सिमरा- सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मी क्लबले जितेको छ। सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गर्दै आर्मीले मोफसलकै सर्वाधिक पुरस्कार राशिको उपाधि जितेको हो।
आर्मीलाई उपाधि दिलाउन टंक बस्नेत र नवयुग श्रेष्ठले एक एक गोल गरे। खेलको १५औं मिनेटमा टंक बस्नेतको गोलले अग्रता लिएको आर्मीको लागि ७७ मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे। कडा प्रतिस्पर्धाबीच पुलिसलाई पराजित गर्दै उपाधि चुमेको आर्मीले ट्रफीसहित चार लाख रुपैया नगद पुरस्कार पायो। उपविजेता पुलिसले भने दुई लाखमा चित्त बुझाउनुपर्योच।
प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी बनेका आर्मीका नवयुग श्रेष्ठले सुजुकी हयाते मोटरसाइकल पाउनुका साथै सर्वाधिक गोलकर्ताको रुपमा १५ हजार नगदसमेत प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, मिडफिल्ड आर्मीका टंक बस्नेत, फरवार्ड आर्मीका भरत खवास, प्रशिक्षक आर्मीका मेघराज केसी घोषित भए। उत्कृष्ट डिफेन्डर पुलिसका सुरज विक घोषित भए। यी विधाका सबै पुरस्कार विजेताले नगद १० हजारको दरले पुरस्कार प्राप्त गरे।
विजेता तथा उपविजेता टिमलाई वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पुरस्कार प्रदान गरे। आर्मीको तुलनमा कमजोर प्रदर्शन गरेको पुलिसले खेलको ८४औं मिनेटमा पाएको पेनाल्टी पनि चुकाएको थियो। पुलिसका अजित भण्डारीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक वकेश कुथुले बचाएका थिए। खेलमा फर्किने अवसर सदुपयोग नगर्दा पुलिस उपविजेतामा सिमित भयो।