इलाम- सदरमुकाममा सञ्चालित माइभ्याली गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले चुमेको छ। तीन लाख रुपैयाँ पुरस्कारसहितको उपाधि आर्मीले ललितपुरको थ्री स्टार क्लवलाई टाइब्रेकरमा ७–६ गोल अन्तरले हराउँदै आफ्नो पोल्टामा पार्न सफल भएको हो।




निर्धारित ९० मिनेटर र अतिरिक्ति ३० मिनेटमा दुबै तर्फबाट गोलरहित बराबरी भएपछि फाइनलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो। खेलमा ८–८ जनाले पेनाल्टी प्रहार गर्दा आर्मीका तर्फबाट ७ र थ्री स्टारका तर्फबाट ६ गोल भएको हो।
आर्मीका दिपक गुरुङको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाएका थिए भने आर्मीका गोलरक्षक विकेश कुथुले थ्री स्टारका कप्तान सागर थापा र निराजन खड्काको प्रहार बचाएका थिए। खेलभर थ्री स्टारको पक्षमा हुटिङ गरेका धेरै दर्शक आर्मीले जित्दा निराश भए।

आर्मीका जितेन्द्र कार्की, सन्तोष तामाङ, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ, विकास तामाङ, विकेश कुथु र युद्ध सिंहले टाइब्रेकरमा गोल गरेका हुन्। थ्री स्टारका सन्तोष साहुखल, प्रकाश बुढाथोकी, रञ्जित धिमाल, विजय धिमाल, विक्रम लामा र सरोज दाहालले गोल गर्न सफल भए।
विजेता टोलीलाई संविधानसभा अध्यक्ष तथा इलाम–२ का सभासद सुवास नेम्वाङले ट्रफी प्रदान गरे। इलामकै पञ्चकन्याका तारा–रोजु सापकोटाले विजेतालाई दिइएको तीन लाख रुपैयाँ प्रायोजन गरेका थिए। उपविजेता थ्री स्टारलाई स्थानीय विकास अधिकारी मदन कोइरालाले डेढ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। म्यान अफ द सिरिज घोषित आर्मीका विकेश कुथुलाई २१ इन्चको कलर टेलिभिजन दिइयो। फाइनल खेलमा म्यान अफ दि म्याच थ्री स्टारका बिष्णु सुनुवारलाई ११ हजार रुपैयाँ दिइयो।

प्रतियोगिताभरमा सर्वाधिक गोलकर्ता घोषित थ्री स्टारका सन्तोष साहुखल, अमर डंगोल र आर्मीका टंक बस्नेतलाई पनि नगद पुरस्कार दिइयो। उनीहरुले २/२ गोल गरेका थिए। अति नै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण भएको फाइनल खेल हेर्न गाउँ गाउँबाट दर्शकको धुइरो लागेको थियो।
मेची पहाडका विभिन्न गाउँ, शहर र सीमापारी दार्जिलिङ क्षेत्रबाट समेत दर्शकहरु इलाम आएका थिए। १७ बर्षपछि आयोजित इलाममा भएको र पहाडी मोफसलको ठूलो मानिएको प्रतियोगितामा १० टिमको सहभागिता थियो। प्रतियोगितालाई बर्षेनी निरन्तरता दिइने आयोजक माइभ्याली फुटवल क्लव अध्यक्ष धिरेन चेम्जोङले घोषणा गरेका छन्।
