सिमरा-सिमरा गोल्डकप फूटवल प्रतियोगितामा आइतबार मनाङ मर्स्याङ्दी क्लबसंग बिभागीय टोली एपिएफ क्लबले २–१ को प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। एपिएफले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसंगको प्रतिस्पर्धा पक्का गरेको छ। बाई पाउदै पुलिसले यसअघि नै प्रतियोगिताको क्वार्टर फाईनलमा स्थान सुरक्षित गरिसकेको थियो।
आइतवारको खेलमा मनाङ मर्स्याङ्दीलाई पन्छाउने क्रममा एपिएफका अन्जन बिष्ट र सन्तोष श्रेष्ठले एक एक गोल गरेका थिए। मनाङका लागि बिशाल राईले एक गोल फर्काएर बराबरीमा पुर्यारए पनि एपिएफले खेलको अन्तिम क्षणमा १ गोल थपरे क्वाटरफाइनलको यात्रा सुरक्षित गर्यो ।
राष्ट्रिय लिग बिजेता मनाङबिरुद्ध एपिएफले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो। सुरुवातदेखिनै आक्रमक खेल खेलको एपिएफका लागि अञ्जन बिष्टले गोल गरेका थिए। उनले रञ्जन बिष्टको पासलाई सदुपयोग गरी गोल गरे। खेलको ३० औं मिनेटमा अफ्रिकी खेलाडी लवल रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि मनाङ थप दवावमा देखियो।
पहिलो हाफमा कुनै अवसर छोप्न नसकेको मनाङले खेलको ७७ औं मिनेटमा एपिएफको रक्षाघेरा तोड्दै बराबरी गोल फर्काएको थियो। अनिल गुरुङको पासमा राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। बराबरी गोलसंगै मनाङमा उत्साह फर्किएपछि प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। खेलको ७८ औ मिनेटमा रन्जन बिष्ट रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि दुबै टिम १०/१० खेलाडीमा सिमित हुन पुग्यो। केही मिनेट खेल बाकी रहँदा निकै आक्रमक प्रदर्शन गरेको मनाङलाई रोक्न एपिएफलाई धौधौ परेको थियो। दोस्रो हाफमा एपिएफलाई निकै दवावमा राखेको मनाङले अन्तिम एक मिनेट निराशामा बदलियो। खेलको ८९ औं मिनेटमा सन्तोष श्रेष्ठले निर्णायक गोल गर्दै एपिएफलाई अगाडीको चरणमा पुर्याएए।
मनाङका प्रशिक्षक नविन न्यौपानेले टिमले उत्कृष्ट प्रदर्शन गर्दागर्दै हार ब्यहोर्नुपरेको बताए। उनले पहिलो हाफमा गोल खानु र १० खेलाडीमा सिमिति हुनु निकै दुर्भाग्य भएको टिप्पणी गरे। एपिएफका प्रशिक्षक कृष्ण थापाले मनाङबिरुद्धको जितलाई चुनौतीपूर्ण भने। आफ्नो खेलाडीले रणनीति अनुसार खेल्न सकेकोले उत्कृष्ट प्रदर्शन गरेको बताए।
खेलको म्यान अफ दि म्याच एपिएफका अन्जन बिष्ट भए। प्रतियोगितामा सोमबार नेपाल आर्मी क्लब र थ्री स्टारबीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।