५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

जुम्लामा शनिबार सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य विनिता कठायत। तस्बिर : नागरिक

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ। ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ। प्रतिनिधिसभा सदस्य विनिता कठायतले पानसमा बत्ती बालेर सम्मेलन उद्घाटन गरिन्।

उनले कर्णाली प्रदेशकै दुर्गम मानिएको जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुनु अपरिहार्य भएको बताइन्। उनले सम्मेलनलाई सफलतामा पुर्‍याउन जुटेका सहयोगी सबै हातलाई धन्यवाद दिइन्।

उनले भनिन्, ‘जीवनको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य हो। स्वास्थ्य राम्रो भए सबै राम्रो हुन्छ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सधैं डाक्टरको अभाव भइरहने जुम्लाले आफैं डाक्टर उत्पादन गर्न थालेको बताए। जुम्ला पर्यटकीय गन्तव्य तथा स्वास्थ्य अनुसन्धान गर्ने स्थल बनेकोमा खुसी प्रकट गर्दै उनले सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ बाट धेरै बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सम्मेलनबाट रुढिवादी सोच र चिन्तनले थलिएका मानसिक बिरामीका लागि राहत पुग्ने छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए।

उनका अनुसार कर्णालीमा नागरिकका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको हो। सम्मेलनपछि जुम्ला घोषणापत्र जारी गरिने छ।

डा. श्रीधर पौडेलले कर्णालीजस्तो दुर्गममा यस्तो सराहनीय कार्य गर्न पाउँदा गौरव लागेको बताए। उनले यो समस्या नेपालभरि फैलिएको बताए। कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न देश तथा विदेशका साइक्याट्रिक्सले चासो देखाएको उनको भनाइ छ।

सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा भइरहेको हो। अमेरिकाको प्रतिष्ठित संस्थासँग सहकार्य गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्न लागेको यो सम्मेलन ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन’ हो।

सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकास सचिव, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता हुनेछ। उनका अनुसार हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारीसमेत हुने छ।

यता मानसिक विशेषज्ञ डा. विद्यादेव शर्माले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न गरिएको बताए। सम्मेलनका लागि नेपाली समुदायमा आधारित मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले समेत सहकार्य गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८१ १३:४३ शनिबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्ला