६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु

पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणको शुभारम्भ हुनुअघि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा नेपाल, चिनको संयुक्त रुपमा गरिएको झण्डोत्तलन। तस्बिर: अमर सुनार

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे  प्रोजेक्टका इन्चार्ज डा. याङ्ग पिङ्गले चिन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तलन गरी शुभारम्भ गरेका हुन्।

२०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्बेको एक समारोहबिच सुरु भएको छ। दुई हप्ताअघिदेखि सामानहरू चिन हुँदै भारतको कलकत्ताबाट आयोजनास्थल ७५ ट्रक सामानहरू आएसँगै अन्तिम अन्वेषणका लागि तीव्र गतिमा काम भइरहेको थियो। ड्रिलिङ भएको ४ देखि ५ महिनाभित्र सकिने जनाइएको छ।

जमिनदेखि ४ देखी ५ किलोमिटरसम्म जमिनमुनि ड्रिलिङ हुनेछ। पेट्रोलियम अन्वेषण परियोजनाको अन्तिम अन्वेषण हुँदा देशभर चासोका साथ हेरिएको छ। यो अन्वेषणपछि दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाइएको छ। परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाइँदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए। 

अन्तिम अन्वेषणका लागि परियोजनाका अनुसार २४ घण्टा नै ३ सिफ्टमा काम गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ। २४ घण्टा काम गर्ने कार्य योजना भएपछि सशस्त्र प्रहरी बललाई सुरक्षा व्यवस्था मिलाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

नेपाली र चीनको प्राविधिक टोलीले यसअघि पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम भईसकेको छ। यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको हो। अन्वेषणपछि उत्खनन प्रकृया अघि बढे पेट्रोलियम पदार्थको कच्चा पदार्थ प्रशोधन केन्द्र समेत दैलेखमा बनाउने त्यसका लागि सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङ्ग मार्ग बनाउने समेत चाईनिज टोलीले योजना बनाएका छन्।

शुभारम्भ गर्न पुगेका उद्योग मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्वेषणको आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले मुलुकको अर्थतन्त्रमा कायापलट ल्याउन सक्ने मुलुकको लाइफलाइन भएको बताए। 

प्रकाशित: २३ वैशाख २०८१ १८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App