२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तिमी मलाई बिहे गर भन्छ्याै!

कविता

१) मन्दिर

तिमी मन्दिर हौ

जहाँ म फूल चढाउँछु

मेरो आत्माको भेटी चढाउँछु

हृदयमा राख्छु

यहाँ कहिले लालीगुराँस हुन्छ

सयपत्री, मखमली, भेटीपाती

तिम्रो सुन्दरता र सहनशीलताभन्दा

सुन्दर केही छैन

तितेपातीले दुस्मनहरू खेदाउँछ

थाहा छ?

तिमीलाई पाउन

कहिले पाठी चढाउँछु

कहिले कुखुरा पूजा गर्छु

कहिले परेवा उडाउँछु

खोलानाला नदीलाई ढोग्छु

डाँडाकाँडा पहरालाई साक्षी राखी

प्रार्थना गर्छु।

त्यसैले त म भन्छु तिमी मन्दिर हौ

तिम्रो रसास्वादनका लागि

भमराहरू आउँछन्

मौरीहरू घुम्छन्।

त्यसमा पनि त अर्थ छ नि!

चामलको अक्षताले छाक बाँड्छ

चुरा, टिका, सिन्दूर जस्ता पहिरनले

दिल गाँज्छ

जयजयकार गर्ने घन्टीले

तिमीलाई स्वागत गरेको पलमा

शंखले पञ्चेबाजाको धुनमा तिमीलाई

स्वागत गर्दा

मेरो मन ढक्क फुल्छ

बत्तीले किरण छाड्दा

धूपले सुगन्ध दिन्छ

शुद्ध आत्मासहित

बिहानै नुहाएर

केही नखाई

वरपीपल घुम्दै

नदीनालालाई ढोग्दै

तिम्रो मन्दिरमा पूजा गर्दैछु।

यसको अर्थ राख

यसको मूल्य राख

हलेसीमा तिम्रो कसम खाएँ

पशुपतिमा गएँ र सम्झेँ

मनकामनामा गई सत्य प्रमाणित गरेँ

जनकपुरको जानकी मन्दिरमा

शक्ति प्रदर्शन गरेँ

धनुवाण उठाएर

अप्ठेराहरू छिचोल्दै मुक्तिनाथ पुगेँ

पर्शुरामधाम, पाथीभरा मन्दिर पनि

पुगौंला एक दिन

लक्ष्मी सम्झेर जागिर खाएँ

धन कमाएँ

सरस्वती सम्झेर एमफिल पढेँ

विद्या पाएँ

पार्वती, काली सबैको पूजा गरेँ

त्यसैले मन्दिर सम्झेर

यो कविता चढाएँ।

जदाै!

२) दोधिर

तिमी मलाई बिहे गर भन्छेउ

म कसैको विवाहित पति हौ

के तिमीलाई थाहा छ?

हिन्दू संस्कारमा,

नेपाली कानूनमा

एउटासँग मात्र बिहे गर्ने चलन छ

मायालु, तिमी राम्री छेउ,

मसँग जोडा मिल्छ

छोराको बाउसँग मिलेको जोडा

के काम प्रिय?

म मुस्लिम समाजमा छुइनँ

मेरो संस्कारमा,

मैले सिउँदोमा लगाएको सिन्दूरको

मूल्य कति छ प्रिय

के तिमीलाई थाहा छ?

म सिउँदोको सिन्दूर

हातको चुरा

कपालको धागो

मेरा छोराकी आमाको स्तन

डिलिट गर्न चाहान्न प्रिय

म हिन्दू हो

मेरो धर्मले मलाई सराप्छ

मेरो नैतिकताले मलाई गाली गर्छ

मलाई पापी भन्छ

ए मायालु!

बोलियो,

हिंडियो,

बसियो,

सँगैसँगै भेटेका बेला

दुखसुखका गफ गरियो

तिमीलाई थाहा छ?

