति गर्ने विषयमा निरन्तर लाग्दै आउने क्रममा भर्खरै यस्तो सुखद निर्णय प्रदेश सरकाले गरेको हो। उनले चुनावी अभियानकै क्रममा सो अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने आश्वासन दिएको स्मरण पनि गरेका छन्। चुनावी अभियानकै वाचाअनुसार जनतालाई सहज स्वास्थ्य सेवा दिने अठोटका साथ लागिपरेर अस्पताललाई स्तरोन्नति गर्न सफल भएको खत्रीले बताए।

कटारी क्षेत्रवासी जनताको सहज स्वास्थ्य पहुँच विस्तार गर्न कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानुपर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको खत्रीको भनाइ छ। सेवा विस्तार गरी आम नागरिकले स्वास्थ्य सेवा घरनजिकको अस्पतालमा पाउन सके केही हदसम्म राम्रो हुन्थ्यो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक बनाउन निवर्तमान मुख्यमन्त्री केदार कार्कीसमक्ष विशेष आग्रह गर्द यस्तो उपलब्धि भएको खत्रीले बताए।

अस्पतालका मेसु कटारीबासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरु सिन्धुली, सोलुखुम्बुु, ओखलढुंगा र खोटाङका आधा भूभाग र सिराहासम्मका स्थानीयले सेवा लिने स्वास्थ्य संस्था भएकाले स्तरोन्नति अनिवार्य रहेको उनले बताए। 

मदन भण्डारी लोकमार्गले कटारी बजारलाई जोडेसँगै यो अस्पतालको स्तरान्नति गरी सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेकाले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लाने निर्णय गरेको हो।

प्रदेश सरकारले कटारी नगर अस्पताललाई प्रादेशिक हैसियत दिँदै ५० बेडमा स्तरोन्नति गर्न गरेको निर्णयले नगरबासी हौसिएको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। उनले पनि कटारी अस्पताललाई स्तरोन्नति गर्न सक्दो पहल गर्दै आएको बताएका छन्। स्वास्थ्य क्षेत्रको सेवा सुविधा थप गर्दै अस्पताललाई स्तरोन्नति गर्ने अभियानमा आफू र नगरपालिका सबैखाले सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

मेयर श्रेष्ठले आफू निर्वाचित भएर आएसँगै अस्पतालको विकास र प्रवद्र्धनमा लागिरहेको बताएका छन्। उनले अस्पताललाई प्रादेशिक हैसियतमा लान सुरुदेखि गरेको प्रयासले सार्थकता पाएको भन्दै मन्त्रीस्तरीय निर्णयको स्वगत गरेका छन्।

यसअघि १५ बेडको अस्पताल ५० बेडमा स्तरोन्नति हुने भएपछि यस क्षेत्रका बिरामी जटिल खालका रोगबाहेकको उपचारार्थ अन्यत्र जानुपर्ने बाध्यता हट्ने पनि मेयर श्रेष्ठले बताएका छन्।

प्रकाशित: २८ वैशाख २०८१ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App