२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भागवत गीता किन्ने यी मुस्लिम महिला को होलान् ?

पुराना तस्बिरका फाइल नियाल्ने क्रममा आठ वर्षअगाडिको यो तस्बिरले फेरि झकझकायो। कालो बुर्कामा सजिएका मुस्लिम युवतीले हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण ग्रन्थ भागवत गीता किन्दै गरेको दृश्य निकै रहरलाग्दो थियो।

२०७३ साल जेठको पहिलो साता आयोजित २० औं अन्तर्राष्ट्रिय पुस्तक मेलामा उनीहरूलाई देख्नेबित्तिकै तस्बिर त खिचें तर भिडमा धेरै कुरा हुन पाएन। उनीहरूसँग मागिएको सम्पर्क नम्बर समयक्रमसँगै हरायो तर उनीहरूले हातमा भागवत गीता बोकको यो सुन्दर दृश्य जहिल्यै हेरिरहूँ लाग्न थाल्यो।

समाजमा अझै पनि जात र धर्मका आधारमा झगडा परेका खबर सुनिन्छन्। एकले अर्काको धर्मसम्बन्धी अध्ययन नगरी आरोप प्रत्यारोप गरेको सुनिन्छ। जानकारहरू धर्मले कहिल्यै पनि विभेद ल्याउन नहुने सुनाउँछन्।

चाहे त्यो कुरान होस् या गीता, सबैमा मानव कल्याणको कुरा गरिएका छन्। तर पनि धर्मको नाममा हिंसा हुने क्रम जारी छ। यस्तोमा उनीहरूले च्यापेको पुस्तकमा बढी चासो दिनु स्वाभाविक हो।

श्रीमद्भागवत गीता यस्तो पूर्वीय दर्शन हो जसमा जीवनको सार फेला पर्छ। हामी किन दुःखी छौं ? किन तनावग्रस्त छौं ? किन भ्रष्ट छौं ? किन विचलित छौं ? अनि हामी किन विभाजित छौं? यी जिज्ञासाको सार यो दर्शनमा भेटिन्छ। सबैमा आत्मा एक भन्दै यसले समाजलाई जोड्ने काम गर्छ।

त्यस्तै मुस्लिम धर्मावलम्बीको कुरानमा पनि मानव धर्मलाई प्राथमिकता दिँदै समाज कल्याणमा जोड दिइन्छ। यो धर्ममा पनि सेवालाई प्राथमिकता दिइएको छ। कुरान पढ्ने यी महिलाले भागवत गीता च्यापेको देख्दा निकै खुसी लाग्नु स्वाभाविक हो।

त्यसैले गीता बोकेका यी मुस्लिम महिलाको तस्बिर देख्नेबित्तिकै मनमा प्रश्न आइहाल्छन्। उनीहरू को होलान् ? के गर्दै होलान् ? अनि गीता पढेपछिको उनीहरूको जीवनप्रतिको थप बुझाइ के रह्यो होला ?

प्रकाशित: ८ वैशाख २०८१ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App