७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

विदेशी पाठ्यक्रम पढाउने विद्यालयलाई सोधियो स्पष्टीकरण

पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयको अनुगमन गरेको छ। भक्तपुर, ललितपुर र काठमाडौंका २० निजी विद्यालयमा गरिएको अनुगमनमा विद्यालयले लिने गरेको शुल्क, उपलब्ध गराउने छात्रावृत्ति, पढाउने पाठ्यक्रम, कक्षाकोठामा प्रयोग गरिएको सन्दर्भ सामग्रीलगायतका विषयमा अनुगमन गरेको थियो।

नयाँ शैक्षिक सुरुवातसँगै शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा निजी विद्यालयले विनास्वीकृति पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरिरहेको गुनासोको आधारमा समितिले अनुगमन गरेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ।

अनुगमन गरिएकामध्ये दुई स्कुललाई तत्कालै स्पष्टीकरण सोध्नुपर्ने देखिएकाले स्पष्टीकरण सोधिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले जनाए। उनले अनुगमनका क्रममा ललितपुरमा रहेको रातो बंगला र भक्तपुरमा रहेको काठमाडौं वल्र्ड स्कुलले नेपाल सरकारको स्वीकृतिविना नै विद्यालय तहमै बालबालिकालाई क्यम्ब्रिज र आइबी फ्रेमवर्कमा विदेशी पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरेको पाइएकोले ती दुवै स्कुललाई स्पष्टीकरण सोधिएको जनाए।

‘स्पष्टीकरण सोधिएको रातो बंगला र काठमाडौं वल्र्ड स्कुलले विदेशी पाठ्यक्रम पढाउने अनुमति नलिएर विद्यालय तहमा पठनपाठन गराइरहेको अनुगमनमा पाइयो,’ अर्यालले भने,‘पाठ्यक्रमले ती स्कुलहरूलाई के कारण र कसको स्वीकृतिमा विदेशी पाठ्यक्रम पढाइरहेको भन्नेबारे तीन दिनभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो। नेपालमा सञ्चालित विद्यालयले पाठ्यक्रमको आधारमा स्वीकृति लिएर मात्र कक्षाकोठामा पठनपाठन गराउनुपर्ने कानुनी व्यवस्था छ। यति मात्र होइन कतिपय स्कुलमा सरकारी स्वीकृति वेगरको पाठ्यपुस्तकसमेत पढाउने गरेको पाइएको छ।’

पाठ्यक्रम तथा सामग्री प्रमुख एवं अनुगमनमा संलग्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रकी निर्देशक सविता दंगालका अनुसार कतिपय निजी विद्यालयले सरकारले स्वीकृत नगरेको पाठ्यपुस्तकसमेत पढाउने गरेको पाइएको बताइन्।

 निजी विद्यालयहरूले सन्दर्भ सामग्रीको रूपमा सरकारले स्वीकृत नगरेको पुस्तक समेत प्रयोग गरेको पाइएकोले समीतिले प्रतिवेदन तयार गरि कारावहीकोलागि सिफारिस गर्ने तयारी गरेको उनको भनाइ छ।

विद्यालयले सन्दर्भ सामग्रीको रूपमा पठनपाठन गराउने समग्रीको पनि पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिने पर्ने कानुनी प्रवधानको समेत निजी विद्यालयले उल्लंघन गरेको उनको ठहर छ।

‘धेरै निजी विद्यालयले अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिज र अक्सफोर्डका सरकारले स्वीकृति नै नदिएको प्रकाशनको पुस्तक नै पाठ्यपुस्तकको रूपमा समेत कक्षाकोठामा पढाइरहेको पाइयो,’ दंगालले बताइन्, ‘स्थानीय पालिकाले पनि यतातिर ध्यान नदिएको देखिन्छ। विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक पढाउनुपर्छ। तर, निजी विद्यालयलय मनोमानी रूपमा पाठ्यपुस्तक पढाउँदै आएको देखिन्छ। तीन वर्षको स्वीकृति लिएर समयावधि सकिएका प्रकाशन गृहहरूको समेत पुस्तकहरू विद्यालयले सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरेको पाइएको छ। जुन कानुनविपरीत हो। समीतिले गलत पाइएका विद्यालयको कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरिरहेको छ। कसुरको मात्रा अनुसार कारबाही हुन्छ।’

उनका अनुसार निजी विद्यालयले उपलब्ध गराउने छात्रावृत्तिमा समेत समस्या देखिएको छ। लक्षित विद्यार्थीभन्दा पनि भनसुनकै आधारमा अधिकांश निजी विद्यालयले छात्रावृत्ति उपलब्ध गराउने गरेको देखिएको छ। ‘अनुगमनमा पाइएको निजी विद्यालयले गर्ने गरेका विभिन्न किसिमको बदमासीबारे समितिले सूचना संकलन गरिसकेको छ,’ दंगालले भनिन्, ‘कक्षा ११ र १२ का लागि विदेशी पाठ्यक्रम सञ्चालनको स्वीकृति लिने तर कक्षा १ देखि १० सम्ममै विनास्वीकृति विदेशी पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन गराइरहेको बदमासी फेला पर्‍यो।’

अभिभावक महासंघ नेपालका संयोजक सुप्रभात भण्डारीले निजी विद्यालयहरूले सन्दर्भ सामग्रीको रूपमा विद्यार्थीलाई किताबको भार बोकाएको बताए। उनले आफू पनि समितिको सदस्यको हैसियतले अनुगमनमा पुग्दा निजी विद्यालयमा नेपाल सरकारको स्वीकृतिविना विदेशी पाठ्यक्रममा आधारित शिक्षण सिकाइ कक्षाकोठामा भइरहको पाइएको बताए।

‘कुनै पनि देशको पाठ्यक्रम आफ्नो देश र परिस्थिति सुहाउँदो बनाइएको हुन्छ। विद्यालयमा भएको सिकाइले बालबालिकामा जीवनकालसम्म असर हुन्छ,’ भण्डारीले भने, ‘यसकारण पाठ्यक्रम बालबालिकाको जीवनका सिकाइसँग जोडिन्छ। महत्त्वपूर्ण हुन्छ। गलत सिकाइले बालबालिकाको जीवनमै असर पार्छ। यसकारण सरकारी स्वीकृतिवेगरको पाठ्यक्रम पढाउनु हुँदैन।’

रातोबंगला स्कुलकी संस्थापक शान्ता दीक्षितले स्कुलले विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा क्याम्ब्रिजको पाठ्यपुस्तक पढाउँदै आएको तर स्वीकृति लिनुपर्ने थाहा नभएकोले हालसम्म नलिएको बताइन्। ‘स्कुलले विद्यालय तहमा नेपाल सरकारकै पाठ्यक्रम चलाएको छ। तर स्कुललले भाषा सिकाउने उद्देश्यले सन्दर्भ सामग्रीको रूपमा क्याम्ब्रिजको पाठ्यपुस्तक चलाउँदै आएको छ,’ दीक्षितले भनिन्, ‘सन्दर्भ सामग्रीको अनुमति लिनुपर्ने रहेछ। थाहा थिएन। अबदेखि अनुमति लिएर चलाउनेछौं भन्ने स्पष्टीकरणको जवाफ पाठ्यक्रमलाई लेखी पठायौं। स्कुलले अनुमति लिने प्रक्रिया सुरु गरेको छ।’

प्रकाशित: २८ वैशाख २०८१ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App