म रावण होइन,

म राम पनि होइन,

म महादेव पनि होइन,

म चाहान्न

मलाइ पार्वतीहरूले खोजून,

राधाहरूले रोजून,

सीताहरूले खाल्डोमा हालून,

कुन्तिहरूले सहून,

सतिहरूले सरापून्,

म योगमायाको मन रुवाउँदिन,

सासूससुराको आत्मा जलाउँदिन,

मैले खुट्टाको पानी खुवाको छु

रातभरि अनिदो राखेको छु,

धेरै खर्च गराको छु।

त्यसैले मलाई मरिहत्ते नगर

यो क्षणिक हो

म शिवभट्ट ब्राम्हण होइन,

तिमी गोमा ब्राम्हणी पनि होइनौ।

मायालु!

हामी नेपाल आमाका सपुत हौं।

मैले बाइ भन्नै पर्छ।

३) आज गणतन्त्र दिवस रे!

मान्छे मारेको अभियोग सहेर  

टाउकाको मूल्य तोक्नेहरूसँग

संघर्षमा उत्रेर

गणतन्त्र ल्याएर देखाउने देशका महापुरुषहरू

तिनै गणतन्त्र विरोधीहरूसँग साँठगाँठ गरी

लोकतन्त्रवादी भन्दै

विरोधीहरूको नाक घोक्रे बनाउँदै

गणतन्त्र दिवस मनाउनुपर्ने दिनमा

उपलब्धिको रक्षा गर्न हम्मे भएका बेला

आज गणतन्त्र दिवस रे!

गणतन्त्र दिवसको शुभकामना रे!

हिजो टाउकाको मूल्य तोक्ने

गणतन्त्र असम्भव छ भन्ने राजावादीहरू 

गणतन्त्र दिवस मनाउँदै छन रे!

सरकारको छुट्टीको कारण

कोको रहेछन् गणतन्त्रवादी भन्दैछन रे!

फेसबुकमा हेरेर

विरोध गर्न नपाएर

धन्न थेगेका छन् गाँठे!

तिनको पनि गणतन्त्र दिवस रे आज!

बिहे फापेन भन्नेहरू

गणतन्त्र अफापसिद्ध भयो भन्नेहरू

संघीयता फापेन भन्नेहरू

सत्र हजार मान्छेको मूल्य खोज्नेहरूले

आन्दोलन नै नगरी

धर्मनिरपेक्ष मुलुक चाहिंदैन भन्नेले

आज धर्मनिरपेक्ष राज्य चाहिन्छ भन्नेहरू

जनयुद्वको बलमा उठेको पहिचानको मुद्दा

पहिचानवादीहरूको टाउकोमा लाठी बर्साएर

पहिचानको मुद्दा कमजोर बनाउनेहरूलाई

गणतन्त्र दिवसको शुभकामना

संघीयता अफापसिद्ध भन्दै

गणतन्त्र दिवसका दिन

फेसबुकमा गणतन्त्र दिवसको शुभकामना लेखेर

तास खेल्दै बस्नेहरू

माखो नमारी आफूलाई

ठूला परिवर्तनकारी सम्झने

गणतन्त्रवादीहरूलाई

गणतन्त्र दिवसको शुभकामना रे आज

गणतन्त्र पक्षधरहरूले

गणतन्त्रविरोधीहरूसँग हात मिलाउनुपर्ने

गणतन्त्रको बारेमा जनतालाई नबुझाई

राजाको पालामा केके नै पाए जस्तो

संघीयताले संसारै बिगारो भन्दै

हौवा फिंजाउँदै

पाँच सय वर्षको आयु भए जस्तो

छोरानातिलाई दश पुस्ता सम्पति कमाए जस्तो

गणतन्त्र, धर्मनिरपेक्षता, संघियताको

विरोध गर्दै हिंडने

गणतन्त्रविरोधीहरूलाई

बिदा दिएर भए पनि

गणतन्त्र दिवसको शुभकामना रे!

गणतन्त्रको विरोध गरेर

यसको तर खानेहरूलाई

आज गणतन्त्र दिवस रे!

गणतन्त्र दिवसको शुभकामना।

प्रकाशित: ७ वैशाख २०८१ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App