२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

जापानमा प्रभावकारी बन्दै घुम्ति सेवा

जापानमा नेपाली दूतावासद्वारा सञ्चालित घुम्ति सेवा निकै प्रभावकारी बन्दै गएको छ। नेपाली राजदूतावास जापान र एनआरएनए जापान, कान्साई क्षेत्रिय समितिको पहलमा जापानको ओसाकामा संचालित चार दिने घुम्ती शिविरका क्रममा एकै स्थानबाट ५२३ जना नेपालीले प्रत्यक्ष सेवा लिएका छन्।

कान्साई क्षेत्रका बिभिन्न संघ संस्था तथा समाजमा सक्रिय व्यक्तिहरु समेतको सहयोग र सहकार्यमा संचालित घुम्ति शिविरबाट ५२३ जनाले विद्युतीय राहदानी सहित अन्य कन्सुलर सेवा प्रत्यक्ष रुपमा लिएको एनआरएनए कान्साईका संयोजक दिलिप शर्माले जानकारी दिए।

सेवाग्राहीहरुको चाप बढेपछि समय बढाएर भएपनि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म काम गरेर सेवा प्रदान गरिएको शर्माले बताए। घुम्ती शिविरबाट टोकियो स्थित नेपाली राजदूतावास मै पुग्नुपर्ने बाध्यतामा रहेका नेपालीहरुलाई घरदैलोमै सेवा मिलेकोमा सेवाग्राहिहरुले दुतावास सहित एनआरएनए कान्साई तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए। बायोमेट्रिक प्रणाली तथा अन्य प्रक्रियामा भौतिक रुपमै टोकियो स्थित नेपाली राजदुतावासमा पुग्नुपर्दा सामान्यत एक जनाको ओसाका क्षेत्रबाट टोकियो आउन र फर्कन गरेर ५० हजार बढि जापानी येन खर्च र एक दिनको समय लाग्दछ।

प्रत्यक्ष सेवा लिएका ५२३ जना सेवाग्राहि तथा परामर्श सेवा २ सय बढि व्यक्तिहरुले लिएको घुम्ति शिविरबाट नेपालीहरुको २ करोड बढि रकम जोगिएको अनुमान गरिएको छ।

दूतावासले थालेको घरदैलो सेवामा सहकार्य सहित सेवाग्राहिलाई सहयोग गर्न पाइएकोमा खुशी व्यक्त गर्दै एनआरएनए कान्साईका संयोजक दिलिप शर्माले घुम्ति सेवा सफल रुपमा संचालन गर्न खटिने सबै व्यक्ति तथा स्वयंसेवकहरु सहित अन्य ब्यबस्थापनमा खटिएका  एनआरएन जापान कान्साइ लगायत सम्पूर्ण संघसंस्थाका व्यक्तिहरुप्रति धन्यवाद व्यक्त गरे।

घुम्ति शिविर मार्फत राजदूतावासले एमआरपी पासपोर्ट, ट्राभल डकुमेन्ट, राष्ट्रियता प्रमाणिकरण, अधिकृत वारेसनामा, सवारी चालक अनुमतिपत्र प्रमाणिकरण, जन्मदर्ता, अविवाहिता, नाता सम्वन्ध प्रमाणिकरण, जापान सरकारको निकायबाट जारी भएका जन्मदर्ता, विवाहदर्ता, सम्वन्ध विच्छेद आदि कागजात प्रमाणिकरण लगायतका सेवा उपलब्ध गराइएको नेपाली राजदूतावास जापानका प्रथम सचिव जितबहादुर कार्कीले जानकारी दिए।

घुम्ती शिविर साईतामा, गुन्मा, नागोया, फुकुओका, इबाराकी प्रान्तमा सम्पन्न पश्चात कान्साईमा आयोजना गरिएको थियो। घुम्ति शिविर अप्रील २९, ३० तथा मे १ र २ तारीख गरेर चार दिन संचालन भएको हो।

विविध आलोचना खेप्दै आएको जापानस्थित् नेपाली दुतावासले घुम्ति शिविर बाट भने जापानबासी नेपालीको मन जित्न सफल भएको छ।

प्रकाशित: २० वैशाख २०८० १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App