२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कामधेनु सहकारीको छुर्पी विदेश निर्यात हुने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले उत्पादन गरेका छुर्पीलगायतका दुग्धजन्य वस्तु विदेश निर्यात हुने भएको छ।

सहकारी संस्थाले उत्पादन गरेका दुग्धजन्य वस्तु अमेरिका, क्यानडा, जापानलगायतका देशमा निर्यात गर्न ललितपुरको लेकाली नेपाल प्रालिसँग सम्झौता भएको छ। कम्तीमा वार्षिक ५० हजार केजी छुर्पी बिक्री गर्ने गरी सम्झौता गरिएको छ।

लेकाली नेपाल प्रालिका म्यानेजर अंकित मुन्द्राले संस्थासँग वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सहकारी संस्थाका तर्फबाट अध्यक्ष यादप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रूपैयाँसम्म खुद्रा मूल्यमा बिक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकलाई फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताए।

पछिल्लो समय सरकारी दुग्ध विकास संस्थानले समेत कृषकले उत्पादन गरेर बिक्री गरेको दुग्धजन्य पदार्थहरूको उचित मूल्य दिन नसकिरहेको समयमा पूर्वी नेपालमा उत्पादन भएका सामग्रीहरू उपत्यका पुर्‍याएर बिक्री वितरण गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। 

कामधेनुले आफ्ना उत्पादनहरूलाई नेपालका ठूला शहरहरूमा समेत पुर्‍याउन बजारीकरण गर्नु महŒवपूर्ण भएको धनकुटाका कृषक भरत गुरुङले बताए।

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा आक्रामक रूपमा बिक्री वितरण सुरु गरेको छ।

संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यु, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवालगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका शहरहरूमा बजारीकरण सुरु गरेको हो।

झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादप ढकालले बताए।

अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौंको चावहिलमा शीत भण्डार स्थापना गरिएको छ। पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामग्रीहरू स्टोर गरी काठमाडौं, भक्तपुर, ललितपुरसहित काभ्रेपलान्चोकका बजारमा बिक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए।

कामधेनुले यस आर्थिक वर्ष भित्रै उपत्यकाका २० मुख्य बजारहरूमा बिक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए। उपत्यकामा समेत खुला दुग्ध पदार्थहरू जथाभावि बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ।

उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरे। इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध छन्।

पछिल्लो समय कृषकले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर मिल्क होलिडे भइरहेको समयमा कोसी प्रदेशमा राम्रो हिस्सा ओगटेको कामधेनुले पूर्वमा उत्पादन भएका पदार्थहरू बिक्री गर्दा यहाँ देखिएको समस्याहरू समेत निराकरण हुने कृषक गुरुङको दाबी छ।

प्रकाशित: १२ वैशाख २०८१ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App