२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ह्वासिनको साढे ६ अर्ब लगानी स्वीकृत

सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ५८औं बैठकले ह्ववासिन नारायणी सिमेन्ट परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख रूपैयाँ थप लगानी स्वीकृत गरेको हो।

बोर्ड बैठकले वैशाख १६–१७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची स्वीकृत गरेको छ।

डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि नौ अर्ब ६८ करोड रूपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेअनुसार सो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात् वार्ता प्रक्रिया अगाडि बढाएको जनाएको छ।

बोर्ड बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था एवं नजिकिँदै गरेको लगानी सम्मेलनको बारेमा जानकारी गराएका थिए।

लगानी सम्मेलनलाई नतिजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपुँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूले विशेष एकाइ बनाएर अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए।

सार्वजनिक र निजीक्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भन्दै निजीक्षेत्रलाई सुविधा दिन पुरातन सोच, नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधन कार्य अगाडि बढाएको बताए।

प्रकाशित: १२ वैशाख २०८१ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App