२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अस्ताए गायक योगेश

चिनियाँ नेता चाउ एन लाई नेपाल भ्रमणमा आएका बेला स्कुलमै गीत गाएर चर्चा कमाएका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधनसँगै इतिहासको एक कालखण्ड अन्त्य भएको छ। लामो समयदेखि मिर्गौला र मधुमेहबाट पीडित योगेशको बिहीबार राति ७७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।  

संगीतकार महेश खड्कालाई योगेशका परिवारका सदस्यले जानकारी गराएअनुसार स्वास्थ्यमा बिहीबार दिउँसो केही समस्या देखिएको र राति अवस्था अलि जटिल भएपछि भ्याली अस्पताल लैजाने क्रममा उनको निधन भएको थियो। उनको शुक्रबार आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। त्यसअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो।

चिनियाँ नेता चाउ २०१४ सालमा नेपाल आएका बेला काठमाडौंस्थित शान्ति निकुञ्ज स्कुलमा पनि गएका थिए। उनको स्वागतमा योगेशले युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित गीत गाएका थिए। चिनियाँ नेताको स्वागतमा गाएको गीतबाट चर्चा कमाएका योगेशले त्यसपछि गायन तथा संगीत क्षेत्रमा प्रसिद्धि कमाइरहे।  

बाल्यकालदेखि नै गायनमा रुचि राख्ने उनलाई काठमाडौं मरुटोलको भगवतीबहालस्थित शान्ति निकुञ्ज स्कुलले शास्त्रीय संगीत सिक्न नरराज ढकालकहाँ पठाएको थियो। स्कुलमा आयोजना हुने गायनमा उनी सहभागी हुन्थे। जयबागेश्वरीबाट ६ दिदीबहिनी र दुई दाजुभाइसहित नरदेवी बसाइँ सरेपछि उनको बाल्यकाल त्यहीं बितेको थियो। पछि उनी नरदेवीबाट परिवारसहित टेकु सरेका थिए।

उनले २०१६ सालमा एसएलसी पास गरेका थिए। त्यसपछि उनले तत्कालीन पब्लिक साइन्स कलेज (हालको अमृत साइन्स क्याम्पस) बाट आइएस्सी सिध्याएका थिए। त्रिचन्द्र कलेजबाट बिएससी गर्दा पनि उनले संगीतलाई निरन्तरता दिएका थिए। रेडियो नेपालबाट लिइने स्वर परीक्षा २०२२ सालमा पास गरेका उनले गायकको रूपमा पहिलोपटक नेपाल भाषाको ‘जीवन जिगु...’ गीत गाएका थिए।

२०२५ सालमा गीतकार किरण खरेलको शब्द र संगीतकार नातिकाजीको संगीतमा उनले ‘कति प्यासी छ, जिन्दगी...’ गीत रेकर्ड गराए। उनले २०२७ सालमा मबिबी शाहले लेखेको ‘नेपाल मेरो उपहार भो’ गीतमा पनि स्वर दिएका थिए। २०४२ सालमा संगीतकार नातिकाजीको संगीतमा उनले रेकर्ड गराएको ‘सपना भुलाई सारा...’ गीत मर्मस्पर्शी साबित भयो।  

ईश्वर बल्लभले लेखेको ‘धेरै भइसके जीवनमा पीडा...’ गीत गाउँदागाउँदै उनी रोएका थिए।उनले केही वर्ष संगीतबाट विश्राम लिएर वनस्पति शास्त्रमा एमएसस्सी गरेका थिए। उनले एमएस्सी सिध्याएपछि रेडियो नेपालमा गाएका गीतहरूलाई रत्न रेकर्डिङ संस्थानमा फेरि रेकर्ड गराएका थिए। एमएस्सी सकेपछि उनले लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी कृषि मन्त्रालयअन्तर्गत केन्द्रीय खाद्य अनुसन्धान शालामा पोषण अधिकृत भएर निजामती सेवाको यात्रा सुरु गरेका थिए। करिब ३३ वर्ष सरकारी जागीर खाएका उनी २०६१ सालमा सहसचिव भएपछि सेवानिवृत्त भएका थिए। उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका थिए।

योगेश दाइले नेपाली संगीतमा पुर्‍याएको योगदान राष्ट्रले भुल्न सक्दैन,’ संगीतकार शम्भुजित बास्कोटाले भने, ‘नेपाली सुगम संगीतका लागि उहाँ संरक्षक हुनुहुथ्यो। उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्थ्यो।’ नातिकाजी स्मृति समाजका संस्थापक सल्लाहकारसमेत रहेका योगेशको संगीतप्रतिको लगावबाट आफू पनि प्रभावित भएको बास्कोटाले बताए। 

गायक योगेशका ‘सपना भुलाई सारा, आँसु लिएर जाउ... मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ गीत र नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान्’ र ‘जिमि यःम्ह थौं जिथाय् वइ’ जस्ता गीतहरू चर्चित छन्। उनका पत्नी, दुई छोरी र एक छोरा छन्।

प्रकाशित: ६ माघ २०८० ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App