६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेश जाने सपनाले ‘घर न घाट’

म्याग्दीका शंकर क्षेत्री वैदेशिक रोजगारीमा गई मनग्य आम्दानी गर्ने सोचमा थिए। क्रोएसिया जाँदा राम्रो तलब पाउने सूचना पाएपछि क्षेत्री नारायण म्यानपावर नेपालको सम्पर्कमा पुगे।

म्यानपावर कम्पनीले क्रोएसिया पठाउँछु भनेपछि क्षेत्रीले ४ लाख बुझाए। राम्रो तलबको आशमा क्रोएसिया गएर मनग्य पैसा कमाउने क्षेत्रीको सपना चकनाचुर बनेको छ। म्यानपावरले क्षेत्रीलाई न क्रोएसिया पठायो न रकम फिर्ता दियो। क्षेत्री अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग पुगेका छन्। ‘राम्रो तलब पाइने आशमा क्रोएसिया जाने योजना बुनेँ,’ क्षेत्रीले भने, ‘विदेश गएर पैसा कमाउने योजना बीचमै असफल भयो।’ क्षेत्रीलाई नारायण म्यानपावर नेपालका सञ्चालक विकास राउतले क्रोशिया पठाइदिन्छु भन्दै ठगेका हुन्। राउतले क्रोएसिया पठाउने ग्यारेन्टी लिएकाले रकम पठाएको क्षेत्री बताउँछन्।

स्वदेशमा रोजगारी नभएपछि युवाहरू वैदेशिक रोजगारमा जान लालायित छन्। म्यानपावर सञ्चालकले यसको फाइदा उठाउँदै युवाहरूलाई ठगी रहेका छन्। विदेश गएर मनग्य पैसा कमाउने सपनाले घर न घाटको भएका छन्। क्षेत्री मात्र नभएर नवलपुर, कावासोती–३ का महेश बस्ताकोटीको अवस्था पनि उस्तै छ। बस्ताकोटी पनि वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने योजना बुने। बस्ताकोटी पनि नारायण म्यानपावरको सम्पर्कमा पुगे। क्रोएसिया पठाइदिने भने पछि उनले पनि रकम बुझाए। अहिले रकम बुझाएका बस्ताकोटी फरार छन्। विदेश जाने चक्करमा फसेको उनले बताए। ‘विदेश जान पनि पाइएन पैसा पनि फस्यो,’ बस्ताकोटीले भने, ‘अब कसरी पैसा फिर्ता लिने ? आफू ठगिएको भन्दै बस्ताकोटीले म्यानपावरविरुद्ध विभागमा उजुरी दर्ता गरेका छन्। ‘खानामा कन्जुस्याईं गर्दै बचाएको पैसा विदेश जान दलाललाई बुझाएँ,’ उनले भने, ‘अहिले घर न घाटको भएको छु।’

क्रोएसिया पठाउँछु भनेका राउत अहिले क्यानडामा बसेर भारतीय नम्बर चलाइ रहेको उनले बताए। यसरी ठगिने क्षेत्री र बस्ताकोटी मात्र होइनन्। विदेश जाने प्रक्रियामा धेरै युवा ठगिएका छन्। ऋणधन गरेर म्यानपावरलाई बुझाएको पैसाले धेरैलाई घर न घाटको बनाएको छ।

म्यानपावर सञ्चालक राउतले २९ जनालाई क्रोएसिया पठाउने भनेर लाखौं रूपैयाँ लिएको उजुरी विभागमा परेको छ। क्रोएसिया उड्ने सपनाले लाखौं बुझाएका युवाको बिचल्ली भएको छ। युवाबाट लाखौं रूपैयाँ उठाएर म्यानपावर सञ्चालक फरार भएका छन्।

कानुन फितलो भएको कारण न्याय नपाएको पीडित युवाको गुनासो छ। रकम फिर्ताको माग गर्दै प्रहरी, प्रशासनमा उजुरी दिए पनि सुनुवाई नभएको पीडित बताउँछन्। वैदेशिक रोजगार विभागमा आएर उजुरी दिँदा पनि कारबाही नभएको उनीहरू बताउँछन्। ठगिएका युवा जिल्लाबाट काठमाडौं आएर न्याय पाउने आशमा बसे पनि सुनुवाई भएको छैन। क्षेत्री र बास्ताकोटी जस्तै नवलपुर कावासोती–१७ का भुवनेश्वर अधिकारी पनि ठगिएका छन्। अधिकारीले पनि क्रोएसिया जान भन्दै पैसा बुझाएका थिए तर उनी पनि जान पाएनन्। केहीलाई नक्कली भिसा दिएर ठगेको पीडित युवा बताउँछन्। म्यानपावर सञ्चालकले भारतमा आफ्नो एजेण्ट भएको भन्दै पासपोर्ट संकलन गरेर लैजाने गरेको थियो। नारायण म्यानपारले क्रोएसिया पठाउँछु भनेर नपठाइ धेरै युवालाई ठगी गरेको उजुरी परेको उक्त विभाग शाखा अधिकृत सुशिल पकुवालले जानकारी दिए। ‘क्रोएसिया पठाउछु भन्दै धेरै युवालाई ठगी गरेको पाइयो,’ उनले भने। क्रोएसिया मात्र नभएर अन्य मुलुक पठाउँछु भनेर युवालाई ठगी गर्ने गिरोह नै सक्रिय रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९-०८० को पुस १४ सम्म विभागमा करिब ६ सय पीडितले उजुरी गरेका छन्। म्यानपावर सञ्चालकले विभिन्न देश पठाउने बहानामा रकम लिएर युवालाई अलपत्र पार्ने गरेका छन्। यहाँ मात्र नभएर राम्रो काम भनेर विदेश पठाउने र उतै अलपत्र पार्ने काम पनि हुँदै आएको छ। २ सय ३९ जना साउदी अरयिबा गएका कामदारले उजुरी गरेका छन्। त्यसैगरी, युएईमा गएर फसेका १ सय ४६ जना, मलेसियामा ४५ र कतारमा गएर फसेका ४३ जनाले पनि न्याय माग्दै विभागमा आवेदन दिएका छन्।

वैदेशिक रोजगारीमा राम्रो देशका राम्रो तलबको आश्वासनमा विदेश पठाइ दिने भन्दै पैसा लिएर विदेश नपठाउनेको संख्या ठूलो छ। कतिपय युवाहरू विदेश पुगेर फर्किने पनि गरेका छन्। विभागले कानुन बमोजिम कारबाही पनि गर्दै आएको छ। विदेश गएर फर्किएका र विदेश पठाउने भनेर पैसा नपठाउने १ सय ३३ जनालाई विभागले क्षतिपूर्ति दिलाएको छ।

प्रकाशित: १७ पुस २०७९ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App